काठमाडौं । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय भूगोल विभागले शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिलाई थप सुदृढ बनाउने उद्देश्यसहित रिमोट सेन्सिङ तथा भौगोलिक सूचना प्रणाली (Remote Sensing & Geographical Information System RS & GIS) केन्द्रको उद्घाटन, The Geographical Journal of Nepal, Vol. 19, 2026 को विमोचन तथा सम्मान–पुरस्कार कार्यक्रम सम्पन्न गरेको छ । विभागको नयाँ भवन, कीर्तिपुरमा ८ अक्टोबर २०२६ (२२ असोज २०८३) मा आयोजित कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, विभागीय शिक्षक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विभागीय प्रमुख प्रा. डा. उमेश कुमार मण्डलको अध्यक्षतामा गर्नु भएको थियो भने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो साथै मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा. डा. दुबीनन्द ढकाल, विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा. डा. अक्कल देव मिश्र, अंग्रेजीकेन्द्रीय विभागका पूर्व विभागीय प्रमूख जीवलाल सापकोटा, संस्कृति केन्द्रीय विभागका विभागीय प्रमूख महेश आचार्य लगायतको उपस्थिति रहेको थियो भने सहप्राध्यापक शेर बहादुर गुरुङको कार्यक्रम संचालन गर्नु भएको थियो।

कार्यक्रममा रिमोट सेन्सिङ तथा भौगोलिक सूचना प्रणाली केन्द्रको औपचारिक उद्घाटन गरिएको थियो। आधुनिक भूगोलमा रिमोट सेन्सिङ, जिआइएस, भू-स्थानिक तथ्याङ्क विश्लेषण तथा भू–स्थानिक प्रविधिको प्रयोग अनुसन्धान, शिक्षण र नीति निर्माणका लागि महत्वपूर्ण बन्दै गएको सन्दर्भमा विभागमा स्थापित यस केन्द्रलाई भूगोल शिक्षालाई प्रविधिमैत्री तथा अनुसन्धानमुखी बनाउने महत्वपूर्ण पूर्वाधारका रूपमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विभागीय प्रमुख प्रा. डा. उमेश कुमार मण्डलले विभागीय गतिविधिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणमा विभागका शैक्षिक, अनुसन्धानात्मक तथा संस्थागत गतिविधिका साथै बदलिँदो भूगोल शिक्षामा प्रविधि र अनुसन्धानको भूमिकालाई समेटिएको थियो । यसले विभागलाई समकालीन भौगोलिक अनुसन्धानका नयाँ विधि, प्रविधि र अनुसन्धान पूर्वाधारसँग जोड्ने प्रयासलाई प्रतिबिम्बित गरेको छ ।
त्यसैगरी कार्यक्रममा विदाई तथा सम्मान कार्यक्रमअन्तर्गत सह प्रा. डा. छविलाल चिदीलाई बिदाइ तथा सम्मान गरिएको थियो । विश्वविद्यालय तथा भूगोल शिक्षामा उहाँहरूले पुर्याउनुभएको योगदानको कदरस्वरूप सम्मान प्रदान प्रदान गरिएको हो। कार्यक्रममा स्नातकोत्तर तहमा सर्बोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई श्री सूर्यलाल अमात्य स्मृति पुरस्कारसमेत वितरण गरिएको थियो । पुरस्कारका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा रहनुभएको थियो ।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा The Geographical Journal of Nepal, Volume 19, 2026 को औपचारिक विमोचन गरिएको थियो । विभागबाट प्रकाशित उक्त जर्नलले समकालीन भौगोलिक अध्ययन, अनुसन्धान र स्थानिक विश्लेषणका विभिन्न आयामलाई शैक्षिक विमर्शमा ल्याउने उद्देश्य राखेको छ । अनुसन्धानमा आधारित जर्नल प्रकाशनलाई निरन्तरता दिनुले नेपाली भूगोलमा अनुसन्धानको गुणस्तर, ज्ञान उत्पादन र अन्तर्राष्ट्रिय शैक्षिक संवादलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले भूगोल विषय अब परम्परागत नक्साङ्कन र क्षेत्रीय अध्ययनमा मात्र सीमित नरही जिआइएस, रिमोट सेन्सिङ, भू–स्थानिक तथ्याङ्क, वातावरणीय विश्लेषण, विपद् अध्ययन, शहरीकरण तथा क्षेत्रीय योजनाजस्ता आधुनिक अनुसन्धान क्षेत्रसँग गहिरोसँग जोडिँदै गएको उल्लेख गर्नुभएको थियो । यस सन्दर्भमा विभागमा स्थापना भएको RS & GIS केन्द्रले विद्यार्थी तथा अनुसन्धानकर्तालाई व्यावहारिक अनुसन्धान, स्थानिक तथ्याङ्क विश्लेषण र आधुनिक भू–स्थानिक प्रविधिको प्रयोगमा तथा राज्यको उद्देश्य अनुरुप नीति निर्माणमा महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
समग्रमा, RS & GIS केन्द्रको उद्घाटन, Geographical Journal of Nepal को नयाँ अंक विमोचन, प्राज्ञिक व्यक्तित्वहरूको सम्मान तथा Geomorphology Lab को उद्घाटन एकैसाथ सम्पन्न हुनु त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागको शैक्षिक तथा अनुसन्धानात्मक विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा देखिएको छ । विशेषतः भू स्थानिक प्रविधि, अनुसन्धान पूर्वाधार र प्रकाशन संस्कृतिको संस्थागत विकासले नेपाली भूगोललाई आधुनिक, अनुसन्धानमुखी र प्रविधि आधारित दिशातर्फ अघि बढाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

त्यसपछि Geomorphology Lab को उद्घाटन तथा प्राकृतिक प्रयोगशाला (माटो, पानी र वनस्पति) र Geomorphology Lab को अवलोकन कार्यक्रम राखिएको थियो । यसले विभागले भूगोल शिक्षामा प्रयोगात्मक तथा प्रयोगशाला आधारित अध्ययनलाई समेत प्राथमिकता दिइरहेको संकेत गर्दछ । कार्यक्रमको अन्त्यमा विभागीय प्रमुख एवं कार्यक्रमका अध्यक्षबाट धन्यवाद ज्ञापन तथा सभा समापन गरिएको थियो ।



