नेपालको पूर्वी भागमा रहेको हिमाली जिल्ला संखुवासभा कोशी प्रदेशमा पर्दछ । यसको क्षेत्रफल ३,४६८.१७ बर्ग कि.मि. रहेको छ भने समुद्री सतह देखि ३०० मिटर मा रहेको पिलुवा अरुण दोभान देखि ८,४६३ मिटर (विश्वको पाँचौ उच्च शिखर मकालु) उचाईमा रहेको छ । यस जिल्लाको सदरमुकाम खादबारी हो । भौगोलिक रुपमा यो जिल्ला २७.०६° देखि २७.५५° उत्तरी अक्षांस र ८७.४०° देखि ८७.55° पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । वि.सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १,५९,०४६ रहेको छ भने जनघनत्व ४५.८५ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लामा ५ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी जम्मा १० वटा स्थानीय तह रहेका छन्। यस जिल्लामा बोलिने मुख्य भाषामा नेपाली, राई, लिम्बु पर्दछन भने मुख्य जातजातिहरुमा राई, क्षेत्री, तामाङ्ग, ब्राह्मण, गुरूङ्ग, भोटे, शेर्पा, नेवार, लिम्बू, मगर, कुमाल, माझी, याक्खा पर्दछन । यस जिल्लाको पूर्वमा तप्लेजुंङ र तेह्रथुम जिल्ला, पश्चिममा सोलुखुम्बू र भोजपुर उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा तेह्रथुम र धनकुट्टा जिल्लासँग सिमाना जोडिएको छ ।
यस जिल्लाका मुख्य नदीहरुमा अरुणनदी, बरुण नदी, संखुवा, सवा, पिलुवा, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा,कासुवा, सिसुवा पर्दछन । यस जिल्लाका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुमा मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ आदि पर्दछन साथै खाँदबारी, तुम्लिङ्टार, धुपु, चैनपुर, खराङ, त्रिबेणीबजार (बाह्रबिसे , जलजला, सित्तलपाटी, मादिओखरबोटे, आँखिभूईं, सिसुवाटार, सेदुवा मकालु, मुढेशनिश्चरे, किमाथान्का, गुफापोखरी आदि यस जिल्लाका प्रमुख ब्यापारिक महत्वका स्थान मानिन्छन। जलवायुका हिसावले यस जिलामा नेपालमा पाइने सबै पाँचवटै जलवायुहरु उष्ण मौषमी जलवायु, अर्धोष्ण समाशीतोष्ण जलवायु, ठण्डा समशीतोष्ण जलवायु लेकाली तथा तुन्द्रा जलवायु पाइन्छन भने वनस्पतिहरुमा उष्ण सदावहार वन, अर्धोष्ण पतझड वन, कोणधारी वन, लेकाली वनस्पति तथा तुन्द्रा वनस्पति पाइन्छन ।




