मगर जातिको बाहुल्यता भएको, लाहुरेहरुको जिल्ला पनि भनेर चिनिने प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला म्याग्दी गण्डकी प्रदेशमा पर्दछ । यस जिल्लालाई नेपाल सरकारको बर्गीकरण अनुसार हिमाली जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल २,९९७ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट ८२१ मिटर देखि ८१६७ मिटर उचईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम बेनी नगरपालिकामा अवस्थित बेनी बजार हो । भौगोलिक रुपमा यो जिल्ला २८º २०’ देखि २८º४७’ उत्तरी अक्षांस र ८३º ८’ देखि ८३º ५३’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा, ४ वटा नगरपालिका, ६ वटा गाउँपालिका गरी जम्मा १०. वटा स्थानीय तह रहेका छन् । नेपालको एकमात्र शिकार आरक्ष “ढोरपाटन शिकार आरक्ष” को केही भाग यस जिल्लामा पनि अवस्थित रहेको छ । यस जिल्लाको पूर्वमा कास्की र पर्वत जिल्ला, पश्चिममा डोल्पा र रुकुम पूर्व जिल्ला, उत्तरमा मुस्ताङ र डोल्पा जिल्ला तथा दक्षिणमा बाग्लुङ जिल्ला संग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १,०७, ०३३ जना रहेको छ भने जनघनत्व ४७ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९५.०३% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -०.५७ % रहेको छ भने कूल जनसंख्याको ५% जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७९.७ % रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा मगर, क्षेत्री, विश्वकर्मा, ब्राह्मण, परियार, मिजार, पुन, छन्त्याल, ठकुरी, नेवार आदि रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, मगर ढुट, छन्त्याल, मगर खाम, हिन्दी, नेवारी, गुरुङ आदि रहेका छन् ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा गलेश्वर धाम (घतान गाविस), पुलत्स्य आश्रम (पुलाचौर), बौध्द-गुम्बा (अर्थुङ्गे) आदि प्रमुख धार्मिकस्थलहरु रहेको यस जिल्लाका अन्य धार्मिकस्थलमा रिखार (कुइनेमंगले), बेनी शिवालय (अर्थुङ्गे), लक्ष्मीनारायण मन्दिर (अर्थुङ्गे), वरको रुख (अर्थुङ्गे), महारानिथान (अर्थुङ्गे), मालिकथान (वीम), गिध्देश्वर मन्दिर (हिस्तान), जगन्नाथ मन्दिर (पुलाचौर), ढोलठाना (पुलाचौर), भगवती मन्दिर (भगवती),ताकमकोट (ताकम), खोप्रा खरिवारह (शिख) तातोपानी (सिंगा र भुरुङ), पुनहिल (घार), घोडेपानी (घार) अन्ध गल्छी (दाना), रुप्से झरना (दाना), धवलागिरी बेस क्याम्प (मुदी), मालिकाधुरी (देवीस्थान), टोड्केधुरी (झीं र कुहुँ), ढोरपाटन आरक्ष (गुर्जा र लुलाङ), मालिकाधुरी (विम), पछात्र धुरी (चिमखोला), पेरी भरानी ताल (राम्चे), लालीगुराँस वन क्षेत्र (घार, शिख र अन्य क्षेत्र) दहबुकी वन क्षेत्र (चिमखोला), जलजला क्षेत्र (राम्चे) आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन तथा पदयात्रा आदि रहेका छन् ।
यस जिल्लाको जलस्रोतका रुपमा पर्वतको पश्चिमि भागमा कालीगण्डकी नदी, कागखोला, बोक्सीखोला, म्रिस्त्रीखोला, रघुगंगा, वेगखोला, घारखोला. गुर्जाखोला, मराङखोला, दरखोला, रितुङखोला, दाङखोला अर्जेखोला लगाएत अन्यसाना ठूला खोला तथा नदीहरु रहेका छन् साथै भू-तातोपानी,) सिंगा तातोपानी, दग्नाम तातोपानी जस्ता तातो पानीका कुण्डहरु पनि रहेका छन्।
यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा सैन्य सेवा, व्यवस्थापकीय कार्य, शिक्षण, प्राविधिक कार्य, कृषि, पशुपालन, व्यापार, पर्यटन आदि रहेको छ। म्याग्दी जिल्लामा पनि अत्यन्त उर्वर माटोले युक्त बेंशी तथा फाँटहरु रहेका छन् । यस जिल्लाको कृषियोग्य जमिनमा धान, गहुँ, मकै, कोदो, फापर जौ, आलु, उवाँ जस्ता खाद्यवाली तथा अदुवा, बेसार, सुन्तला, स्याउ, र व्यावसायिक तरकारी खेती नगदेवालीको रुपमा गरिन्छ । मुना, मुदी, वेनी बजार, गलेश्वर, पाखापानी, शिखा, गुर्जा बजार आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।
उचाई गत विविधता सँगै यस जिल्लामा जलवायुमा पनि विविधता पाउन सकिन्छ । जलवायुका हिसावले यस जिल्ला उपोष्ण मनसुनी जलवायु न्यानो समशीतोष्ण ठण्डा समशीतोष्ण जलवायु लेकाली जलवायु तथा हिमाली जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम शून्य डिग्री सेल्सियस भन्दा तल सम्म झर्ने गर्दछ भने यस जिल्लाको सरदार बार्षिक सरदर बर्षा २२०० मिलिलिटर हुने गर्दछ। यस जिल्लाका वनस्पतिमा उपोष्ण सदावहार वनस्पति पतझड वनस्पति कोणधारी वनस्पति लेकाली वनस्पती तथा हिमाली टुन्द्रा वनस्पति पाइन्छन ।
जिल्ला परिचय अन्तरगत यो चौवालीसौं शृंखला हो।
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली




