मधेश प्रदेशका आठ जिल्लामध्य सबैभन्दा पूर्वमा रहेको जिल्ला सप्तरी हो । यो जिल्ला नेपालको दक्षिणमा रहेको समथर तराई भूभागमा रहेको छ । यस जिल्लाको क्षेत्रफल १,३५९.२८ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट६४ मिटर देखि ५४७ मिटर चाईमा राजेको छ । यस जिल्लाको सदरमुकाम राजविराज नगरपालिकामा पर्ने राजविराज बजार हो । भौगोलिक रुपमा यो जिल्ला २६°२५” देखि २६°४७” उत्तरी अक्षांस र ८६°२८” देखि २७° ७” पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । जिल्लामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी जम्मा १८ वटा स्थानीय तह रहेका छन्, साथै कोशी टप्पु वन्यजन्तु आरक्षको पनि केही भाग यो जिल्लामा छोएको छ। यस जिल्लाको पूर्वमा सुनसरी जिल्ला, पश्चिममा सिराहा जिल्ला उत्तरमा उदयपुर जिल्ला तथा दक्षिणमा भारतको विहार प्रदेश संग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ७,०६,२५५ जना रहेको छ भने जनघनत्व ५१८ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९९.०१% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर ०.९६% रहेको छ भने कूल जनसंख्याको १.५% जनसंख्या फरक क्षमता भएका छन् । यस जिल्लाका प्रमुख जातजातिहरुमा यादव, थारु, मुसलमान, तेली, धानुक, मुसहर, खत्वे, चमार/हरिजन आदि रहेका छन्। यस जिल्लामा बोलिने भाषाहरुमा मैथली, थारु नेपाली र उर्दु आदि रहेका छन् ।
यस जिल्लाका जलसम्पदाको रुपमा सप्तकोशी नदी, तथा अन्य चुरे क्षेत्रमा उत्पत्ति भएका साना तथा ठूला खहरे खोलाहरु रहेका छन्। बर्षाको समयमा यस जिल्लामा बिशेष बाढीको समस्या हुने गर्दछ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा छिन्नमस्ता भगवती माताको मन्दिर, चुरे क्षेत्रमा रहेको चन्द्रवंशी राजाहरूको दरवार, खोक्सर प्रवाहाको कनकपट्टी दरवार, मानराजाको मानराजा गढी, राजविराजको राजदेवी भगवती, भारदहको कंकालिनी भगवती, शम्भुनाथको शम्भुनाथ मन्दिर, मरौटीको कृष्णाराम, रूपनगरको विष्णु मन्दिर, हनुमाननगरको हनुमान मन्दिर आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान तथा तीर्थाटन आदि रहेका छन् ।
यस जिल्लाको मुख्य पेशा कृषि ब्यापार, पशुपालन तथा मत्स्यपालन रहेको छ। यस जिल्लाका मुख्य बलीहरुमा धान गहुँ, मकै, तोरी बेसार आदि खाद्यबाली हुन् भने नगदेवालीको रुपमा उखु खेती गरिन्छ । राजविराज, वेल्ही, रामनगर, लालापति, बोरिया आदि यस जिल्लाका प्रमुख व्यापारिक महत्व बोकेका स्थानहरु हुन् ।
जलवायुका हिसावले यस जिलामा उष्ण मौषमी जलवायु पाइन्छ । यस जिल्लाका वनस्पतिमा उष्ण सदावहार वनस्पति पाइन्छ । साल सिसौ, टिक, खयर आदि यहाँ पाइने वनस्पतिका मुख्य प्रजाति हुन् ।
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली




