टिऽऽऽनिनिनिनिऽऽनिन्न, ४ बजेको घण्टी बज्नासाथ हेडसर स्कुलको ढोका लगाउदै हुनुहुन्थ्यो। परबाट हल्लिदै एउटा जड्याहा आउछ र लड्खडाउदै सरको शरिरसंग ठोक्किएर आफु लड्छ र सरलाई पनी लडाउछ। “तऽऽ कोऽऽ होऽऽऽ, यो गेऽऽट लगाउने, तऽऽऽ कोऽऽऽ, तेऽऽऽरा बाउको गेट हो साऽऽऽले…तऽऽऽ, मुऽऽऽ…” को भन्दै तथानाम गाली गर्छ। सर उ बाट फुत्किएर पुःन गेट लगाउदै, हतार हतार घरतिर लाग्नु भो। साईला,यि सबै परबाट खुब खुशी हुदै हेर्दै थिए । “बिचरा आज हरिबहादुर दाई बिदामा नबसेको भए, बुढो शरीर, यसको ढक्करले दाई त ठहरै पर्नु हुन्थ्यो होला”, बाटोमा मनमनै सोच्दै जानु भो सरले, “बिचरा, हामिलाई भन्न सजिलो छ, स्कुलका स-साना कर्मचारीहरुलाई पनि कम्ता गाह्रो छैन, जागिर खान”।
भोलिपल्ट बिद्यालय ब्य. समिती वार्ड अध्यक्ष, हेडसर, प्रशासन सहित गाउले सबै भेला गरियो। मलाई “हिजो हातपात भयो” भन्दै त्यही जड्याहा बोल्यो, “हो हो मैले देखेको थिए” संगसंगै ति साक्षी साहिला बोले, सभामा अध्यक्ष सहित सबैले हेडसरलाई माफी माग्न लगाए । हिजोको जड्याहा भन्दै थियो, “यस्ता माफी तैले धेरै माग्नु पर्ने छ, बार्ड अध्यक्षको छोरालाई किन बोर्ड फस्ट बनाईनस्, अस्ति खुलाएको राहतमा साहिलाको बुहारीलाई किन राखिनस्, बिद्यार्थीको खाजा किन्दा किन अध्यक्षलाई सोधिनस्…..”। उसको कुरामा बार्ड अध्यक्ष लगाएत धेरैले ताली बजाए। भेलामा पछाडी बस्ने २/४ जना सज्जन बिस्तारै भन्दै थिए, स्कुलको लागी सरले अझै कती माफी माग्नु पर्ने होला, यस्तो पिडामा पनी सरले कसरी पढाईरहन सक्नु भएको होला, बरु सरुवा भएर कतै गएनी हुने नी!!” हसिलो मुहार लिएर बसिरहनु भएका हेडसर मनमनै भन्दै हुनुहुन्थ्यो,” माफी त भो, तर अब पढाउने जांगर हराउदै गएको छ, उमेर पनि ढल्किदै गो, जति सहियो, जति सकियो, उति गरियो भो अब सकिदैन जस्तो छ।”
भोलि बिहानै समाचार आयो,” निजामतीको उमेरहद बढाए जस्तै, शिक्षकको पनि उमेर हद बढाउन केन्द्रमा शिक्षक संघ/संगठनले आन्दोलन गर्दै छन् रे”। यो समाचारले सरलाई न कुनै खुशी दियो, न उत्साह। हेडसरले अलि अगाडीको बुथ कब्जा गरिएको स्थानिय चुनाव सम्झनु भो । अस्तिको जड्याहा, जो अध्यक्षको ज्वाई थियो, उसलाई सम्झनु भो । हिजोको साईला, जो अध्यक्षको सहोदर भाई थियो, उसलाई सम्झनु भो र हिजोको भेलामा उपस्थित अधिकांस गाउले, जो चुनाव पछिको २/४ दिन सम्म अध्यक्षकैमा भोज खाईरहेका थिए, ति सबलाई सम्झनु भो । आफ्नो प्रथम श्रेणिको बि एड (अंग्रेजी) सर्टिफिकेट हेर्नु भयो, र कक्षा तिन सम्म पढेको अध्यक्ष सम्झेर, खुऽऽईअ गर्दै मनमनै भन्नु भयो, “देशभरी हामी शिक्षकको लोकतन्त्र यस्तै त होला”।




