राज्यको पुनर्संरचना हुँदा रुकुम जिल्ला विभाजन भएर बनेको जिल्ला रुकुमपश्चिम कर्णाली प्रदेशमा पर्दछ । यस जिल्लालाई नेपाल सरकारको बर्गीकरण अनुसार हिमाली जिल्लामा राखिएको छ यस जिल्लाको क्षेत्रफल १,२१३.४९ बर्ग कि.मि. रहेको छ । यस जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिकामा अवस्थित मुसिकोट बजार (१४४८ मि.) हो । भौगोलिक रुपमा यो जिल्ला २८ º २९’ देखि २९ º ००’ उत्तरी अक्षांस र ८२º १२’ देखि ८३º ३३’ पूर्वी देशान्तरका बीच अवस्थित रहेको छ । यस जिल्लामा तीन वटा गाउँपालिका र तीनवटा नगरपालिका गरी जम्मा छ वटा स्थानीय तह रहेका छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको केही भाग यस जिल्लामा पनि रहेको छ । यस जिल्लाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा जाजरकोट जिल्ला, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा सल्यान र रोल्पा जिल्लासंग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १६६,७४० जना रहेको छ भ ने जनघनत्व १३७ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९४.६८% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर ०.६८ % रहेको छ भने कूल जनसंख्याको २.५ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७५.७ % रहेको छ । यस जिल्लाका प्रमुख जातजातिहरुमा क्षेत्री, विश्वकर्मा, मगर, ठकुरी, ब्राह्मण, परियार, मिजार, सन्यासी, सुनुवार, बादी आदि रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख नेपाली, मगर खाम, मगर ढुट, हिन्दीआदि रहेका छन् ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा डिग्रे साईकुमारी भगवती र कालिका मन्दिर, बराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, गाधिघर देउती मन्दिर बांफिकोट, लक्ष्मीनारायण मन्दिर आठविसकोट,सिस्ने हिमाल, पुथा हिमाल, स्यार्पू ताल, कमल ताल, सुन दह, गुप्ता दह, सम्पे ताल, देउराली गुफा, तकसेरा गांउ, लुकुम गाउँ, राङसी गाउं, कोल गाउँ, हुकाम गाँउ, मैकोट गाउँ, महत गाउँ, कांडा गाउँ र सीमा गाउँका मगर वस्तीहरू, गोतामकोटको बस्ती, रुकुमकोटको वस्ती, चौरजहारी वस्ती, चांप, तरकारी विऊ उत्पादन केन्द्र, कानखाने लेक मौराखारा लेक, सिमैछरी झरना, सातामाटे कालापोखरा क्षेत्र, चित्री पाटन, लालपाटन, ढोरपाटन वन्यजन्तु आरक्ष आदि छन् । साथै यस जिल्लामा तामा, सिसा, कोइला, फलाम, चक, स्टेल, शीलाजित, गन्धक (उत्खनन हुन बाँकी लगाएतका खनिज पदार्थहरु रहेका छन । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन, पदयात्रा, शिकार आदि रहेका छन् ।
यस जिल्लाको प्रमुख जलस्रोतको रुपमा सानीभेरी, ठूली भेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला लगायतका साना ठूला साना नदी तथा खोला रहेका छन् । यसका साथै यस जिल्लामा अनुपम सुन्दरताले युक्त कमल ताल, पुपाल दह, सुन दह, गुप्ता दह, सम्पे ताल, आदि तालहरु पनि रहेका छन
यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा कृषि, पशुपालन, व्यापार, पर्यटन आदि रहेको छ। भिरालो जमिनमा निकै कम मोटाई भएको चिम्त्याइलो, दोमट, बलौटे दोमट बलुते र कंकणयुक्त माटो पाइने यस जिल्लाको कूल २०,२६५ हेक्टर कृषियोग्य जमिनमा धान, गहुँ, मकै, कोदो, जौ, उवा, फापर जस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा सुन्तला. अदुवा, व्यावसायिक तरकारी खेती तथा पशुपालन तथा मौरीपालन रहेका छन । यस जिल्लाबाट निर्यात हुने मुख्य बस्तुहरुमा यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईतो, जटामसि, भलायो लगाएतका जडिबुटीहरु, तरकारी विऊ, आलु, घ्यु, मह, सुठो, शिलाजित, नेपाली कागज, अल्लोको प्रशोधित धागो, ऊनी, कम्बल आदि पर्दछन । मुसिकोट, बांफिकोट, रुकुमकोट, आठविसकोट , राडिज्युला, नायगाड, चौरजहारी, सिम्रुत, झुलखेत, चुनबाङ्ग,सिम्ली,सोलावाङ, राउखेत, गोतामकोट, झुलनेटा, पोखरा, महत र दोमई आदि यस जिल्लाका प्रमुख बजार तथा व्यापारिक केन्द्रहरु हुन् ।
जलवायुका हिसावले यस जिल्लामा उपोष्ण मनसुनी जलवायु तथा न्यानो समशीतोष्ण जलवायु ठण्डा समशीतोष्ण जलवायु तथा लेकाली जलवायु । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम ३डिग्री सेल्सियस बाट तलसम्म सम्म झर्ने गर्दछ । यस जिल्लामा उपोष्ण सदावहार वनस्पति पतझड वनस्पति कोणधारी वनस्पति तथा लेकाली वनस्पति पाइन्छ । यस जिल्लाका मुख्य वन पैदावरहरुमा बांज, खस्रु, गुराँस, ओखर, साज, पाङ, ठिङ्गो, चिउरी, टुनी, चाँप, काफल, सल्लो, चिलाउने, कटुस चांप, ओखर पिपल टिमुर आदि पर्दछन् जिल्लामा पाइने वन्यजन्तु तथा पंक्षीहरुमा कस्तुरी, मृग, नावर, रेड पाण्डा, रातो बांदर, ढेडु, झारल, थार, बाघ, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो, डांफे, मुनाल, च्याुकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि पर्दछन्।
जिल्ला परिचय अन्तरगत यो उनान्साठीऔँ शृंखला हो।
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली




