☰
बिहिबार, कार्तिक ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता


  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित
  • सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    बिशाल ज्ञवाली, भूगोलविद्
    आश्विन कृष्ण पक्ष प्रतिपदामा देखि आश्विन कृष्ण औँसीसम्मको जम्मा १५ दिनको समय नेपाली हिन्दू समाजमा सोह्र श्राद्ध वा पितृपक्षका रूपमा स्मरण गरिन्छ । “क्रियते पर्वणि यद्वा तत् पार्वणम्” भन्ने निर्णय सिन्धुको प्रमाण अनुसार यो समयलाई पितृ कर्मको पर्वको रुपमा लिइन्छ । चान्द्रमान अनुसार आश्विन मासको कृष्ण पक्षभर अर्थात कृष्ण पक्षको प्रतिपदा देखि आमावास्या तितिसम्म यो पर्व पर्ने गर्दछ । पितृ पक्ष अर्थात १५ दिन भएता पनि जम्मा १६ वटै तिथिको श्राद्ध गरिने अवधि भएकाले सोह्र श्राद्ध लोकोक्तिमा प्रचलित रहेको छ । यसबर्ष यो पर्व सौरमान अनुसार आश्विन ११ गते आइतबार देखि आश्विन २४ गते शनिबार सम्म (तिथि क्षयको कारणले जामा १४ दिनको ) रहेको छ । यो केवल दिवंगत पूर्वजलाई सम्झने धार्मिक कर्मकाण्ड मात्र होइन; यो त स्मृति, कृतज्ञता, पारिवारिक निरन्तरता, सामाजिक उत्तरदायित्व र मृत्युबोधसँग जोडिएको सांस्कृतिक अभ्यास पनि हो । आधुनिक जीवनले मानिसलाई आफ्नो अतीत, पुर्खा र पारिवारिक जरोबाट क्रमशः टाढा लैजाँदै गर्दा सोह्र श्राद्धले कम्तिमा वर्षमा एकपटक भए पनि एउटा मौलिक प्रश्न उठाउँछ, हामी कहाँबाट आएका हौँ र हामीप्रति अघिल्लो पुस्ताको योगदान के हो? ‘श्राद्ध’ शब्द स्वयं ‘श्रद्धा’बाट बनेको मानिन्छ । धर्मशास्त्रीय परम्परामा श्रद्धापूर्वक पितृका निम्ति गरिने अर्पणलाई श्राद्ध भनिएको छ । वीरमित्रोदयको श्राद्धप्रकाशमा उद्धृत परम्परागत वचन “श्रद्धया दीयते यस्मात्तेन श्राद्धं निगद्यते” ले श्राद्धको मूल भाव कर्मभन्दा पहिले श्रद्धा हो भन्ने संकेत गर्छ । यस अर्थमा श्राद्ध मृतकलाई मात्र दिइने वस्तु होइन; जीवितले मृतकप्रति व्यक्त गर्ने स्मृति र सम्मानको सांस्कृतिक भाषा हो ।

    Advertisement

    पितृऋणको पौराणिक अवधारणा
    वैदिक तथा उत्तरवैदिक हिन्दू चिन्तनमा मानिसलाई केवल व्यक्तिगत अस्तित्वका रूपमा हेरिएको छैन । ऊ परिवार, समाज, प्रकृति र अघिल्ला पुस्तासँग जोडिएको हुन्छ । यही सम्बन्धलाई धर्मशास्त्रीय परम्पराले ऋणको अवधारणामार्फत व्याख्या गरेको छ । देवऋण, ऋषिऋण र पितृऋणमध्ये पितृऋण विशेष रूपमा वंशपरम्परा र पूर्वजप्रतिको कृतज्ञतासँग सम्बन्धित छ ।
    मनुस्मृतिले पितृयज्ञ र श्राद्धको सम्बन्ध स्पष्ट रूपमा उल्लेख गरेको छ—
    “पितृयज्ञं तु निर्वर्त्य विप्रश्चन्द्रक्षयेऽग्निमान् ।
    पिण्डान्वाहार्यकं श्राद्धं कुर्यान्मासानुमासिकम् ॥” मनुस्मृति, ३ ।१२२
    यसको सामान्य अर्थ हो, पितृयज्ञ सम्पन्न गरेपछि अमावस्याको अवसरमा पिण्डसहित श्राद्ध गर्ने परम्परा रहेको छ । यसले श्राद्धको परम्परा कुनै पछिल्लो लोकाचार मात्र नभई धर्मशास्त्रीय संरचनाभित्र विकसित भएको देखाउँछ । पितृसम्बन्धी चिन्तन गरुडपुराणमा अझ व्यापक रूपमा प्रस्तुत हुन्छ । त्यहाँ श्राद्ध, तर्पण, पिण्डदान, पितृस्मरण र दानलाई मृतकप्रतिको धार्मिक कर्तव्यसँग जोडिएको पाइन्छ । गरुडपुराणका विभिन्न अध्यायमा श्राद्धका अवसर, विधि, पितृतर्पण तथा पिण्डदानको महत्त्व वर्णन गरिएको छ ।
    त्यसै परम्परामा एउटा अत्यन्त अर्थपूर्ण भाव पाइन्छ
    “श्राद्धे प्रकल्पिता लोकाः, श्राद्धे धर्मः प्रतिष्ठितः ।
    श्राद्धे यज्ञा हि तिष्ठन्ति, सर्वकर्मफलप्रदाः॥”अवन्तीक्षेत्रमाहात्म्य, ५८ ।५ अर्थात्, श्राद्धलाई केवल मृतकको सम्झना होइन, धर्म, सामाजिक दायित्व र परम्परागत जीवनपद्धतिको निरन्तरतासँग जोडेर हेरिएको छ ।

    सोह्र श्राद्ध नै किन ?
    पितृपक्षमा सामान्यतः सोह्र तिथिका आधारमा श्राद्ध गर्ने परम्परा छ । मृतकको मृत्यु भएको तिथिअनुसार श्राद्ध गर्ने चलन प्रमुख भए पनि विभिन्न समुदायमा यसको विधि र पात्रतामा भिन्नता पाइन्छ । कतिपय अवस्थामा मृत्युको तिथि थाहा नभएका पितृका लागि औँसी अर्थात् सर्वपितृ अमावस्यामा श्राद्ध गरिन्छ ।
    यसैले ‘सोह्र’ भन्ने संख्या केवल गणितीय संख्या होइन; यो चन्द्रपक्षीय कालगणना र पितृस्मरणबीचको सांस्कृतिक सम्बन्धको अभिव्यक्ति हो । हिन्दू कालगणनामा चन्द्रमासको कृष्णपक्षलाई विशेष धार्मिक अर्थ दिइएको छ । अँध्यारोतर्फ उन्मुख चन्द्रपक्षमा गरिने पितृस्मरणले जीवनको उज्यालो पक्षसँगै मृत्यु र क्षयको यथार्थलाई पनि स्वीकार गर्न सिकाउँछ । आधुनिक मानिस मृत्युबाट टाढा रहन खोज्छ । अस्पताल, प्रविधि र शहरी जीवनले मृत्युको प्रत्यक्ष अनुभवलाई कम गरिदिएको छ । तर सोह्र श्राद्धले वर्षमा एकपटक मानिसलाई मृत्यु अपरिहार्य जीवनसत्य हो भन्ने सम्झाउँछ ।

    पिण्ड : अन्नभन्दा ठूलो प्रतीक
    श्राद्धमा अर्पण गरिने पिण्डलाई केवल चामल, तिल र जलबाट बनेको खाद्यवस्तुका रूपमा बुझ्नु यसको सांस्कृतिक गहिराइलाई सीमित गर्नु हो । गरुडपुराणले गयाश्राद्धको प्रसङ्गमा पिण्डदानलाई विशेष महत्त्व दिँदै भन्छ—
    “यज्ञं श्राद्धं पिण्डदानं स्नानादि कुरुते नरः ।
    स स्वर्गं ब्रह्मलोकं च गच्छेन्न नरकं नरः ॥” गरुडपुराण, १ ।८२ ।८
    अर्थात्, पिण्डदानलाई श्राद्धकर्मको अभिन्न अंगका रूपमा पुराणले स्थापित गरेको छ । तर आधुनिक दृष्टिले यसको अर्थ मृतकलाई भौतिक रूपमा ‘खाना पुर्‍याउने’ प्रक्रियामा सीमित गर्नु उपयुक्त हुदैन । पिण्ड जीवन, शरीर, अन्न, प्रकृति र वंशपरम्पराबीचको प्रतीकात्मक सेतु हो । अन्नबाट शरीर बन्छ, शरीर प्रकृतिमा विलीन हुन्छ र त्यसका तत्त्व पुनः माटो, जल र वायुमण्डलको प्राकृतिक चक्रमा फर्किन्छन् । यस अर्थमा पिण्ड जीवनको उत्पत्ति, क्षय र पुनर्चक्रणको सांस्कृतिक रूपक बन्न पुग्छ ।
    गरुडपुराणकै गयामाहात्म्यमा भनिएको छ
    “गयायां पिण्डदानेन यत्फलं लभते नरः ।
    न तच्छक्यं मया वक्तुं वर्षकोटिशतैरपि ॥” गरुडपुराण, १ ।८२ ।१९
    यहाँ पिण्डदानको महत्त्व धार्मिक भाषामा व्यक्त गरिएको छ; यसको वैज्ञानिक सत्यापन गर्नु भने अलग विषय हो । यहीँ परम्परा र विज्ञानबीचको संवाद सुरु हुन्छ । विज्ञानले ‘कसरी?’ खोज्छ; संस्कृति ‘किन?’ को अर्थ खोज्छ । त्यसैले पिण्डलाई अन्धविश्वास वा शाब्दिक भौतिकता दुवैमा सीमित नगरी स्मृति, प्रकृति र पुस्तान्तरणको प्रतीकका रूपमा पढ्दा यसको आधुनिक अर्थ अझ गहिरो हुन्छ ।

    तर्पण र जलचक्रको सांस्कृतिक अर्थ
    सोह्र श्राद्धमा जल र तिलको प्रयोग केवल कर्मकाण्डीय परम्परा होइन; यसभित्र जीवन, स्मृति, प्रकृति र पुस्तान्तरणको गहिरो सांस्कृतिक अर्थ गाँसिएको छ । गरुडपुराणले पितृकर्ममा पिण्ड र उदक अर्थात् जलको महत्त्वलाई स्पष्ट रूपमा स्वीकार गरेको पाइन्छ । गयाश्राद्धको प्रसङ्गमा भनिएको छ,
    “श्राद्धं पिण्डोदकं कार्यं मध्ये द्वे कूपयुग्मयोः ।
    कूपोदकेन तत्कार्यं पितृणां दत्तमुत्तमम् ॥” गरुडपुराण, १ ।४८ ।१८–१९
    अर्थात् श्राद्धमा पिण्ड र जल अर्पण गर्ने विधान रहेको र जलमार्फत पितृलाई अर्पण गरिने कर्मलाई महत्त्व दिइएको देखिन्छ । जल स्वयं जीवनको आधार हो । पृथ्वीमा पानी वाष्पीकरण, संघनन, वर्षा, सतही बहाव, भूमिगत पुनर्भरण र पुनः वाष्पीकरण हुँदै निरन्तर चक्रमा घुमिरहेको हुन्छ । मानिसले पिउने पानीदेखि अन्न उत्पादनसम्म र शरीरभित्रको जैविक प्रक्रियादेखि प्रकृतिमा पुनः फर्किने पानीसम्म सबै यही विशाल जलचक्रका अंश हुन् । त्यसैले तर्पणलाई वैज्ञानिक रूपमा मृतकको आत्माले भौतिक जल ग्रहण गर्ने प्रक्रिया भन्नु प्रमाणित दाबी हुँदैन; तर जल अर्पणले जीवनको मूल स्रोतप्रति कृतज्ञता र पूर्वजप्रतिको स्मृतिलाई प्रकृतिसँग जोड्ने सांस्कृतिक प्रतीकका रूपमा अर्थपूर्ण स्थान राख्छ ।
    यसैगरी तिल पनि श्राद्धको महत्त्वपूर्ण सामग्री हो । तिलको सानो बीउभित्र नयाँ जीवनको सम्भावना लुकेको हुन्छ । बीउले एउटा पुस्ताबाट अर्को पुस्तातर्फ जीवनको निरन्तरता बोकेझैँ मानव समाजमा ज्ञान, संस्कार, स्मृति र मूल्य पनि पुस्तान्तरण हुँदै जान्छन् । त्यसैले तिललाई उर्वरता, निरन्तरता र वंशपरम्पराको प्रतीकका रूपमा पढ्न सकिन्छ । यसरी हेर्दा तर्पण केवल जल अर्पण होइन; यो प्रकृति, पूर्वज र वर्तमान पुस्ताबीचको सांस्कृतिक संवाद हो । श्राद्धको वास्तविक वैज्ञानिक तादात्म्यता कुनै अलौकिक दाबीमा होइन, मानिसलाई जीवनचक्र, प्रकृतिको परस्पर निर्भरता र आफ्नै पुस्तागत इतिहासप्रति सचेत गराउने यसको मानवीय अर्थमा खोजिनुपर्छ ।

    श्राद्धको ‘वैज्ञानिक’ पक्ष कहाँ छ?
    यहाँ एउटा सावधानी आवश्यक छ । परम्परालाई आधुनिक विज्ञानसँग जोड्ने नाममा “श्राद्ध गरेपछि पितृको आत्मामा वैज्ञानिक ऊर्जा पुग्छ”, “पिण्डको तरंग मृतकसम्म पुग्छ” वा “विशेष दिनमा ग्रहहरूको विकिरणले पितृलाई खाना प्राप्त हुन्छ” जस्ता दाबीलाई वैज्ञानिक तथ्यका रूपमा प्रस्तुत गर्न सकिँदैन । यस्ता दाबीका लागि विश्वसनीय वैज्ञानिक प्रमाण आवश्यक हुन्छ । तर यसको अर्थ श्राद्धको कुनै वैज्ञानिक वा मनो-सामाजिक अर्थ छैन भन्ने होइन ।
    आधुनिक मनोविज्ञानले ritual अर्थात् अनुष्ठानले शोक व्यवस्थापनमा भूमिका खेल्न सक्ने देखाएको छ । २२ वटा अध्ययनको समीक्षा गरेको एक अध्ययनले शोकसम्बन्धी उपचारमा प्रतीकात्मक संवाद, लेखन, स्मृति, बिदाइ समारोहलगायतका ritual elements प्रयोग भएको र धेरै अध्ययनमा समग्र उपचारपछि शोकसम्बन्धी लक्षणमा सुधार देखिएको उल्लेख गरेको छ । यद्यपि ती सुधारलाई केवल ritual को प्रभाव भनेर अलग्गै प्रमाणित गरिएको छैन । अर्को प्रयोगात्मक अध्ययनले विभिन्न प्रकारका क्षतिपछि गरिएका ritual ले सहभागीको दुःख कम गर्न सहयोग गरेको र नियन्त्रणको अनुभूति (sense of control) त्यस सम्बन्धको एउटा सम्भावित मनोवैज्ञानिक माध्यम भएको देखाएको थियो । यसबाट सोह्र श्राद्धको एउटा महत्त्वपूर्ण आधुनिक अर्थ बुझ्न सकिन्छ अनुष्ठानले मृतकलाई परिवर्तन गर्छ भन्ने प्रमाणभन्दा बढी, जीवित मानिसलाई आफ्नो शोक र स्मृतिसँग सम्बन्ध स्थापित गर्न सहयोग गर्न सक्छ ।

    परिवार र पुस्ताबीचको पुल
    आजको नेपाली समाज तीव्र सामाजिक परिवर्तनको अवस्थामा छ । संयुक्त परिवार टुक्रिँदै छन् । युवापुस्ता शिक्षा, रोजगारी र अवसरका लागि विदेशमा छ । परिवारको भौगोलिक दूरी बढेको छ । यस्तो अवस्थामा सोह्र श्राद्ध परिवारको विगत सम्झिने एउटा अवसर बन्न सक्छ । श्राद्धको दिन परिवारका सदस्य एउटै ठाउँमा भेला हुन्छन् । दिवंगत हजुरबा, हजुरआमा, बुबा, आमा वा अन्य पूर्वजको नाम लिइन्छ । पुराना कथाहरू सम्झिइन्छन् । परिवारको इतिहास सुनाइन्छ । बालबालिकाले आफूभन्दा अघिका पुस्ताबारे सुन्छन् ।
    यही प्रक्रिया intergenerational memory अर्थात् पुस्तान्तरण हुने सामूहिक स्मृतिको आधार बन्न सक्छ । मृतकको फोटो हेर्नु, उनको जीवनबारे कुरा गर्नु, उनीहरूले छोडेका मूल्य सम्झनु र उनीहरूको योगदानलाई सम्मान गर्नु यी सबैले परिवारको पहिचान निर्माणमा भूमिका खेल्न सक्छन् । २०२५ मा प्रकाशित पूर्वी तथा दक्षिणपूर्वी एसियाका mourning rituals सम्बन्धी समीक्षा अध्ययनले परिवारको सहयोग, filial responsibility र deceased सँगको continuing bonds जस्ता पक्षलाई शोकसँग जुध्ने प्रक्रियासँग जोडेको छ । यस दृष्टिले श्राद्ध मृतकसँगको सम्बन्ध समाप्त गर्नेभन्दा सम्बन्धको स्वरूप परिवर्तन गर्ने प्रक्रिया पनि हुन सक्छ ।

    सामाजिक विज्ञानको आँखाबाट श्राद्ध
    श्राद्धलाई समाजशास्त्रीय दृष्टिले हेर्दा यो मृतकप्रतिको धार्मिक कर्मकाण्डभन्दा व्यापक सामाजिक स्मृति र सम्बन्ध पुनर्स्थापनाको संस्कारका रूपमा देखिन्छ । एक व्यक्तिको मृत्यु व्यक्तिगत क्षति भए पनि त्यसको स्मरण परिवार, नातागोता र समुदायसँग जोडिन्छ । गरुडपुराणमा पितृस्मरणलाई केवल पितृवंशमा सीमित नगरी मातृवंश तथा अन्य सम्बन्धित दिवंगतजनसम्म विस्तार गरिएको पाइन्छ
    “ये मे पितृकुले जाताः कुले मातुस्तथैव च ।
    गुरुश्वशुरबन्धूनां ये चान्ये बान्धवा मृताः ॥”, गरुडपुराण, १ ।८५ ।१८
    अर्थात्, आफ्ना पितृकुल र मातृकुलमा जन्मिएका तथा गुरु, श्वशुर र अन्य दिवंगत बान्धवहरूको समेत स्मरण गरिने भाव यहाँ व्यक्त भएको छ । यसले श्राद्धलाई वंश, नातेदारी र सामाजिक सम्बन्धको विस्तृत स्मृति वृत्तका रूपमा बुझ्ने आधार दिन्छ । मानव सभ्यताको इतिहासमा मृत्यु, अन्त्येष्टि र स्मृतिसम्बन्धी संस्कार अत्यन्त पुराना सामाजिक अभ्यास हुन् । यस्ता अनुष्ठानले व्यक्तिको शोकलाई सामूहिक अभिव्यक्तिमा रूपान्तरण गर्दै परिवारलाई भावनात्मक रूपमा जोड्ने र पुस्ताबीच सांस्कृतिक स्मृति हस्तान्तरण गर्ने भूमिका खेल्न सक्छन् । गरुडपुराणले समेत पितृसम्बन्धलाई पुस्तागत निरन्तरतासँग जोड्दै श्राद्धमा पारिवारिक वंशको व्यापक दायरालाई समेटेको देखिन्छ ।
    त्यसैले श्राद्धलाई केवल आस्था वा अन्धविश्वासको द्वैतमा सीमित गर्नु अपूर्ण हुन्छ । यसको धार्मिक आयामसँगै सांस्कृतिक स्मृति, पारिवारिक पहिचान, शोक व्यवस्थापन, नातेदारीको पुनर्स्मरण र पुस्तान्तरणका सामाजिक आयाम पनि छन् । यही बहुआयामिकताले सोह्र श्राद्धलाई अतीत सम्झने मात्र होइन, वर्तमान पुस्तालाई आफ्नो सामाजिक–सांस्कृतिक जरा बुझाउने जीवित परम्परा बनाएको छ ।

    परम्परा र आधुनिकताको संवाद
    आजको पुस्ताले श्राद्धबारे प्रश्न गर्नु स्वाभाविक मात्र होइन, आवश्यक पनि हो । मृतकले पिण्ड वास्तवमै ग्रहण गर्छन्? तर्पणको जल कहाँ पुग्छ? पितृलोकलाई कसरी बुझ्ने? श्राद्ध नगर्दा पितृलाई दुःख हुन्छ भन्ने विश्वासको आधार के हो? यस्ता प्रश्नलाई आस्थाविरुद्धको विद्रोह ठान्नु हुँदैन । प्रश्नले परम्परालाई कमजोर बनाउँदैन; बरु त्यसको अर्थ, सीमा र प्रयोजन बुझ्ने अवसर दिन्छ । प्रश्नविहीन परम्परा जड बन्न सक्छ, तर प्रश्नसँग संवाद गर्ने परम्परा समयसँगै पुनर्जीवित हुन सक्छ । यहाँ आस्था र विज्ञानको कार्यक्षेत्र छुट्याउनु आवश्यक हुन्छ । धर्मग्रन्थले धार्मिक विश्वास, नैतिकता र सांस्कृतिक अर्थ प्रदान गर्छन्; विज्ञानले भौतिक संसारसम्बन्धी दाबीलाई प्रमाण, परीक्षण र पुनरावृत्तिको आधारमा जाँच गर्छ । त्यसैले पितृलोक, आत्मा वा पिण्ड मृतकसम्म पुग्ने विषयलाई वैज्ञानिक तथ्यका रूपमा प्रस्तुत गर्न प्रमाण आवश्यक हुन्छ । त्यस्तै, वैज्ञानिक परीक्षणबाट प्रमाणित हुन नसकेको कुनै धार्मिक विश्वासलाई त्यसकै आधारमा सम्पूर्ण सांस्कृतिक परम्परा निरर्थक घोषणा गर्नु पनि तर्कसंगत हुँदैन ।

    त्यसैले श्राद्धको आधुनिक पुनर्पाठ आवश्यक छ परम्परालाई न अन्धरूपमा स्वीकार्ने, न प्रश्न उठेकै कारण अस्वीकार गर्ने । यसको अर्थ, के राख्ने र के सुधार्ने भन्ने विवेकपूर्ण बहस गर्नु हो । यदि श्राद्ध सामाजिक दबाब, अनावश्यक खर्च, प्रदर्शन वा आर्थिक बोझमा परिणत हुन्छ भने सुधारको ठाउँ छ । तर यसले परिवारलाई जोड्छ, पुर्खाको स्मृति पुस्तान्तरण गर्छ, शोकलाई अभिव्यक्त गर्ने अवसर दिन्छ र कृतज्ञता तथा परोपकारको भावना जगाउँछ भने त्यसका मानवीय र सामाजिक आयामलाई पनि सम्मान गर्नुपर्छ । परम्पराको शक्ति त्यसले विगतलाई जस्ताको तस्तै दोहोर्‍याउनमा होइन, बदलिँदो समयसँग संवाद गर्दै आफ्नो अर्थलाई पुनःजीवित गर्न सक्नुमा हुन्छ ।

    पितृस्मरणबाट सामाजिक उत्तरदायित्वतर्फ
    पितृस्मरण मूलतः अघिल्लो पुस्ताप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्ने धार्मिक एवंसांस्कृतिक परम्परा हो । तर बदलिँदो सामाजिक परिवेशमा यसको अर्थलाई सामाजिक उत्तरदायित्वसँग पनि जोडेर हेर्न सकिने सम्भावना छ । यसको अर्थ परम्परागत श्राद्धविधिलाई विस्थापित गर्नु वा त्यसलाई आधुनिक सामाजिक सेवामा रूपान्तरण गर्नु होइन; बरु श्राद्धमा निहित दान, कृतज्ञता र परोपकारका भावलाई समकालीन जीवनसँग संवाद गराउनु हो ।

    “दानधर्मात्परो धर्मो भूतानां न हि विद्यते ।”

    यस श्लोकलाई आधुनिक सामाजिक सेवाको प्रत्यक्ष निर्देशका रूपमा लिनु उचित हुँदैन । तर यसले दान र परहितलाई धार्मिक नैतिकताको एउटा महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरेको देखिन्छ । यही व्यापक भावका आधारमा, पितृस्मृतिमा वृक्षरोपण, छात्रवृत्ति, पुस्तकालय, स्वास्थ्य सहयोग, वृद्धसेवा वा विपन्नलाई भोजनजस्ता स्वैच्छिक काम गर्नु श्राद्धको भावनालाई समकालीन सामाजिक सन्दर्भमा अभिव्यक्त गर्ने एउटा सम्भावित माध्यम हुन सक्छ ।

    अर्कोतर्फ, श्राद्धसँग जोडिएका सबै खर्च वा परम्परागत अभ्यासलाई सामाजिक दृष्टिले अनुचित ठहर गर्नु पनि उचित हुँदैन । परिवार, समुदाय र धार्मिक परम्पराअनुसार श्राद्धका विधि र प्राथमिकता फरक हुन्छन् । समस्या त्यतिबेला देखिन सक्छ, जब श्रद्धाभन्दा प्रदर्शन, सामर्थ्यभन्दा बढी खर्च वा सामाजिक दबाब प्रमुख बन्न पुग्छ । त्यसैले पितृस्मरणको आधुनिक अर्थ एउटै निष्कर्षमा सीमित गर्नु आवश्यक छैन । कसैका लागि यो धार्मिक कर्तव्य हो, कसैका लागि पारिवारिक स्मृतिको अवसर, र कसैका लागि सेवा तथा परोपकारको प्रेरणा । महत्त्वपूर्ण प्रश्न भने एउटै रहन्छ पुर्खाको स्मृतिलाई हामी आजको जीवनमा कसरी अर्थपूर्ण बनाउँछौँ?

    अबको श्राद्ध : स्मृतिबाट अर्थतर्फ
    सोह्र श्राद्ध हरेक वर्ष आउँछ र जान्छ । नदी बगिरहन्छ, ऋतु फेरिन्छ, पुस्ता बदलिन्छ । तर मानिसको एउटा आवश्यकता बदलिँदैन आफूभन्दा अघि बाँचेका मानिसलाई सम्झने र आफू कहाँबाट आएको हो भन्ने जान्ने आवश्यकता । त्यसैले सोह्र श्राद्धलाई केवल पिण्ड, तर्पण र कर्मकाण्डको सीमामा बाँधेर राख्नु यसको गहिरो सांस्कृतिक अर्थलाई साँघुरो बनाउनु हो । यो एउटा collective memory system पनि हो; एउटा family archive पनि हो; शोकलाई अर्थ दिने एउटा ritual framework पनि हो; र पुस्ताबीचको सम्बन्धलाई जीवित राख्ने एउटा सांस्कृतिक पुल पनि हो ।
    पौराणिक परम्पराले यसलाई पितृऋण चुक्ता गर्ने माध्यमका रूपमा बुझायो । धर्मशास्त्रले यसलाई पितृयज्ञसँग जोड्यो । पुराणहरूले पिण्डदान र तर्पणको महत्त्व विस्तार गरे । आधुनिक मनोविज्ञानले ritual, स्मृति, सामाजिक समर्थन र शोकबीचको सम्बन्ध अध्ययन गर्न थालेको छ । यी सबैलाई एउटै वैज्ञानिक सूत्रमा बाँध्न सम्भव छैन । तर यिनको बीचमा एउटा साझा मानवीय सत्य अवश्य भेटिन्छ, मानिस आफ्नो वर्तमान मात्र होइन; ऊ आफ्नो अतीतको निरन्तरता पनि हो ।
    सायद सोह्र श्राद्धको सबैभन्दा ठूलो वैज्ञानिक तादात्म्यता यही हो, यसले हामीलाई मृत्युबाट अमरत्वको भ्रम होइन, निरन्तरताको बोध दिन्छ । पितृहरू आज भौतिक रूपमा हाम्रो अगाडि छैनन्; तर उनीहरूले दिएको जीवन, भाषा, संस्कार, स्मृति, श्रम र मूल्य हाम्रो वर्तमानमा उपस्थित छन् । त्यसैले पितृलाई सम्झनु अन्ततः विगतलाई पूजा गर्नु मात्र होइन, विगतबाट प्राप्त जीवनप्रति कृतज्ञ हुनु र भविष्यप्रति जिम्मेवार बन्नु हो । अन्ततः श्राद्धको पिण्ड माटोमा मिसिन्छ, तर्पणको जल नदीमा बग्छ, फूल ओइलाउँछ र धूपको धुवाँ आकाशमा हराउँछ । तर यदि त्यो क्षणले एउटा सन्तानलाई आफ्ना आमाबुबा सम्झन सिकायो, एउटा परिवारलाई आफ्नो इतिहास सुनायो, एउटा पुस्तालाई अर्को पुस्तासँग जोड्यो र एउटा जीवित मानिसलाई आफू पनि कुनै दिन स्मृतिमा रूपान्तरण हुने सत्य स्वीकार्न सिकायो भने त्यहीँबाट सोह्र श्राद्ध कर्मकाण्डभन्दा माथि उठेर मानव सभ्यताको स्मृति संस्कार बन्न पुग्छ ।

    बुधबार, असोज १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer