अत्यन्त सुन्दर प्राकृतिक छटाले युक्त जिल्ला मुगु कर्णाली प्रदेशमा पर्दछ । यस जिल्लालाई नेपाल सरकारको बर्गीकरण अनुसार हिमाली जिल्लामा राखिएको छ यस जिल्लाको क्षेत्रफल ३,१०३ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट १२०१ मिटर देखि ६,७०७ मिटर उचाइबीच अवस्थित रहेको छ । यस जिल्लाको सदरमुकाम छायानाथ रारा नगरपालिकामा अवस्थित गमगढी बजार (२२६६ मि.) हो । भौगोलिक रुपमा यो जिल्ला २८ º ४०’ देखि २९ º ५६’ उत्तरी अक्षांस र ८१º ४६’ देखि ८२º ४९’ पूर्वी देशान्तरका बीच अवस्थित रहेको छ । यस जिल्लामा तीन वटा गाउँपालिका र एक नगरपालिका गरी जम्मा चार वटा स्थानीय तह रहेका छन् । यस जिल्लाको पूर्वमा डोल्पा जिल्ला, पश्चिममा बाजुरा जिल्ला उत्तरमा हुम्ला जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत, तथा दक्षिणमा जुम्ला र कालिकोट जिल्लासंग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ६४,५४९ जना रहेको छ भ ने जनघनत्व १८ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात १००.६६% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर १.४९ % रहेको छ भने कूल जनसंख्याको २.७ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ६८.१ % रहेको छ । यस जिल्लाका प्रमुख जातजातिहरुमा क्षेत्री, ठकुरी. विश्वकर्मा, परियार, ब्राह्मण, मुगाली, मिजार, कर्मराङ, तामाङ, कुमाल आदि रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख नेपाली, खस, कर्मराङ, मुगाली, तामाङ, भोटे, आदि रहेका छन् ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा राराताल, चंखेली लेक, छायानाथ दह, नाक्चे लाग्ला, खमालेपाटन क्षेत्र, मुगु हुम्ला पदमार्ग, मुर्मा टप, ऋणमोक्ष दह, खेष्म मालिका मन्दिर, नाथार्पू मष्टा मन्दिर, गुरो देवता, कालिका मालिका मा दिर, खाटी गुम्बा, थाप्र मष्टा, रुवा गम्या, सराग गुम्बा, रारा राष्ट्रिय निकुन्ज आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन, पदयात्रा, आदि रहेका छन् ।
यस जिल्लाको प्रमुख जलस्रोतको मुगु कर्णाली, हुम्ला कर्णाली, गमगाढ खोला, डोल्फू कर्णाली,, आदि रहेका छन् । यसका साथै यस जिल्लामा अनुपम सुन्दरताले युक्त रारा ताल, छायानाथ दह, ऋणमोक्ष दह, आदि तालहरु पनि रहेका छन
यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा कृषि, पशुपालन, व्यापार, पर्यटन आदि रहेको छ। भिरालो जमिनमा निकै कम मोटाई भएको चिम्त्याइलो, दोमट, बलौटे दोमट बलौटे र कंकणयुक्त माटो पाइने यस जिल्लाको कूल कृषियोग्य जमिनमा मकै, धान, गहूँ, जौ, कोदो, उवा, फापर, मास मुसुरो, सिमी, भट्मास, चना, केराउ जस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा अदुवा, बेसार, लसुन, प्याज, धनियाँ, तोरी, खुर्सानी, मह आदि रहेका छन । यस जिल्लाबाट निर्यात हुने मुख्य बस्तुहरुमा यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईतो, जटामसि, भलायो लगाएतका जडिबुटीहरु, तरकारी विऊ, आलु, घ्यु, मह, सुठो, शिलाजित, नेपाली कागज, अल्लोको प्रशोधित धागो, ऊनी, कम्बल आदि पर्दछन । गमगढी बजार,सोरुकोट, रातापानी, श्रीकोट, लुम, रोवा, रारा, धैनाकोट, भिई, पिना आदि यस जिल्लाका प्रमुख बजार तथा व्यापारिक केन्द्रहरु हुन् ।
जलवायुका हिसावले यस जिल्लामा न्यानो समशीतोष्ण जलवायु ठण्डा समशीतोष्ण जलवायु तथा लेकाली जलवायु तथा टुन्ड्रा जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३० डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम सून्य डिग्री सेल्सियस बाट तलसम्म सम्म पनि झर्ने गर्दछ । यस जिल्लामा पतझड वनस्पति कोणधारी वनस्पति तथा लेकाली वनस्पति पाइन्छ । यस जिल्लाका मुख्य वन पैदावरहरुमा बांज, खस्रु, गुराँस, ओखर, साज, पाङ, ठिङ्गो, चिउरी, टुनी, चाँप, काफल, सल्लो, चिलाउने, कटुस चांप, ओखर पिपल टिमुर आदि पर्दछन् जिल्लामा पाइने वन्यजन्तु तथा पंक्षीहरुमा कस्तुरी, मृग, नावर, रेड पाण्डा, रातो बांदर, ढेडु, झारल, थार, बाघ, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो, डांफे, मुनाल, च्याखुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं, डाँफे, मुनाल आदि पर्दछन्।
जिल्ला परिचय अन्तरगत यो पैसठ्ठीऔँ शृंखला हो।
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली




