वि.सं. २०१६ साल पूर्व दैलेख जिल्ला अंतरगत रहेको, कर्णाली प्रवेशद्वार, बाह्र खंडाल अठार बण्डालले परिचित, सुर्खेत जिल्ला कर्णाली प्रदेशमा पर्दछ साथै यो जिल्ला कर्णाली प्रदेशको राजधानी जिल्ला पनि हो । यस जिल्लालाई नेपाल सरकारको बर्गीकरण अनुसार दून (भित्री मधेश)को जिल्लामा राखिएको छ, जुन भित्री मधेशका जिल्लाहरु मध्य सबैभन्दा पश्चिमकोजिल्ला हो । यस जिल्लाको क्षेत्रफल २,४५१ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट १९८ मिटर देखि २,३६७ मिटर उचाईबीच अवस्थित रहेको छ। यस जिल्लाको सदरमुकाम वीरेन्द्रनगर नगरपालिकामा अवस्थित वीरेन्द्रनगर बजार (६६५ मि.) हो । भौगोलिक रुपमा यो जिल्ला २८ º २०’ देखि २८ º ५८’ उत्तरी अक्षांस र ८०º५९” देखि ८२º २’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । । यस जिल्लामा पाँच नगरपालिका रचार वटा गाउँपालिका गरी जम्मा नौ वटा स्थानीय तह रहेका छन् । यस जिल्लाको पूर्वमा सल्यान, जिल्ला, पश्चिममा डोटी र अछाम जिल्ला, उत्तरमा अछाम दैलेख र जाजरकोट जिल्ला तथा दक्षिणमा कैलाली र बर्दिया जिल्ला संग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या४,१५,१२६ जना रहेको छ भने जनघनत्व १६९ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९२.७४% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर १.६२ % रहेको छ भने कूल जनसंख्याको ३ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ८२.७ % रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा क्षेत्री, विश्वकर्मा, मगर, ब्राह्मण, ठकुरी, परियार, मिजार, थारु, गुरुङ, सन्यासी आदि रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, मगर ढुट, थारु, अछामी, गुरुङ, राजी, हिन्दी, खस, मगर खाम आदि रहेका छन् ।
यस जिल्लाका मुख्य धार्मिक सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा बराह ताल, चमेरो गुफा, बिजौरा, भेरी नदि कर्णाली नदि, र्याफटीङचौकुखानी, पन्चपुरि: मन्दिर, कोटको थुम्को(सिम्ता [बजेडीचौर]), भोटेचुली (खानीखोला), सिम्ताउपत्यका काँक्रेबिहार, बुलबुले ताल देउती बज्यै, घन्टाघर, लाटीकोइली मन्दिर, राम्री काँडा, सातपट्टे, भोटे दरवार, सिद्ध ऋषि गुफा, देवी डाँडा, पान डाँडा गुफा, वागदुला गुफा, खाँडादेवी मन्दिर, कुण्डलिनी गुफा, पाण्डव गुगा, मदले गुफा, त्रिवेणी पार्क आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन, अनुसन्धान, तीर्थाटन आदि रहेका छन् ।
यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा कृषि, पशुपालन, मत्स्यपालन, व्यापार, पर्यटन आदि रहेको छ। यस जिल्लामा अत्यन्त मलिलो र मिहिन प्रकृतिको पाँगो, बलौटे दोमट तथा चिम्त्याइलो माटो पाइन्छ । यस जिल्लाको कूल ६९९.५ वर्ग कि.मि. कृषियोग्य जमिनमा धान, गहुँ, मकै, आलु, तोरीजस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा उखु , सख्खर व्यावसायिक तरकारी खेती पशुपालन, तथा मत्स्यपालन पर्दछन। तातोपानी, सिम्ता, बिजौरा, पन्चपुरी, वीरेन्द्रनगर, छिन्चु, खानीखोला, मालारानी आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।
जलवायुका हिसावले यस जिल्लामा उपोष्ण मनसुनी जलवायु तथा न्यानो समशीतोष्ण जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम ७डिग्री सेल्सियस सम्म झर्ने गर्दछ । यस जिल्लामा उपोष्ण सदावहार वनस्पति तथा पतझड वनस्पति पाइन्छ भने साल सिसौ, खयर, टिक, कदम आदि यस जिल्लाका मुख्य वनस्पति हुन् ।
जिल्ला परिचय अन्तरगत यो त्रिसठ्ठीऔँ शृंखला हो।
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

