म टि.यू. को बिद्यार्थी, सधै जस्तो बालाजुबाट नियमीत किर्तिपुर जादै थिए । खसी बजार पुलमा पुग्नै लाग्दा फोन आयो र उठाउन स्कुटर छेउमा लगाए । मैले रोक्न नभ्याउदै पारीपट्टीबाट ट्राफिकले सिठ्ठी बजाए । बिहानै थियो सवारी चाप निक्कै कम थियो । मलाई हो वा अरुलाई, म अलमल्ल परे र यताउता हेरे । अरु सवारी थिएन । एक हातले तुर्र-तुर्र फेरिबजाए र अर्को हात बेस्सरी झड्काले । ईशाराबाट नै बुझिन्थ्यो कि, “उता-उता किन रोकेको” भन्ने…,। मैले फोन उठाए, छोटो कुरा गरे र फोन काटे । अब यिनको कुरा बुझ्नु पर्यो भनेर सवारी राम्रैसंग रोके र तिनलाई बोलाए । बडो फुर्तिसाथ कड्किएर फलाक्दै वारी आए, “जहां पायो तेहि रोक्ने, बाउको घर हो कि, ससुराली हो…” निक्कै फलाक्दै थिए। मैले सोचे नरम बोल्छु, यिनको रिस केहि शान्त होला कि । नजिकै आएपछी मैले बिस्तारै सोधे, “के भयो र सर”। “तपाईको मनलाग्दी हुन्छ, जां पायो रोक्ने, के ? हेपेको हामीलाई…” उनी बोलुन्जेल चुप्प लागे। मलाई झम्टदै हत्त-पत्त स्कुटरको सांचो थुते र पकेटमा राखे, मानिलिउ मैले ठुलै गल्ति गरेको जस्तो, र भन्दै थिए, “लाईसेन्स लाईसन्स, कागजपत्र खै कागजपत्र ”, भन्दै पछाडी पकेटबाट डटपेन र रसीद निकाले । मैले बिस्तारै बोले, “सर, फोन आउदा सवारी साईडमा रोकेर उठाउनु पर्ने होईन र “!
“तिमीहरुको मनलाग्दी जैले जां रोक्ने”, निरन्तर पट्किएकै थिए। सर किन यसरी बिहानै रिसाउनु हुन्छ, मैले भने। “के रे के रे अझै, अझै साधु बन्ने”, उनले भने । मैले फेरी सोधे सर के गल्ती भयो मेरो । मुखै नहेरी जवाफ दिए, “तिमीहरु पठाउवालाहरु, सहरका सांडे जस्ता भएका छौं, तिमीहरुलाई नियम कानुन केही मान्नु पर्दैन, जां जतिवेला रोको, मान्छे बोको कुदो, ससुरालीको आगन जस्तो हैन तिमीहरुलाई”उनले भने । बल्ल कुरा बुझे । उनले मलाई पठाउ भन्ठानेछन्। मैले भने “सर, म पठाउ हैन नी” । उनको पारो अलिक घट्यो । मैले परिचय दिए, परिचय पत्र देखाए, बल्ल पत्याए उनले । डटपेन र चिट पुरानै ठाउमा राखे, ल सांचो, भन्दै सांचो दिय र पारी लागे। म स्कुटर लिएर टि.यु. लागे ।
बाटामा यसो सोचे, साच्चै पठाउवालाहरुलाई यसरी नै गाली गर्नु पर्ने, झम्टिनु पर्ने नै हो त, यि पनि त हाम्रै दाजु-भाई, दिदी-बहीनी हुन नी, आकासबाट आएका होईनन, बिदेशबाट आएका होईनन । दुःख त आफ्ना आफ्ना होलान नि, छोरालाई कापी कलम किन्न, सुत्केरी जहानको स्याहार गर्न, बुढा बा-आमाको औषधी खर्च जोहो गर्न, आफ्नै कलेजको फि तिर्न, फांटेको गोल्डस्टार फेर्न, सांझ घरमा सबैको अनुहार हसिलो हेर्न, रहरले कसले दुख गरेको होला र । बिचरा कत्ती ठुलो जिम्मेवारी होला, कत्ती ठुलो होला पिरको भारी । यि कसैका बा होलान कसैका आमा होलान कसैका दाई/भाई होलान कसैका दिदी बहिनी होलान । यिनलाई हाम्रो समाजले हेर्ने धारणा किन फरक बनाउन सकेन, किन यिनीहरुको पसिनाको समाजले आदर गर्न जानेन । आफ्नो अमुल्य समय हामीलाई दिएकै छन, छिट्टो ठाउमा लगेकै छन, सस्तो भाडा लिएकै छन, घर घरमा दैला दैलामा छोड्न भ्याएकै छन । यि सबै गुण बिर्सेर श्रम गर्नेहरुलाई हेप्नै पर्ने हो र । ति तमाम पठाउहरुलाई सम्झे र माफी माग्दै भने, ” माफ गर, साथीहरु हामी यस्तै छौं”।




