चितवन । आफ्ना कथाव्यथा सुनाउन आएकी आइतमाया चेपाङको वाक्य फुटेन । केवल गह भरिए । केहीबेरको मौनतापछि आफूलाई सम्हाल्दै भनिन्, ‘नातिनी पनि ठूली हुँदै गई, उसले बाबा खै भन्दा के जवाफ दिने ? अहिलेसम्म त विदेश गएका छन्, आउँछ भनेर टार्दै आएकी छु ।’
आइतमायालाई छोरा राजकुमार कहिल्यै घर फर्कने छैनन् भन्ने थाहा छ । तर, नातिनीलाई गलत जवाफ दिनुपर्दा उनलाई पीडा मात्र हुन्छ ।
राप्ती नगरपालिका–२ पिप्ले मिलनचोक घर भएका राजकुमार २०७८ साउन १ मा साथीहरूसँगै माछा मार्न र निउरो टिप्न राप्ती तरेर चितवन निकुञ्ज छिरेका थिए । गैरकानुनी रूपमा निकुञ्ज आएको भनेर सेनाका एक हुद्दाले राजकुमार र उनका साथीहरूलाई नियन्त्रणमा मात्रै लिएनन्, कुटपिट गरेर त्यहीं छाडिदिए । बिरामी परेका राजकुमारको एक सातापछि निधन भयो । घटनामा संलग्न हुद्दा चिरणकुमार बुढालाई सुरुमा नौ महिना कैद र नौ हजार जरिवाना सुनाइयो । पछि उच्च अदालतले सजाय थपेर जन्मकैदको फैसला गर्यो । कानुनले दोषीलाई दण्डित गरे पनि आइतमायाका छोरा कहिल्यै फर्केर आउने छैनन् । सम्झनामा उनका आँखा रसाइरहन्छन् ।
निकुञ्जसँग जोडिएका स्थानीयका केही न केही कथा छन्, सविस्तार सुनाउँदा उनीहरूका आँखा रसाउँछ । माडी चौकीडाँडाकी ४६ वर्षीया अनिता चेपाङ पनि यस्तै एक भुक्तभोगी हुन् ।
निकुञ्जका एक सैनिक र उनी प्रेममा थिए । बिहे गर्ने विश्वासमा पारेका ती सैनिकबाट उनी गर्भवती भइन् तर केही समयमै उनको सरुवा भयो । २०५८ सालमा दुई महिनाकी नाबालिका बोक्दै अनिता उनको खोजीमा लागिन् । कसैगरी पत्ता लगाउने अठोटले २०६६ मा आफूजस्तै समस्यामा परेका महिला संगठित गरिन् र अभियान थालिन् । त्यही संगठनको बलमा उनले आफूलाई फसाउने सैनिकको घरठेगाना पत्ता लगाइन् । अन्ततः नौ वर्षकी छोरीको जन्म दर्ता गराउन सफल भइन् ।
नारायणगढमा शुक्रबारदेखि सुरु ‘चित्तौन कचेहेरी’ मा आइतमाया र अनिताले आफ्ना व्यथा सुनाइरहँदा सहभागी दर्शकश्रोता भावुक बने । ‘न्यायको लामो लडाइँ : निकुञ्ज र बफर जोनको छायामा जीवन’ शीर्षकको सत्रमा उनीहरू सहभागी भएका थिए । सहजकर्ता घनश्याम खड्काले आइतमाया र अनितासँगै बसेका सामाजिक विश्लेषक सोमत घिमिरेलाई प्रश्न गरे, ‘स्थानीयले आँसु बगाउन नपर्ने गरी निकुञ्जको संरक्षण गर्न सकिन्न ?’ घिमिरेले जवाफ दिए, ‘पहिला पनि यहाँ मान्छे थिए, वन र वन्यजीव सँगसँगै थिए । उनीहरू एकअर्काका परिपूरक भएर बसेका थिए । निकुञ्ज बनेपछि संरक्षणको जिम्मा सेना र कर्मचारीले लिए । स्थानीयलाई अलग गरे । समस्या यहाँबाट सुरु भयो ।’ स्थानीयमाथि विश्वास नगरेर सेना र कर्मचारी राखेका कारण निकुञ्जको अहिलेको व्यवस्थापन प्रणाली गलत भएको उनको जिकिर थियो ।
थारू भाषाको शब्दबाट नामकरण भएको ‘चित्तौन कचेहेरी’ जिल्लाका विभिन्न ६ संस्थाले संयुक्त रूपमा आयोजना गरेका हुन् । शुक्रबार र शनिबार १४ विषयमा छलफल हुनेछन् । नाटक, कविता र गजल वाचनका साथै पुस्तक वार्ता र आख्यानमाथि विमर्श पनि हुने कार्यक्रम निर्देशक सरिता तिवारीले बताइन् । रमेशकुमार पौडेल, ekantipur




