जनसंख्याको हिसाबले नेपालको सबैभन्दा सानो, आफ्नो छुट्टै ऐतिहासिक तथा सांकृतिक गाथा भएको, हिमाल पारीको जिल्ला मनाङ गण्डकी प्रदेशमा पर्दछ । यस जिल्लालाई नेपाल सरकारको बर्गीकरण अनुसार हिमाली जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल २,२४६ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट १,८८० मिटर देखि ८१६३ मिटर उचाईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम चामे गाउँपालिकामा अवस्थित चामे बजार हो । भौगोलिक रुपमा यो जिल्ला २८º २७’ देखि २८º४८’ उत्तरी अक्षांस र ८३º ४७’ देखि ८४º ३४’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा ४ वटा गाउँपालिका स्थानीय तह रहेका छन् । नेपालको नेपालको सर्वोच्च स्थानमा रहेको ताल “तिलिचो ताल” (४९१९ मि) यसै जिल्लामा अवस्थित रहेको छ । यस जिल्लाको पूर्वमा गोरखा र लमजुङ जिल्ला, पश्चिममा मुस्ताङ र म्याग्दी पूर्व जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तीब्बत तथा दक्षिणमा कास्की र लमजुङ जिल्ला संग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ५,६५८ जना रहेको छ भने जनघनत्व ३ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात १२९.४४% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -१.३९ % रहेको छ भने कूल जनसंख्याको ४.७ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७८.४ % रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा गुरुङ, भोटे, घले, क्षेत्री, विश्वकर्मा, मगर, ब्राह्मण, तामाङ, नेवार, अन्य आदि रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा गुरुङ, नेपाली, नार्फु, तिब्बती, तामाङ, मगर ढुट, घले आदि रहेका छन् ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा करिब ५००० मिटर उचाईमा पर्ने तिलिचो ताल, करिब ४६०० मिटर उचाईमा रहेको आइस लेक, करिब ५४०० मिटर उचाईमा पर्ने थोरंगला पास अग्ला सुन्दर हिमालहरु, गड्गडाएर बग्ने नदी, शान्त ताल, हरिया वनपाखा, विभिन्न प्रजातिका फूलहरु, लोपोन्मुख जनावरहरु, हजारौं वर्ष पुराना गुम्बाहरु) आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन पदयात्रा तथा पर्वतारोहण आदि रहेका छन् ।
यस जिल्लामा प्रवेश गर्ने मुख्य नाकाहरुमा गोर्खाको सामा र साम्दो गाउँ हुँदै थोंचे, मनाङ, कास्कीको सिक्लेस-दुधपोखरी-डाँफे लेक हुँदै तिमाङ-चामे,मनाङ, मुस्ताङको मुक्तिनाथबाट थोराङलापास हुँदै टंकी मनाङ, मनाङ, तिब्बतबाट नार-फू हुँदै चामे, मनाङ, लमजुङ-बेसिशहर हुँदै ताल, धारापानी, मनाङ रहेका छन् ।
यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा कृषि, पशुपालन, व्यापार, पर्यटन आदि रहेको छ। माथिल्लो मनाङमा समथर भूमि तथा ढुङ्गाले युक्त बलौटे दोमट र चिम्त्याइलो कालो रङको माटो पाइन्छ । यस जिल्लाको कृषियोग्य जमिनमा मकै, कोदो, फापर जौ, आलु, उवाँ जस्ता खाद्यवाली तथा स्याउ, चौरीको छुर्पी चीज, उनजन्य सामान आदि यस जिल्लाका मुख्य ब्याबसायिक उत्पादन हुन्। चामे, थोराङ्ला पास, याक खर्क, थोचे, धारापानी बजार आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।
उचाई गत विविधता सँगै यस जिल्लामा जलवायुमा पनि विविधता पाउन सकिन्छ । जलवायुका हिसावले यस जिल्ला न्यानो समशीतोष्ण ठण्डा समशीतोष्ण जलवायु लेकाली जलवायु तथा हिमाली जलवायु गरी चार प्रकारको जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम २२ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम शून्य डिग्री सेल्सियस भन्दा तल सम्म झर्ने गर्दछ भने यस जिल्लामा रहेका अग्ला हिमालले दक्षिणबाट आएको जलबाष्प यूक वायुलाई छेकिदिने हुदा यस जिल्लामा जलवृष्टि नगन्य हुने गर्दछ र अधिकांश बर्षा हिमपातको रुपमा हुने गर्दछ । यस जिल्लाका वनस्पतिमा पतझड वनस्पति कोणधारी वनस्पति लेकाली वनस्पती तथा हिमाली टुन्द्रा वनस्पति पाइन्छन ।
जिल्ला परिचय अन्तरगत यो पैंतालीसौं शृंखला हो।
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली




