काठमाडौं । सेवा र विकासका लागि युवा को आयोजनामा पूर्वी नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्रमोक्ष वेद–वेदाङ्ग संस्कृत गुरुकुलममा अध्ययनरत बटुकलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सेवा र विकासका लागि युवा को आयोजना, प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वय र भारतीय जनता र भारत सरकारको सहयोगमा पूर्वी नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्र मोक्ष दिव्य धाममा आयोजित कार्यक्रममा गजेन्द्रमोक्ष धामका प्रमुख स्वामी श्री कृष्णप्रपन्न गौतम, नेपाल प्रथम राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक तथा सेवा र विकासका लागि युवाका संरक्षक श्री नारायण प्रसाद ढकाल, त्रिवेणी गाउँपालिकाका अध्यक्ष श्री घनश्याम गिरी, सेवा र विकासका लागि युवाका सदस्य श्री सुभेन्द्र प्रसाद यादव, समाजसेवी तथा धार्मिक व्यक्तित्व श्रीमती विमला न्यौपाने तथा संस्थाका अन्तर्राष्ट्रिय सदस्य श्री रङ्गनाथ ढकाल, त्रिवेणी गजेन्न्द्र मोक्ष दिव्य धाम क्षेत्र विकासका कार्यकारी निर्देशक झपेन्द्र भुसाल लगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत त्रिवेणीका विभिन्न गुरुकुलमा अध्ययनरत बटुकलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा बृहत् शब्दकोष, क्यापलगायत अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। आयोजकका अनुसार उक्त सहयोगले विद्यार्थीहरूको अध्ययनलाई थप सहज बनाउनुका साथै उनीहरूमा आत्मविश्वास र अध्ययनप्रतिको उत्साह अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा वक्ताहरूले वैदिक शिक्षा नेपालको प्राचीन ज्ञान–परम्परा, संस्कृति र सभ्यताको आधार भएकाले यसको संरक्षण र संवर्द्धन आजको आवश्यकता भएको धारणा व्यक्त गरे । उनीहरूले गुरुकुल शिक्षालाई सुदृढ बनाउन सरकारी निकाय, सामाजिक संस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले शिक्षामा समान अवसर सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए।
आयोजक संस्था सेवा र विकासका लागि युवाले शिक्षा, सेवा र संस्कारलाई आफ्नो मूल उद्देश्य बनाएर देशका विभिन्न जिल्लामा सञ्चालन गरिरहेको शैक्षिक सहयोग अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थी तथा गुरुकुल शिक्षाको प्रवर्द्धनका लागि यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यसअघी सेवा र विकासका लागि युवाको आयोजना तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो समन्वयमा सिद्धार्थ माध्यमिक विद्यालयका १०० जना बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।





