विभिन्न थरहरुको प्रादुर्भाव भएको अछाम जिल्ला सुदूरपश्चिम प्रदेशमा पर्दछ। यस जिल्लालाई नेपाल सरकारको बर्गीकरण अनुसार पहाडी जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल १६९२ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट ५४० मिटर देखि ३८२० मिटर उचाइबीच अवस्थित रहेको छ । यस जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिकामा अवस्थित मंगलसेन बजार (समुद्र सतहबाट १३२६ मिटर) हो । भौगोलिक रुपमा यो जिल्ला २८ º ४५’ देखि २९ º ३३’ उत्तरी अक्षांस र ८१º २’ देखि ८१º ३५’ पूर्वी देशान्तरका बीच अवस्थित रहेको छ । यस जिल्लामा चार वटा नगरपालिका र छ वटा गाउँपालिका गरी जम्मा दश वटा स्थानीय तह रहेका छन् । यस जिल्लाको पूर्वमा दैलेख जिल्ला, पश्चिममा डोटी जिल्ला, उत्तरमा कालिकोट र बाजुरा जिल्ला, तथा दक्षिणमा सुर्खेत जिल्लासंग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या २२८८५२ जना रहेको छ भ ने जनघनत्व १३६ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ८५.२६% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -१.१३ % रहेको छ भने कूल जनसंख्याको ३.१ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७२.६ % रहेको छ । यस जिल्लाका प्रमुख जातजातिहरुमा क्षेत्री, विश्वकर्मा, ब्राह्मण, परियार, ठकुरी, मिजार, मगर, सन्यासी, माझी, सोनार आदि रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, अछामी, डोटेली, मगर खाम, बाजुरेली, दैलेखेली, मगर ढुट अछामी आदि रहेका छन् ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा रामारोसन ताल: प्राकृतिक सुन्दरताले भरिएको र प्रसिद्ध रहेको क्षेत्र हो रामारोसन। चारैतिर हरियाली पहाहहरुले ढाकिएको छ। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यस क्षेत्रमा १२ ताल र १८ ठूलठूला हरियाली फाँटहरू रहेका छन्। १२ वटा तालहरूमा सबैभन्दा ठूलो ताल जिगाले ताल हो। जसको आकार अंग्रेजी अक्षर सी जस्तो छ। जुन बाटुले ताल भन्दा अलि माथि छ। यहाँको सानो तालमा ताउने ताल हो। यो हाल पुरिने अवस्थामा छ। जिगाले ताल भन्दा माथि पनि धेरै तालहरू छन्।)
मंगलसेन: मंगलसेन एक ऐतिहासिक ठाउँ हो। यहाँ अछामी राजाको दरबार रहेको छ। मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ। यो जिल्ला सदरमुकाम पनि हो। सोह्रौँ शताब्दीमा जुम्लाको सिञ्जाबाट सिजापति राजाहरूले अछाम आगमन पश्चात् यस जिल्लामा बाइसे चौबिसे राजाहरू अस्तित्वमा आएका देखिन्छन्। अछाम राज्यको राजधानी रहेको सिञ्जा महाराजको पालामा यसलाई नौबिस नामबाट सम्बोधन गर्ने गरिन्थ्यो। नौखुवा अछाममा नौबिसले एक खुवाको प्रतिनिधित्व गर्दथ्यो।)
साँफेबगर: साँफेबगर आफ्नो भौगोलिक सुन्दरताले प्रसिद्ध रहेको छ। यो अछाम जिल्लाका मध्य भागमा रहेको छ। वरिपरि पहाडहरूका बिच बेसी स्थित रहेको यस सहरका बिच भागभै बुढिगंगा नदी बगेको छ। साँफेबगर अछामको प्रमुख व्यापारिक केन्द्र पनि हो। साँफेबगर नगरपालिकाको कार्यालय यसै बजारमा रहेको छ। साँफेबगर वरिपरि पहाडहरूले घेरेको बेसीमा अवस्थित छ। साँफेबगरको दक्षिण पश्चिममा बुढी गङ्गाको किनारमा प्रसिद्ध वैद्यनाथधाम रहेको छ। साँफेको सुन्दरतामा यही वैद्यनाथ धामले थप सुन्दरता थपेको छ।
वरदादेवी माई: अछामको गाज्रामा रहेको यो एक प्रसिद्ध धार्मिक स्थल हो। वर्षको एक चोटि यस ठाउँमा ठुलो मेला लाग्छ। यस क्षेत्रमा वरदादेवी माइको मन्दिर रहेको छ। यही मन्दिरमा जुम्लाका प्रसिद्ध राजा जितारि मल्लले आफ्नो राज्य विस्तारका क्रममा विशेष पूजा-आराधना गरेको जनविश्वास छ।
वैद्यनाथधाम: वैद्यनाथ थाम साँफेबगरको दक्षिण स्थित एक पवित्र धार्मिक स्थल हो। बुढीगंगा नदीका किनारमा वैद्यनाथ बाबाको मन्दिर रहेको छ। यस ठाउँमा भगवान् शिवले वैद्य विद्या सिकेको धार्मिक विश्वास रहेको छ।
विमकोट: विमकोटी राजाको दरबार, मन्दिर र राजाका सेराहरू सहितको यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यस दरबारको पूर्व र पश्चिम भई दुई खोला बग्छन्। यो ठाउँ मेल्लेख गाउँपालिकामा पर्छ।
बान्नीगढी: जंगलका बिच पहाडका चुचुरामा प्राचीन राजाको दरबार रहेको ठाउँमा हाल प्रसिद्ध मन्दिर रहेको छ। अछाम जिल्लाको मुटुकै रूपमा चिनिने बान्नीगढी जयगढ गाउँपालिका प्राकृतिक सौन्दर्यता र ऐतिहासिक पृष्ठभूमि बोकेको ठाउँ हो। प्राकृतिक हिसाबले एउटा गढको खोज जस्तो, त्रिपुरा सुन्दरी माताको छत्रछायामा अवस्थित बान्नीगढी जयगढ गाउँपालिकामा उक्त मन्दिर रहेको छ। महाकाली, महालक्ष्मी, महासरस्वती सहित त्रिमूर्तिय स्वरूपलाई बान्नीगढी त्रिपुरा सुन्दरी भगवती नामले पुकार्ने गरेको इतिहास छ। समय परिस्थिति शासन पद्धति परिवर्तन हुँदै जाँदा बान्नीगढी त्रिपुरा सुन्दरी भगवतीको नाम समेत बरदादेवि भगवतीको नामले परिवर्तन भएको इतिहास छ।
दर्नाका पञचदेव: दर्नाका राजाको दरबारको पश्चिमपट्टि लामो गरामा ढुङ्गै ढुङ्गाले बनेका पञ्चदेवहरू रहेका छन्। तत्कालीन बाइसे चौबिसे राज्य अन्तर्गत अछामको शक्तिशाली र क्रूर शासक मानिने दर्नालि राजाले ढुङ्गाबाट निर्माण गरेका ५ वटा कलात्मक देवल बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्छ। पञ्च देवल नजिकै एउटा शिलालेख भेटिएको छ। तर उक्त शिलालेखमा ग्वाला गोठालाहरूले आँसी (हँसिया) उदाउने गरेकाले घिसाएर नबुझिने बनाइदिएका छन् ? तर पनि साहित्यको इतिहास लेखनमा यस शिलालेखले सहयोग नै गरेको पाइन्छ। हाल यी ऐतिहासिक देवलको संरक्षण हुन सकेको छैन र पञ्च देवलको क्षेत्र पनि स्थानीयको अतिक्रमणमा परेको छ।
विनायकका पञ्चदेवल: विनायक अछामका प्रमुख स्थलमध्ये एक हो। यो धार्मिक ऐतिहासिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। यस ठाउँमा रहेका पञ्चदेवल कुनै राजा महाराजाले बनाएको नभएर राजकुमार अक्षम मल्लले शाके १२०२ सम्वत् १३३७ मा बनाएका हुन् भन्ने कुरा प्रस्ट हुन आएको छ। तेस्रो केवलका प्रवेशद्वारको तोरणशीलामा उत्कीर्ण गरिएको अभिलेखमा निम्न कुराहरू उद्धृत गरिएको छ।
पञ्चदेवल विनायक नगरपालिको नामाकरण यही ऐतिहासिक पञ्चदेवलहरुको नामबाटै गरिएको हो। यस क्षेत्रमा मष्टामाण्डौ, बालमाडौं, जस्ता प्रसिद्ध तीर्थस्थलहरू तथा कर्णाली नदी, बेलखेत जस्ता सम्भावना बोकेका प्रर्यटकिय क्षेत्रहरू रहेका छन्। बारला र कालेकाँडामा रहेको पेट्रोलियम पदार्थ र काइनाइट तथा फलामको धाउ उत्खननको सम्भावना पनि रहेको छ।
यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन, पदयात्रा, आदि रहेका छन् । यस जिल्लाका चाल्साबाट चालिसे, ढाँकुबाट ढकाल, टिमिलसैनबाट तिम्सिना अथवा तिमल्सेना घोडासैनबाट घोडासैनी, पुरासैनबाट पुडासैनी, धमालीबाट धमाला, रिमाबाट रिमाल, बारलाबाट बराल, कुइकाबाट कुईकेल, बजगाउँबाट बजगाईं आदि थहरुको प्रादुर्भाव भएको मानिन्छ ।
यस जिल्लाको प्रमुख जलस्रोतको रुपमा कर्णाली, सेती, बृद्धगङ्गा, कैलाश खोला, भानाकोट गाड, रामारोशन ताल, चाईरहोगाड, कुईका गाड, विनायकगाड, कुवालीगाड, लुंग्रेली गाड, सोकट गाड, जिज्यारी गाड, पायली गाड, छिपेखोला, चिसि खोला, तालागाड खोला, चिल्ताडागाड खोला लगाएत अन्य साना ठूला सहायक नदीहरु रहेका छन ।
यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा कृषि, पशुपालन, व्यापार, पर्यटन आदि रहेको छ। यस जिल्लाका निकै कम मोटाई भएको चिम्त्याइलो, दोमट, बलौटे दोमट बलौटे र कंकणयुक्त माटो पाइने पाखो तथा सेती तथा कर्णाली नदीले बनाएका फाँटहरुमा धान, गहुँ, मकै कोदो खाद्यवाली सिमि, भट्मास, आलु, गाजर, केराउ मह, ओखर, आरु, आरुबखडा आदि नगदे वाली उत्पादन गरिन्छ । साँफेबगर¸ कमलबजार¸ बिनायक¸ मंगलसेन, चौखुट्टे, ढकारी आदि यस जिल्लाका प्रमुख बजार तथा व्यापारिक केन्द्रहरु हुन् ।
उचाईको विविधतासँगै यस जिल्लाको जलवायु तथा वनस्पतिमा पनि विविविधता पाइन्छ । जलवायुका हिसावले यस जिल्लामा उपोष्ण जलावायु, न्यानो समशीतोष्ण जलवायु ठण्डा समशीतोष्ण जलवायु तथा लेकाली जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम २ डिग्री सेल्सियस सम्म सम्म झर्ने गर्दछ । यस जिल्लामा उपोष्ण सदाबहार वनस्पति पतझड वनस्पति कोणधारी वनस्पति तथा लेकाली वनस्पति पाइन्छ । साल, खोंटेसल्ला, बाँझ, टुनी, लालीगुराँस, उत्तीस, आदि यस जिल्लाका प्रमुख वन पैदावार रहेका छन भने वन्यजन्तुमा चितुवा, बाँदर, घोरल, स्याल, दुम्सी, झारल आदि रहेका छन् साथै पंक्षीहरुमा कालिज ढुकुर, तित्रा, च्याखुरा, सारौँ आदि रहेका छन् ।
जिल्ला परिचय अन्तरगत यो चौवत्तरौं शृंखला हो।
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली




