काठमान्डौ । चीन र नेपालका वैज्ञानिकहरूको संयुक्त टोलीले २०२६ अक्टोबर २५ देखि नोभेम्बर १ सम्म सीमापार अरुण उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न गरेको छ। “सीमापार अरुण उपत्यकामा जल-पारिस्थितिक प्रक्रिया, प्राकृतिक प्रकोप र बन्दरगाह करिडोर विकास: एक क्षेत्रीय अनुसन्धान” शीर्षकको यो अनुसन्धान अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) को आमन्त्रणमा गरिएको हो।

टोलीमा चिनियाँ विज्ञान प्रतिष्ठान (CAS) अन्तर्गत पर्वतीय प्रकोप तथा वातावरण संस्थान (IMHE, CAS) का वैज्ञानिकहरू र त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका सहभागी रहेका थिए। टोलीको नेतृत्व पर्वतीय जैव-रसायन, हिमनदी-अग्रभूमि पारिस्थितिक प्रणाली, तलछट तथा प्रदूषण जोखिम र उचाइ-आधारित क्षेत्रीय अनुसन्धानका विज्ञ प्रा. यानहोङ वुले गरेका थिए। चिनियाँ टोलीका विज्ञहरूमा Prof. Kaiheng Hu – पर्वतीय प्रकोप, विशेषगरी भग्नावशेष प्रवाह (debris flow), प्रकोप मूल्याङ्कन र जोखिम न्यूनीकरण, Prof. Weiming Liu – क्वाटरनरी भूविज्ञान, पुरातन बाँधिएका तालहरू, बाढी पुनर्निर्माण र भू-कालनिर्धारण, Prof. Haijian Bing – भारी धातु भू-रसायन, तलछट तथा माटो प्रदूषण, पारिस्थितिक जोखिम मूल्याङ्कन र भूमि पुनर्स्थापना, Prof. Thang Wei र Dr. Rongkun Liu – मानव भूगोलविद् रहेका थिए ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट प्रा. मोतीलाल घिमिरे र सह-प्रा. शेरबहादुर गुरुङ, साथै विद्यार्थीहरू निराज तिमिल्सिना र लीला सापकोटा सहभागी भए। भ्रमणका क्रममा टोलीले खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियालगायत प्रशासनिक पदाधिकारीसँग भेट गरी विपद् जोखिम व्यवस्थापन, पूर्वाधार विकास र सीमापार व्यापारबारे छलफल गर्यो। स्थानीय सरकारले नेपाल र चीनबीचका साझा वातावरणीय तथा आर्थिक चुनौतीको समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता जनायो। टोलीले सहभागी चीन र नेपालका सबै वैज्ञानिक, अनुसन्धानमा सहभागी स्थानीयवासी तथा खाँदबारी नगरपालिका र माकालु गाउँपालिकाका प्रमुख एवं प्रशासनिक पदाधिकारीप्रति सहयोगका लागि आभार व्यक्त गरेको छ।

