गोरखाका राजा पृथ्वीनारायण शाहको ससुराली मकवानपुर जिल्ला वागमती प्रदेशमा पर्दछ । यो जिल्लालाई नेपाल सरकारको बर्गीकरण अनुसार भित्री मधेशको जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल २,४२६ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट १६६ मिटर देखि २,५८४ मिटर उचाईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम हेटौडा उप महानगरपालिकामा पर्ने हेटौडा सहर हो । भौगोलिक रुपमा यो जिल्ला २७°१०’ देखि २७°४०’ उत्तरी अक्षांस र ८४°४१’ देखि ८५°३१’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा १ वटा उपमहानगरपालिका, एक वटा नगरपालिका, र आठवटा गाउँपालिका गरी दश वटा स्थानीय तह रहेका छन् साथै चितवन राष्ट्रिय निकुन्ज र पर्सा वन्यजन्तु आरक्ष पनि यसै जिल्लासम्म फैलिएका छन् । यस जिल्लाको पूर्वमा काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला, पश्चिममा चितवन र धादिङ जिल्ला, उत्तरमा काठमाण्डौ र ललितपुर जिल्ला तथा दक्षिणमा पर्सा र रौतहट जिल्ला गरी जम्मा ८ जिल्लासंग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ४,६६,०७३ जना रहेको छ भने जनघनत्व १९२ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात १००.६७% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर ०.९९% रहेको छ भने कूल जनसंख्याको २.२% जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७७.८% रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा नेवार, क्षेत्री, ब्राह्मण, तामाङ, चेपाङ, मगर, राई, विश्वकर्मा, परियार, आदि रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, नेवारी, तामाङ, मैथली, चेपाङ मगर, राई, आदि रहेका छन् ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा ऐतिहासिक बिरासत बोकेको चित्लाङ मकवानपुरगढी, भैरवडाडाँ, इन्द्रसरोवर ( कुलेखानी ), चिसापानी गढी, गुम्बाडाँडाँ. सप्तकन्या गुफा, सिसा महल, चुरियामाईको सुरुङ, सीमभञ्ज्यादेखि देउरालीसम्मको सुनगाभा पदयात्रा, सातधारा, अशोककालीन चैत्य, दामन, पालुङ, बज्रवाराही, मार्खु, सहीद स्मारक आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन तथा पदयात्रा आदि रहेका छन् ।
यस जिल्लालाई जलाधारको रूपमा चार जलाधार क्षेत्र र १२५ उप-जलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ। चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र त्रिशुली हुन्। यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ। जिल्लाको पूर्वी सीमा नदीको रूपमा रहेको बागमती नदी, पूर्व मध्यभागबाट शुरु भै दक्षिणतर्फबग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर यस जिल्लाका प्रमुख नदीहरू हुन्। यस जिल्लामा विद्युत् उत्पादन गर्नको लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रूपमा रहेको छ। यो कुलेखानी र मार्खुको ७ कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ। स्थायी पानीको स्रोतको अभाव रहेको यी नदीहरूमा वर्षातको समयमा बाढीको रूपमा प्रशस्त मात्रामा पानी बगेता पनि हिउंदमा ज्यादै कम पानी बग्ने गर्दछ।
यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा सैन्य सेवा, व्यवस्थापकीय कार्य, शिक्षण, प्राविधिक कार्य, निजामती सेवा, कृषि, पशुपालन, व्यापार, पर्यटन आदि रहेको छ। धान, गहु, मकै जस्ता खाद्यवाली तथा व्यावसायिक तरकारे खेती नगदेवालीको रुपमा गरिन्छ । हेटौँडा, भीमफेदी, मनहरी, लोथर, छतिवन, फापरवारी, राईगाउँ, चौघडा, पालुङ्ग, भैंसे, दामन (शिखरकोट), हटिया (चिसापानी), बसामाडी (बस्तीपुर), बज्रबाराही (सरस्वती बजार), मार्खु, कुलेखानी, नामटार, हर्नामाडी आदि आदि यस जिल्लाका प्रमुख व्यापारिक महत्व बोकेका स्थानहरु हुन् ।
जलवायुका हिसावले यस जिलामा उपोष्ण मनसुनी जलवायु, न्यानो समशीतोष्ण जलवायु, तथा ठण्डा समशीतोष्ण जलवायु, पाइन्छ । यस जिल्लाका वनस्पतिमा उपोष्ण सदावहार वनस्पत, पतझड वनस्पति तथा कोणधारी वनस्पति पाइन्छन ।
यो जिल्ला परिचय अन्तरगत बत्तीसौं शृंखला हो
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली




