• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वार्षिक राशिफल: २०८३


  •   मङ्गलबार, बैशाख ०१, २०८३ मा प्रकाशित
  • वार्षिक राशिफल: २०८३ सालको वार्षिक राशिफल
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    वर्षारम्भ आसलाग्दो देखिए पनि बीचमा केही कठिनाइ र उतारचढाव देखापर्नेछन्। मध्यान्तरपछि कर्मयोगले उचाइ लिनुका साथै नयाँ उपलब्धि प्राप्त गर्न सफल भइनेछ। तर त्यो उपलब्धि जोगाउन वर्षको अन्त्यमा निकै सावधान र क्रियाशील रहनुपर्ने देखिन्छ। २०८३ सालमा बृहस्पतिको गोचरलाई सूक्ष्म विश्लेषण गर्दा यो वर्ष मेष राशिवाला व्यक्तिहरूको दैनिकीमा यस्ता तीन घुम्ती आउन सक्छन्। सुरुमा नियमित काम बन्नुका साथै जिम्मेवारी पूरा गर्न सकिनेछ। पेसा–व्यवसायमा आंशिक लाभ हुनेछ। पहिलो घुम्ती– जेठ १८ गतेदेखि पाँच महिनासम्म रहनेछ। यस चरणमा घर–परिवारमा समस्या आउने र साझेदारी तथा संयुक्त आधारशिला विखण्डित हुने सम्भावना छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। सत्यको पक्षमा उभिँदा विरोध सामना गर्नुपर्नेछ र अन्तर्घातले आफ्ना उपलब्धि जोगाउन मुश्किल पर्नेछ। दोस्रो घुम्ती– कार्तिक १२ गतेदेखि तीन महिनासम्म रहनेछ। यस अवधिमा धेरै समस्या सुल्झनुका साथै नयाँ अवसर प्राप्त हुनेछन्। पढाइलेखाइमा प्रगतिका साथ राम्रो नतिजा हासिल गर्न सकिनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानप्राप्ति हुने बलियो सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। अर्थोपार्जनका नयाँ स्रोत फेलापर्नेछन्। नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। र, तेस्रो घुम्ती अर्थात् माघ १२ पछिको समयमा पहिलेका समस्या दोहोरिन सक्छन्। आफन्तमा वैरभाव बढ्ने र विद्यमान स्थितिमा उतारचढाव आउने सम्भावना देखिन्छ। यसर्थ यसअघिका उपलब्धि जोगाउन निकै चनाखो रहनुपर्नेछ। वर्षभरि खर्चभावमा शनिको उपस्थितिले खर्चिला काम गर्न बाध्य भइनेछ। यसर्थ यो वर्ष लगानीमा अधिक धन अड्किने, आयस्रोत खुम्चिने, काम रोकिने, कर्जा बढ्ने र अर्थ अभावले व्यवसाय प्रभावित बन्ने सम्भावना छ। शनिको आद्य साढेसाती भएकाले जन्मसमयमा प्रतिकूल शनि हुनेहरूलाई स्वास्थ्यमा बाधा, काममा ढिलासुस्ती तथा रोकावट, आफन्तमा वैरभाव, झूटा आरोप, व्यापार घाटा, यात्रामा कष्ट जस्ता समस्या आउन सक्छन्। वर्षको अधिकांश समय मंगल प्रतिकूल अवस्थामा रहने हुँदा स्वास्थ्यमा चोटपटक, मौसमी बाधा र पित्तदोषका समस्याहरू आउन सक्छन्। राहुको प्रभावले मंसिरको पूर्वार्धसम्म आकस्मिक लाभ भइरहने हुँदा आर्थिक गतिविधिमा राम्रै सन्तुलन कायम रहनेछ। पुराना वस्तु किनबेच र सट्टापट्टामा लाभ हुनेछ। पछिल्लो समयमा भने कर्मक्षेत्रमा केही चुनौती आउन सक्छन् र अर्थ व्यवस्था कमजोर बन्ने देखिन्छ। केतुको प्रभावले सुरुमा पशुपालनमा क्षति हुने र पछिल्लो समयमा स्वास्थ्य र अध्ययनमा कमजोरीको आभास हुनेछ। समग्रमा यो वर्ष पेसातर्फ ठूलो आर्थिक उपलब्धि नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार तथा सेयरमा भविष्यका लागि लगानी गर्ने समय छ। कृषि तथा पशुपालनतर्फ वर्षको उत्तरार्ध फलदायी रहनेछ। उद्योगधन्दा गर्नेहरूका लागि वर्षको बीचमा विशेष उपलब्धि प्राप्त हुनेछ। विद्यार्थीहरूका लागि लक्ष्य प्राप्त गर्न अधिक मेहनत गर्नुपर्ने समय छ। विदेश ताक्नेहरूलाई वर्षको उत्तरार्ध शुभफलदायी रहनेछ। सौरमास अनुसार वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्य र आर्थिक उपलब्धिका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ। प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मनको उद्वेग शान्त हुनेछ र सम्भावित समस्या पनि टर्नेछन्। मंगल र बृहस्पतिका प्रतिकूल प्रभावबाट मुक्त हुन र शुभफल प्राप्त गर्न क्रमशः श्रीगणेश र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला। शनिको साढेसाती प्रभावबाट मुक्त रहन शनिवार पीपलको पूजा गरी जल चढाउनुहोला। काली भगवती, हनुमानजी र आफ्ना इष्टदेवको पूजा–आराधना गर्नाले पनि शनिदोष शान्त हुनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    वृष राशिलाई नयाँ वर्ष उपलब्धिमूलक र फलदायी रहनेछ। सुरुमा सजिलै काम बन्नेछन्। बीचमा मिहिनेतले उपलब्धि दिलाउनेछ। र मध्यान्तरपछि केही उतारचढाव र संघर्षपछि काम सम्पादन हुने ग्रहयोग छ। बृहस्पतिको प्रभाव अध्ययन गर्दा २०८३ सालमा वृष राशिवाला व्यक्तिको दैनिकीमा तीनपटक यस्ता उतारचढाव आउनेछन्। सुरुमा पेसा–व्यवसायमा प्रशस्तै फाइदा हुनेछ। मनग्य धनलाभ र विद्यामा प्रगति हुनेछ। लेखन र अभिव्यक्तिको माध्यमले उचाइमा पुग्न सफल भइनेछ। नातागोतामा निकटता बढ्नुका साथै कुटुम्ब वृद्धि हुने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। जेठ १८ गतेदेखि पाँच महिनासम्म कामको चाप र जिम्मेवारीले व्यस्त बनाउनेछ। नोकरीमा सरुवा र व्यवसायको स्थानान्तरण हुन सक्छ। नयाँ काम थालनी हुनेछ तर स्रोत–साधन र सहयोगीको अभाव खड्किनेछ र कडा परिश्रम गर्नुपर्ने देखिन्छ। लगानीमा सञ्चित रकम खर्च हुनेछ। दाजुभाइ र दिदीबहिनीमा आत्मीयता बढ्नेछ। कार्तिक १२ गतेदेखि तीन महिनासम्म देवगुरुको प्रभावले आफन्तमा मतभेद, घर–परिवारमा असमझदारी बढ्नाले काममा बाधा हुनेछ। अशान्त मनले गलत निर्णय गराउन सक्छ। निर्णायक क्षमता कमजोर हुनेछ। साझेदारी तथा संयुक्त आधारशिला विखण्डित हुनुका साथै सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। सुख–सुविधाको चाहनाले खर्च निम्त्याउन सक्छ। माघ १२ गतेपछि पुनः स्थिति अनुकूल हुनेछ। र, पहिले जस्तै नियमित काम बन्नेछन्। लगानी र मिहिनेत भने अलि धेरै गर्नुपर्नेछ, राम्रै उपलब्धि हातपार्न सफल भइनेछ। वर्षभरि शनि लाभस्थानमा रहने हुँदा प्रशस्त आयआर्जन हुनेछ। शनिको प्रभावले आम्दानीका स्रोतहरू बढ्नेछन् भने भौतिक सुख–सुविधा पनि थपिनेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त भइरहनेछ। व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट मनग्य फाइदा हुनेछ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ। यो वर्ष तपाईंको आर्थिक स्थितिमा सुधार आउने प्रबल सम्भावना छ। मंसिरको पूर्वार्धसम्म राहुको प्रभावले कार्यक्षेत्रमा समस्या भइरहनेछ। अभिभावक र अधिकारीवर्गसँग मतभेद हुनुका साथै सामाजिक काममा विरोधीहरूको दबाब आउन सक्छ। उपरान्त धर्मकर्म र तीर्थाटनमा केही बाधा हुन सक्छ। केतुको प्रभावले सुरुमा घरेलु समस्या उपस्थित हुनेछन् भने मंसिरपछि उद्योग र व्यापारमा लाभ हुनेछ। जेठदेखि भदौसम्म मंगलको प्रभावले फजुल खर्च, चोटपटक, वादविवाद र स्वास्थ्यबाधा जस्ता समस्या आउन सक्छन्। सामान्य उतारचढाव आए पनि समग्रमा वृष राशिका लागि २०८३ साल निकै उत्साहजनक र महत्त्वपूर्ण उपलब्धिहरूको वर्ष रहनेछ। विद्यार्थीहरूका लागि अध्ययन, लेखन र व्यक्तित्व विकासमा प्रगतिकारक रहनेछ। श्रमिक वर्गलाई नोकरी तथा रोजगारीमा फलदायी रहनेछ। उद्योग र व्यापारमा लाभदायक रहनेछ। सामाजिक तथा राजनीतिक गतिविधिमा पनि वर्षको उत्तरार्ध फलदायी रहनेछ। आफ्नो क्षेत्रमा विशेष उपलब्धि प्राप्त हुने सम्भावना देखिएकाले वर्षभरि मिहिनेत गर्नुहोला। सूर्यको गोचरका आधारमा वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्य र आर्थिक उपलब्धिका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ। प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मनको उद्वेग शान्त हुनेछ र सम्भावित समस्या पनि टर्नेछन्। मंगल र बृहस्पतिका प्रतिकूल प्रभावबाट मुक्त हुन र शुभफल प्राप्त गर्न क्रमशः श्रीगणेश र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला। राहुको दोष शान्त पार्न वटुक भैरव र छिन्नमस्ता भगवतीको पूजा आराधना गर्नुहोला।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    मिथुन राशिलाई नयाँ वर्ष उपलब्धिमूलक र फलदायी रहनेछ। सुरुको प्रयत्नले अवसर दिलाउनेछ। बीचमा उचाइको मार्ग समाउन सफल भइनेछ। मध्यान्तरपछि केही उतारचढावका शृंखला पार गर्दै अन्त्यमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। देवगुरु बृहस्पतिको प्रभावले २०८३ सालमा मिथुन राशिवाला व्यक्तिको दैनिकीमा तीन तहका परिवर्तन देख्न सकिनेछ। प्रारम्भमा कामको चाप र जिम्मेवारी बढ्नेछ भने दबाब पनि आउनेछ। स्वाभिमानको चुनौतीपूर्ण परीक्षामा उत्रनुपर्नेछ। जेठ १९ गतेदेखि समयले कोल्टे फेर्नेछ र स्थिति अनुकूल बन्नेछ। काम बन्नाले धनआर्जनका मार्ग प्रशस्त हुनेछन्। गहिरो अध्ययनले लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। मिहिनेतले कर्ममा प्रवेश गराउनेछ। स्थापित पेसा–व्यवसायमा थप प्रगति हुनेछ। धन र मान बढ्नेछ। घरमा मांगलिक कार्य सम्पादन हुनेछ। शुभचिन्तक र कुटुम्बहरू बढ्नेछन्। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै गृहस्थी जीवन सुखद हुनेछ। कात्तिक १२ गतेदेखि तीन महिना देवगुरु उद्योगभावमा जाने हुँदा व्यवहार केही असन्तुलित बन्नेछ भने विद्यमान स्थितिमा उतारचढाव, नोकरीमा सरुवा तथा बसाइसराइको परिस्थिति सिर्जना हुन सक्छ। अध्ययन तथा रोजगारीका सन्दर्भमा विदेश जाने साइत जुर्न सक्छ। सुख–सुविधाको चाहनाले खर्च गराउन सक्छ, बजेट सन्तुलित मात्रामा उपयोग गर्नुहोला। माघ १२ गतेपछि पुनः स्थिति अनुकूल हुनेछ। रोकिएको धन प्राप्त हुनेछ। नयाँ काम थाल्न सकिनेछ। मिहिनेत र लगानीमा कन्जुस्याइँ नगर्नुहोला। पहिले जस्तै नियमित काम बन्नेछन् र सोचेजस्तै उपलब्धि पाइनेछ। प्रतियोगितामा सफल भइने समय छ। वर्षभरि शनि कर्मस्थानमा रहने हुँदा मिहिनेत र परिश्रम धेरै गर्नुपर्ने समय छ। नेतृत्व र जिम्मेवारीमा चुनौती आउन सक्छ। दबाबले मानसिक तनाव र श्रमले शारीरिक थकानको अनुभूति हुनेछ। तर समय लागे पनि काम बन्नेछ र सुख–सुविधा थपिनेछ। कृषिकर्म, समाजसेवा, नोकरी तथा ठेक्कापट्टा सम्बन्धी व्यवसायमा विशेष फाइदा हुनेछ। यन्त्र, उपकरण र सवारीसाधन प्राप्त हुने सम्भावना छ। नोकरीमा प्रवेश, पदोन्नति हुनेछ। कर्मक्षेत्रमा विशेष उपलब्धि प्राप्त हुने सम्भावना देखिएकाले वर्षभरि मिहिनेत गर्नुहोला। मंसिरको पूर्वार्धसम्म राहु र केतु दुवै अनुकूल देखिए पनि पछिल्लो समय स्वास्थ्य र धनमा बाधक बन्ने सम्भावना छ। राहुको प्रभावले चोटपटक तथा कब्जियत सम्बन्धी समस्या आउनेछ। शुद्ध आहार, विहार र व्यायाममा ध्यान दिँदा लाभ हुनेछ। केतुको प्रभावले अधिक धन खर्च र सञ्चितिमा बाधा हुन सक्छ, सजग रहनुहोला। असारदेखि कार्तिकसम्म मंगलको प्रभावले फजुल खर्च, चोटपटक, वादविवाद र स्वास्थ्यबाधा जस्ता समस्या आउन सक्छन्। सामान्य उतारचढाव आए पनि समग्रमा मिथुन राशिका लागि २०८३ साल निकै उत्साहजनक र महत्त्वपूर्ण उपलब्धिहरूको वर्ष रहनेछ। चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्षम भइनेछ। जिम्मेवारीले थप परिपक्व बनाउनेछ। धैर्य, अनुशासन र लगनशीलताले सफलताको उचाइ प्राप्त गर्न सकिनेछ। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा फाइदा भइरहनेछ। तुलनात्मक रूपमा जेठ, असार, असोज र माघ महिना अलि कष्टदायक रहनेछन् भने वैशाख, भदौ, मंसिर र चैत महिनामा बढी फाइदा हुनेछ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई नयाँ वर्षको प्रारम्भमा अभावको वास्तविकतासँग संघर्ष हुनेछ। बीचमा सुधार एवं आत्मोन्नतिका अवसर प्राप्त हुनेछन् र मध्यान्तरपछि उचाइको मार्ग अवलम्बन गर्न सफल भइनेछ। अन्त्यमा उपलब्धि जोगाउन संयमित व्यवहार र मिहिनेतको खाँचो पर्नेछ। देवगुरु बृहस्पतिको प्रभावले २०८३ सालमा कर्कट राशिवाला व्यक्तिको दैनिकीमा तीन तहका उतारचढाव देख्न सकिनेछ। यो वर्ष अभावको नियतिले संघर्षको मैदानमा अवतरण गराउन सक्छ। सुरुमा खर्च धान्न कर्जा र अवसर खोज्ने अव्यक्त स्वर जेठको तेस्रो सातादेखि चेतना र अधिकारको आवाज बन्नेछ। अभावका दुःख चुपचाप सहनुुभन्दा मनमा संघर्षले आफ्नो हक खोज्ने दृढता जाग्नेछ। पहिले आफ्नासँग र पछि समाजसँग भिडेर भोगाधिकार र स्वाभिमानको संरक्षण गर्न पनि सफल भइनेछ। अरूको पञ्जाबाट आफ्नो अधिकारको स्वामित्व फिर्ता लिने समय छ। तर कामको चाप र जिम्मेवारी भने बढ्नेछ। परिस्थितिले अस्थिर मनोभावलाई एकाग्र बनाउनुका साथै उचाइको मार्गमा धकेल्नेछ। र, आत्मोन्नतिको बाटो समाउन सफल भइनेछ। कार्तिकको दोस्रो सातापछि तीन महिनासम्म लगानीको प्रतिफल हातलागी हुनेछ। आयआर्जनका मार्ग प्रशस्त हुनेछन्। अध्ययन, लेखन र अभिव्यक्तिका माध्यमबाट विशेष उपलब्धि हातपार्ने समय छ। नोकरीमा प्रवेश, पदोन्नति र सम्मानित स्थान प्राप्त हुने सम्भावना छ। स्थापित पेसा–व्यवसायले पनि प्रगतिको उचाइमा पुर्याउनेछ। आर्थिक व्यवस्था सबल बन्नेछ। प्रेम र मित्रताको बन्धनले नयाँ आशा जगाउनेछ। वर्षको अन्त्यमा पहिलेको समस्या दोहोरिनाले चुनौती आउन सक्छ। अरूको दबाबले अडानको पाइला धरमराउन सक्छ, सावधान रहनुहोला। वर्षभरि शनिदेव भाग्यस्थानमा रहने हुँदा भाग्यरेखा कोर्न केही समय लाग्नेछ। सामाजिक उल्झन र ढिलासुस्ती गर्ने प्रवृत्तिले काममा बढी समय लाग्नेछ। धर्मकर्म, समाजसेवा र उच्चशिक्षामा केही रोकावट आउन सक्छ। राहु र केतु समेत प्रतिकूल देखिएकाले स्वास्थ्यमा बाधा, अधिक खर्च र चिन्ताका रेखाहरू प्रगाढ हुने सम्भावना छ। यसले समय–समयमा व्यवहार असन्तुलित बन्ने र लक्ष्य प्राप्त गर्न बाधा हुने देखिन्छ। विद्रोहका लागि अप्ठ्यारो बाटो समाउनाले पनि काममा जटिलता आउन सक्छ। मंगलको अनुकूल प्रभावले साउनको मध्यसम्म साहसी कार्य गर्न सकिनेछ। पछिल्ला दिनमा भने खर्च, चुनौती र स्वास्थ्यबाधा निम्त्याउने हुँदा सजगता अपनाउनुपर्नेछ। समग्रमा कर्कट राशिलाई यो वर्ष अभावले जगाउनेछ, चुनौतीले सुदृढ बनाउनेछ र आँटले लक्ष्यमा पुर्याउने देखिन्छ। लामो समयको संघर्ष, पर्दाभित्रको मिहिनेतले समय आएपछि बिजुलीको गतिमा नतिजा दिलाउनेछ। तर उपलब्धि टिकाइराख्न निकै सावधान रहनुपर्ला। विदेश ताक्नेहरूलाई वर्षको उत्तरार्ध शुभफलदायी रहनेछ। सूर्यकाे गाेचरका आधारमा वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, साउन, कार्तिक र फागुन महिना अलि कष्टदायी रहनेछन्। प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मनको उद्वेग शान्त हुनेछ र सम्भावित समस्या पनि टर्नेछन्। शनिदेवका प्रतिकूल प्रभावबाट मुक्त हुन र शुभफल प्राप्त गर्न श्री हनुमानजी र काली भगवतीकाे दर्शन–पूजा गर्नुहाेला। राहुदाेषबाट मुक्त रहन वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा–आराधना गर्नुहोला।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिलाई वर्षारम्भ सुखद् र आशाजनक रहनेछ। देवगुरु बृहस्पतिको गोचरले विद्यमान स्थितिमा तीन घुम्ती आउनेछन्। जेठको दोस्रो सातादेखि विभिन्न उतारचढावका कारण आर्थिक गतिविधि असन्तुलित बन्नेछ। मध्यान्तरपछि समस्याहरू क्रमशः समाधान हुँदै जानेछन्। तर वर्षको अन्त्यमा परिस्थिति बिग्रनाले उचाइबाट सतहमा अवतरित भइने सम्भावना छ। वर्षारम्भमा लाभस्थानका बृहस्पतिले धनको वर्षा गर्नेछन्। चारैतिरबाट आम्दानी हुनेछ। चाँडै काम बन्ने, व्यापारमा मनग्य नाफा, नगदमै कारोबार, बाँकीबक्यौता हातलागी हुने, सेयरमा फाइदा, कृषि तथा पशुधनबाट लाभ साथीभाइको जमघट, सहयोगीहरूको तत्परता जस्ता परिस्थितिले महत्त्वाकांक्षी काम गर्न प्रेरित गर्नेछ। जेठ १८ गते देवगुरुको खर्चभाव प्रस्थानले परिस्थितिमा व्यापक फेरबदल आउनेछ। यसले काम बिग्रने, व्यापारमा मन्दी तथा नोक्सान, खर्च बढ्ने, आयस्रोत सुक्ने, लगानी अड्किने जस्ता समस्याले आर्थिक सन्तुलन बिग्रन सक्छ। यसले सञ्चिति घट्ने र कर्जा बढ्ने सम्भावना देखिन्छ। विदेश ताक्नेहरूलाई यात्रामा झमेला आउन सक्छ। कार्तिक १२ गते जन्मराशिमा देवगुरुको प्रस्थानले केही आशा जगाउनेछ। तर समय आफ्नो हक–अधिकारको खोजीमा बित्न सक्छ। यो समयमा साथ दिनेहरू कम हुनेछन् र एक्लोपनको अनुभूति हुनेछ। साथीभाइ र शुभचिन्तकहरूको सुझाव मननयोग्य हुन सक्छ। प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ। सामान्य सुधारका लक्षणहरू पनि देखिनेछन्। माघ १२ गते बृहस्पतिको प्रत्यागमनले खर्च र सकसको स्थिति पुनः दोहोरिन सक्छ। यस्तो समयमा धैर्य र सन्तुलित व्यवहारको आवश्यकता पर्नेछ। वर्षभरि कष्टभावमा रहने शनिको अढैया दशा पनि पीडा र व्यधानको कारक रहनेछ। यसले स्वास्थ्यमा पुराना समस्या बल्झाउनुका साथै पाचन प्रणाली, नसा–जोर्नी, चोटपटक वा दीर्घरोगको समस्या, आलस्य, थकान आदि निम्त्याउन सक्छ। विशेषतः जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई वादविवाद, पारिवारिक कलह, मनमा अशान्ति, मुद्दामामिला, धनविनाश, खर्च र आर्थिक संकट जस्ता समस्या आउन सक्छन्। राहुकाे प्रभावले व्यावहारिक समस्या आउनेछन् भने ऋणको बोझ उठाउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने हुँदा सजग रहनुपर्नेछ। मंसिर १९ देखि राहुको राशिपरिवर्तनले प्रतिकूल स्थिति हट्नेछ र फाइदा हुनेछ। मंगल जेठदेखि भदौसम्म अनुकूल, शुभफलदायी र कर्मका प्रेरक रहनेछन् र बाँकी समयमा चोटपटक, कर्मबाधा र खर्च निम्त्याउने सम्भावना छ। सूर्यको गोचरअनुसार जेठ, असार, कार्तिक र माघ महिना कर्मक्षेत्रमा बढी लाभदायक रहनेछन्। साउन, भदौ, मंसिर र चैत महिना स्वास्थ्य र आर्थिक उपलब्धिका लागि प्रतिकूल रहनेछन्। प्रतिकूल समयमा सम्बद्ध ग्रह र देवी–देवताकाे मन्त्रजप, अनुषठान तथा पूजाआराधना गर्नुहाेला, फाइदा हुनेछ।

    कन्या – Virgo
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई नयाँवर्ष सुखद् र आशाजनक रहनेछ। सुरुमा कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। बीचमा निकै राम्रो आर्थिक उन्नति हुनेछ। मध्यान्तरपछि खर्चका परिस्थिति आउनेछन्। र अन्त्यमा पुनः आर्थिक गतिविधिले उचाइको बाटो अवलम्बन गर्नेछ। वर्षारम्भमा देवगुरुको प्रभावले कर्मबाधा हट्नुका साथै पुराना समस्या समाधान हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछन्। पेसा–व्यवसायले पनि उचाइको बाटो समाउनेछ। मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति र अनुकूल स्थान प्राप्ति हुन सक्छ। घरमा मांगलिक कार्य सम्पादन हुने समय छ। जेठ १८ गते लाभस्थानमा जाने बृहस्पतिले कर्मफलका प्रदान गर्नुका साथै धनको वर्षा गर्नेछन्। सबै कर्मबाट आम्दानी हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। पुरानो कारोबारको बाँकीबक्यौता हातलागी हुनेछ। लगानी तथा सेयरमा फाइदा हुनेछ। नोकरीमा पदोन्नति वा सेवा–सुविधा थपिनेछ। कृषि, पशुधनबाट लाभ हुने समय छ। मिहिनेत गर्दा मनग्य अर्थसञ्चय हुनेछ। आफन्त र सहयोगीको साथले महत्वाकांक्षी काम गर्न प्रेरित गर्नेछ। कार्तिक १२ गते देवगुरु खर्चभावमा जाने हुँदा परिस्थितिमा अचानक फेरबदल आउनेछ। यसले आर्थिक सन्तुलन बिग्रने, खर्च बढ्ने, आयस्रोत सुक्ने, लगानी अड्किने, सञ्चिति घट्ने र कर्जा बढ्ने जस्ता समस्या आउनेछन्। विदेश ताक्नेहरूलाई भने यात्राको साइत जुर्न सक्छ। माघ १२ गतेदेखि पुनः आयभावमा बृहस्पतिको वास हुने हुँदा परिस्थिति अनुकूल हुनेछ भने पहिलेका उपलब्धिहरू पुनः प्राप्त गर्न सकिनेछ। वर्षभरि दाम्पत्य भावमा रहने शनिको प्रभावले जीवनसाथीको स्वास्थ्य र सम्बन्ध, व्यापार र साझेदारी तथा सामाजिक गतिविधिमा समस्या आउने हुँदा सावधान रहनुपर्ने देखिन्छ। पति वा पत्नीको मुहारमा आएको मलीनता र चिडचिडा स्वभावलाई समस्याका रूपमा लिन सकिनेछ। प्रथमतः घर सुखी बनाउन जीवनसाथीको समस्यालाई साक्षात्कार गरी समाधान गर्नुहोला। व्यावसायिक साझेदारसँग समझदारी र पारदर्शितामा ध्यान दिनुहोला । शरीरमा उत्पन्न आलस्य र भोलिवादले लक्ष्यमा पुग्न ढिलाइ हुनेछ, भोलि गर्ने काम आजै किन नगर्ने ? यही मूल मन्त्रका साथ अघि बढ्नुहोला। कामको निरन्तरताले दिगो फाइदा दिलाउनेछ। विदेश ताक्नेहरूलाई भने समय लाग्न सक्छ, उड्न हतार गर्नुभन्दा दिगो काम र धेरै दाम हुने सुरक्षित गन्तव्य चयन गर्नुहोला। काली भगवती र हनुमानजीको सेवा, पूजा आराधना गर्नाले शनिका स्तोत्र पाठ र मन्त्रजप गर्नाले प्रतिकूल प्रभाव कम भई वर्षभरि फाइदा हुनेछ। राहुको प्रभावले रोग र शत्रु परास्त हुनेछन्, मंसिरसम्ममा ऋण–कर्जा चुक्ता गर्न सकिनेछ। केतुको प्रभावले परोपकारी काम सम्पादन हुनेछन्। विदेशका काममा सफलता मिल्नेछ। मंसिरको उत्तराद्र्धदेखि राहुको प्रभावले विद्यार्थीहरूको पढाइमा मन एकाग्र नहुन सक्छ। निर्णायक क्षमतामा कमी आउनेछ र गुरुप्रति विद्रोही भाव जागृत हुनेछ। सन्तानको स्वास्थ्य कमजोर बन्न सक्छ। तर केतु अनुकूल हुनाले मनग्य धनलाभ हुनेछ। राहुका प्रतिकूल भावबाट मुक्त रहन वटुक भैरव र छिन्नमस्ता भगवतीको पूजा आराधना गर्नुहोला। शिवपूजन गरी राहुको मन्त्रजप गर्नाले पनि वर्षभरि कल्याण हुनेछ। मंगलको प्रभावले वर्षको अधिकांश समय आर्थिक र भौतिक क्षेत्रमा उन्नति हुनेछ। आवश्यक यन्त्र, उपकरणको सुविधा पनि प्राप्त हुने समय छ। वैशाख, जेठ, मंसिर, पुस र माघ महिनामा अर्थ व्यवस्था र भौतिक साधनमा क्षति हुन सक्छ। मौसमी समस्या र चोटपटकले स्वास्थ्य कमजोर हुन सक्छ, श्रीगणेशको पूजा–आराधना र मंगलको मन्त्रजप गर्नुहोला। सूर्यको प्रभावले असार, साउन, मंसिर र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ। वैशाख, भदौ, असोज र पुस महिना स्वास्थ्य र आर्थिक उपलब्धिका लागि प्रतिकूल रहनेछन्।

    तुला – Libra
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई नयाँवर्ष २०८३ साल सुखद् र उपलब्धिमूलक रहनेछ। सुरुमा भाग्यले नयाँ अवसर दिलाउनेछ। बीचमा परिस्थितिले कर्मको परीक्षा लिनेछ र मध्यान्तरपछि मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। यो वर्ष अवसरका उपासकहरूले चमत्कारपूर्ण सफलताको उडान भर्न सक्नेछन्। देवगुरु बृहस्पतिको प्रभावले तुला राशिलाई भाग्योदय हुने समय छ। सुरुमै नयाँ नयाँ अवसर प्राप्त हुनेछन्। अभिभावक, गुरु तथा प्रतिष्ठित व्यक्तिहरूबाट आशीर्वाद, सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। विद्यार्थीहरूको लक्ष्य प्राप्त गर्ने समय छ। उच्चशिक्षाका लागि छात्रवृत्ति, सहुलियत, तथा विदेशयात्राको अवसर प्राप्त हुनेछ। धर्मकर्म र अध्यात्ममा रुचि बढ्नेछ। घरमा मांगलिक कार्य र तीर्थयात्रा गर्ने समय छ। जेठ १९ गतेदेखि कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। मानसम्मानका साथ नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्नेछ। आत्मविश्वासका साथ अघि बढ्दा नसोचेको सफलता मिल्न सक्छ। निर्णायक क्षमता र कर्मले लोकप्रियता बढाउनेछ। काम, पेसा र व्यवसायमा नयाँपन आउनेछ। नोकरीमा प्रवेश, पदोन्नति र अनुकूल स्थान प्राप्ति हुन सक्छ। अनुभवको पृष्ठभूमिले थप उचाइमा पुर्याउनेछ। प्रयत्न गर्दा आफ्नो वर्ग, क्षेत्रको नेतृत्व हातलागी हुनेछ। कार्तिक १२ गते लाभस्थानमा जाने बृहस्पतिले कर्मफलका प्रदान गर्नुका साथै धनको वर्षा गर्नेछन्। प्रायः सबै कर्मबाट आम्दानी हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। लगानी तथा सेयरमा फाइदा हुनेछ। पुरानो कारोबारको बाँकीबक्यौता हातलागी हुनेछ। नोकरीमा पदोन्नतिका साथ सेवा–सुविधा थपिनेछ। कृषि, पशुधनबाट प्रशस्तै लाभ हुनेछ। आफन्त र सहयोगीहरू जुट्नाले महत्त्वाकांक्षी काम गर्न सकिनेछ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् र पछिका लागि अर्थसञ्चय गर्न सकिनेछ। माघ १२ गतेदेखि पुनः कर्मभावमा बृहस्पतिको प्रत्यागमनले थप कर्म गर्न प्रेरित गर्नेछ। तर समाजको आवाजलाई बेवास्ता गर्दा आलोचित बन्नुपर्ने अवस्था पनि आउन सक्छ, शुभचिन्तकहरूको स्वाभिमान र सुझावलाई सदैव सम्मान गर्ने प्रयास गर्नुहोला। तुला राशिलाई शनिदेवको प्रभावले वर्षभरि साहस, सफलता र सन्तुष्टि प्राप्त हुनेछ। शत्रुहरू स्वतः किनारा लाग्नेछन्। प्रतिस्पर्धा, मुद्दा र विवादमा विजय सुनिश्चित हुनेछ। परिश्रमले शरीरमा थप स्फूर्ति र ऊर्जा प्राप्त हुनेछ। मिहिनेतले विशिष्ट व्यक्तिहरू प्रभावित हुनेछन्। थप अवसर र पदोन्नतिको बाटो खुला हुनेछ। ऋणको बोझ हलुका हुनेछ। जेठ, असार र साउनमा मंगल प्रतिकूल रहने हुँदा परिवारमा अशान्ति, रोग र शत्रुको भय, चोटपटक, दुर्घटना, शारीरिक पीडा, फजुल खर्च, आर्थिक र भौतिक पक्षमा हानि जस्ता विघ्न–बाधा आउन सक्छन्। बाँकी समयमा मंगलको अनुकूलताले साहसी कदम उठाउने प्रेरणा प्राप्त भइरहनेछ। विद्या, बुद्धिको भावमा राहुको गोचर भएकाले समय–समयमा बुद्धिभ्रम हुनेछ। यसले हतारमा गलत निर्णय लिएर पछि संशोधन गरिरहनुपर्ने अवस्था आउन सक्छ। विद्यार्थीहरूलाई मनमा तर्क–वितर्क आउने र अध्ययनको विषयमा ध्यान केन्द्रित नहुने समस्या आउन सक्छ। गुरुजन र सन्तानसँग मतभेद हुने सम्भावना छ। मंसिरको उत्तराद्र्धबाट गृहसुखमा जाने राहुको प्रभावले परिवारमा मतभेद र अशान्ति, घर–जग्गाको विषयमा वादविवाद, आमालाई पीडा, कृषि र पशुधन हानि जस्ता समस्या देखापर्न सक्छन्। केतुको प्रभावले यो वर्ष विशेष लाभ हुनेछ। रोकिएका काम बन्नेछन् र नसोचेको फाइदा हुनेछ। कर्मक्षेत्रमा केही परिवर्तनहरू आउनेछन्। पछिल्लो समयमा नोकरी परिवर्तन, स्थानान्तरण र कार्यशैलीमा नयाँपन ल्याउन केही सुधार गर्नुपर्ने हुन सक्छ। सौरमासका आधारमा जेठ, असोज, कार्तिक र माघ महिना स्वास्थ्य र आर्थिक उपलब्धिका लागि प्रतिकूल रहनेछन् भने साउन, भदौ, पुस र चैत महिनामा विशेष अर्थलाभ हुनेछ। मंगल प्रतिकूल हुँदा श्रीगणेश, भुवनेश्वरी भगवती र हनुमानजीको पूजा–आराधना गर्नुहोला। राहुका धेरै प्रतिकूलताहरू शनिको प्रभावले नियन्त्रित हुनेछन्। तापनि राहुको प्रसन्नताका लागि वटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नुहोला। राहुका स्तोत्र पाठ गर्नाले र मन्त्र जप गरी हवनादि गर्नाले पनि राहुदोष शान्त भई शुभफल प्राप्त हुनेछ।

    बृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई नयाँवर्षले संकटको सतहबाट समृद्धिको उचाइसम्म पुर्याउनेछ। सुरुमा बाधा र अभावले निम्त्याएका समस्यासँग संघर्ष हुनेछ। बीचमा भाग्यले अवसर दिलाउनेछ र मध्यान्तरपछि कर्मको परीक्षाबाट सफलताको उचाइमा पुग्ने सौभाग्य प्राप्त हुनेछ। वर्षारम्भमा बृहस्पतिको प्रभाव कमजोर हुने हुँदा आधारभूत विषयवस्तुकै प्राप्तिमा समय बित्नेछ। स्वास्थ्यका कमजोरी र व्यवहारका पुरानै समस्यासँग संघर्ष हुनेछ। देवगुरुको राशिसंक्रमण नजिकिँदै गर्दा संकट र समस्याका तहहरू पनि पातलिँदै जानेछन्। अवसरको पर्खाइमा बस्नुपरे पनि उपलब्धिका स्रोत र साधनहरूको अध्ययन हुनेछ। जेठ १९ गते देवगुरुको भाग्यभाव प्रस्थानले विभिन्न अवसरका साथ सुखद् परिवर्तन ल्याउनेछ। कर्मबाधा हट्नुका साथै पुराना समस्या समाधान हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछन्। पेसा–व्यवसायले उचाइको बाटो समाउनेछ। मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति र अनुकूल स्थान प्राप्ति हुन सक्छ। सामाजिक रूपमा ख्याति बढ्न सक्छ। उच्च शिक्षाका लागि अवसर, वृत्ति र सहुलियत प्राप्त हुनेछ। घरमा मांगलिक कार्य सम्पादन हुने समय छ। धर्मकर्म तीर्थाटन र परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै एक्लो जीवनले पूर्णता प्राप्त गर्ने सम्भावना छ। कार्तिक १२ पछि राज्यबाट विशेष लाभ र पदोन्नतिको अवसर प्राप्त हुनेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुन सक्छ। राजनीतिक वा प्रशासनिक क्षेत्रमा पहुँच, अधिकार र प्रभाव बढ्नेछ। माघमा पुनः भाग्यभावमा बृहस्पतिको प्रत्यागमनले अधुरा कामहरूलाई पूर्णता दिने अवसर प्राप्त हुनेछ। मिहिनेत गर्नुहोला, दीर्घकालीन फाइदाका योजनाहरू कार्यान्वयन हुनेछन्। यो वर्ष शनिदेव विद्याभावमा रहेकाले विद्यार्थीहरूमा भोलिवादले डेरा जमाउनेछ। यसले अवसरबाट लाभ उठाउन र फल भोग गर्न समय लाग्ने देखिन्छ। सानो कमजोरीले काम दोहोर्याउनुपर्ने परिस्थिति आउनेछ। सन्तानसँग दूरी बढ्ने सम्भावना छ। प्रेम र मित्रताको बन्धन कमजोर हुन सक्छ। कर्मचारीहरूमा चुक्लीवादको भर्याङले धोका दिनेछ। समय लागे पनि मिहिनेत र इमानदारिताले सफलता दिलाउनेछ। सुख भावका राहुको प्रभावले घरपरिवारमा केही अशान्ति र आमाको स्वास्थ्यमा समस्या ल्याउन सक्छ। घर–जग्गाको कारोबार गर्दा कागजी प्रक्रियामा विशेष ध्यान दिनुहोला। कृषि र पशुपालनमा केही नोक्सान हुन सक्छ। सानो स्वार्थ अँँगाल्दा साथीभाइ टाढिनेछन्। केतुको प्रभावले कर्मक्षेत्रमा नीतिगत परिवर्तन ल्याउन सकिनेछ। सुरुमा गर्न नसकिएका चुनौतीपूर्ण कामहरू मंसिरपछि राहुको प्रभावले सम्पादन हुनेछन्। असार, साउन र भदौ महिनामा मंगलको गोचर प्रतिकूल रहनेछ। राशिस्वामी मंगलको प्रतिकूल प्रभावले दुर्घटना, चोटपटक, वादविवाद, हैजा र पित्तदोषसम्बन्धी समस्या निम्त्याउने हुँदा निकै सजग रहनुपर्नेछ। सौरमासका आधारमा वैशाख, भदौ, असोज र माघ महिना विशेष लाभदायी रहनेछन् भने असार, कार्तिक, मंसिर र फागुन महिनामा स्वास्थ्य र अर्थव्यस्था सन्तुलित राख्न सावधानी अपनाउनुपर्नेछ। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूले विधिपूर्वक शनिदेवको शान्ति गर्नुपर्दछ। शनिबार पीपलमा जल चढाउनुका साथै काली भगवतीको पूजा–आराधना गर्नाले पनि फाइदा हुन्छ। यस्तै, राहुको प्रतिकूल समयमा वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्नाले फाइदा हुन्छ। आफ्ना इष्टदेवको नियमित उपासनाले पनि कमजोर समयमा फाइदा भइरहनेछ।

    धनु – Sagittarius
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    धनु राशिलाई नयाँवर्षको प्रारम्भ आशाजनक रहे पनि बीचमा संघर्षमय उतारचढाव आउनेछन्। मध्यान्तरपछि स्थिति अनुकूल बन्नाले केही राहत मिल्नेछ। पुराना समस्या समाधान हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। तर वर्षको अन्त्यमा पुनः समस्या दोहोरिन सक्छन्। वर्षारम्भमा दाम्पत्य भावमा रहने बृहस्पतिको प्रभावले दिनचर्या राम्रै रहनेछ। पेसा–व्यवसाय, नोकरी, घर–परिवार, अर्थ–व्यवस्था, स्वास्थ्य लगायत सबै पक्ष सन्तुलित, शुभ नै रहनेछन्। जब जेठ १९ गते देवगुरु कष्टभावमा जानेछन्, त्यसपछिको परिस्थिति भने अलि कमजोर रहने देखिन्छ। संघर्षले आर्जन गरेका उपलब्धि र सेवा–सुविधाहरू सानो कमजोरीले गुम्न सक्छ। परिवारजनमा दुःख र संघर्षको अवस्था आउने सम्भावना छ। काममा व्यवधान, अर्थहानि, आयआर्जनमा कमी, नोकरीमा संकट, स्वास्थ्य–बाधा, व्यापार–घाटा, आफन्तमा वैरभाव जस्ता समस्याले दैनिकी ओरालो यात्रामा अग्रसर हुने देखिन्छ। कार्तिक १२ गतेदेखि अतिचार गतिले देवगुरु भाग्यभावमा जाने हुँदा परिस्थितिले कोल्टे फेर्नेछ। छोटो समयका लागि भए पनि पेसा–व्यवसायले उचाइको बाटो समाउनेछ। उच्च शिक्षाका लागि अवसर, वृत्ति र सहुलियत प्राप्त हुनेछ। घरमा मांगलिक कार्य सम्पादन हुने समय छ। धर्मकर्म तीर्थाटन र परोपकारी काममा प्रवृत्त भइनेछ। मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति र अनुकूल स्थान प्राप्ति हुन सक्छ। सामाजिक रूपमा ख्याति बढ्न सक्छ। माघ १२ गतेपछि कष्टभावमै बृहस्पति फर्कने हुँदा पहिलेका समस्या दोहोरिन सक्छन्। प्रतिकूल समयमा बृहस्पतिको मन्त्र–उपासना गर्नुहोला। वर्षभरि सुखभावमा रहने शनिको अढैया दशा समेत चल्ने हुँदा विद्यमान परिस्थितिमा केही फेरबदल र समस्या आउन सक्छन्। विशेषगरी जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई पारिवारिक मतभेदले घरको शान्ति बिथोलिनेछ। आमाको स्वास्थ्यमा विशेष हेरचाहको आवश्यकता पर्नेछ। मनमा डर, चिन्ता र एक्लोपनाको अनुभूति हुनेछ। घर–जग्गा, पशुधन, सवारी साधन आदिको किनबेचमा समस्या आउनेछ। काममा बाधा, आलस्यपन र अस्वस्थताले सताउनेछ। आफ्ना काम रोकिनाले प्रतिस्पर्धीलाई फाइदा हुनेछ। विरोधीजनले चरित्रहत्या, तेजोवध र लाञ्छना लगाउने प्रयत्न गर्न सक्छन्। राहुको प्रभावले मंसिरको पूर्वाद्र्धसम्म आकस्मिक लाभ भइरहने हुँदा आर्थिक गतिविधिमा राम्रै सन्तुलन कायम रहनेछ। पुराना वस्तु किनबेच र सट्टापट्टामा लाभ हुनेछ। आँट गर्दा प्रतिकूल परिस्थितिका बाबजुद काम सम्पादन गर्न सकिनेछ। पुराना समस्या समाधान हुनाले नयाँ अवसर हातपार्न सकिनेछ। पेसा–व्यवसायमा बलजफ्ती काम गरेर पनि फाइदा उठाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरूलाई समेत नियन्त्रणमा राख्न सफल भइनेछ। केतुको प्रभावले सेवामूलक काम सम्पादन हुनेछन्। पछिल्लो समयमा भने कर्मक्षेत्रमा केही चुनौती आउन सक्छन् र अर्थ व्यवस्था कमजोर बन्ने देखिन्छ। मंगल वैशाख, भदौ, असोज र चैत महिनामा प्रतिकूल हुने हुँदा जोखिमयुक्त काम, वादविवाद र झैझगडाबाट अलग रहने प्रयास गर्नुहोला। हतार र हडबडमा काम गर्दा शरीरमा चोटपटक लाग्न सक्छ। श्रीगणेशको स्मरण र मानसिक पूजा गरी काम थाल्दा राम्रो हुनेछ। बाँकी समय मिहिनेतीहरूका लागि अनुकूल हुनेछ। सौरमास अनुसार धनु राशिलाई साउन, मंसिर, पुस र चैत महिना स्वास्थ्यका लागि अलि प्रतिकूल हुनेछन् भने जेठ, असोज, कार्तिक र फागुन महिना आर्थिक दृष्टिले लाभदायक रहनेछन्। प्रतिकूल समयमा सम्बद्ध ग्रहको दोषशान्ति गर्नुहाेला। शनिका लागि काली र हनुमानको आराधनाका साथै शनिबार पीपलमा जल चढाउनाले, राहुका लागि वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नाले र बृहस्पतिका लागि बगलामुखी र शिवजीको पूजा गर्नाले फाइदा हुनेछ। आफ्ना इष्टदेवको आराधना गर्दा पनि प्रतिकूल दोष शान्त हुनेछ।

    मकर – Capricorn
    भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई नयाँवर्षले सामान्य परिवेशबाट समृद्धिको उचाइसम्म पुर्याउनेछ। सुरुमा रोग र शत्रुजन्य समस्यासँग संघर्ष हुनेछ। बीचमा भाग्यले अवसर दिलाउनेछ। मध्यान्तरपछि केही समय परिस्थितिको बन्धक भइए पनि सफलताको उचाइमा पुग्ने सौभाग्य प्राप्त हुनेछ। वर्षारम्भमा बृहस्पतिको प्रभाव कमजोर हुने हुँदा आधारभूत आवश्यकतामै समय बित्नेछ। रोग, भोक र अभावसम्बन्धी समस्यासँग संघर्ष हुनेछ। तर देवगुरुको राशिसंक्रमण नजिकिँदै गर्दा संकट र समस्याका तहहरू पनि पातलिँदै जानेछन्। अवसरको पर्खाइमा बस्नुपरे पनि उपलब्धिका स्रोत र साधनहरू जुट्न थाल्नेछ। जेठ १९ गते देवगुरु दाम्पत्यभावमा प्रस्थान गर्नाले विभिन्न अवसरका साथ दैनिकीमा सुधार आउनेछ। कर्मबाधा हट्नुका साथै पुराना समस्या समाधान हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछन्। पेसा–व्यवसायले उचाइको बाटो समाउनेछ। सामाजिक रूपमा ख्याति बढ्न सक्छ। मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति र अनुकू्रल स्थान प्राप्ति हुने बलियो सम्भावना छ। घरमा मांगलिक कार्य सम्पादन हुने समय छ। धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले पूर्णता प्राप्त गर्न सक्छ। उच्च शिक्षाका लागि अवसर, वृत्ति र सहुलियत प्राप्त हुनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा हुने सम्भावना छ। कार्तिक १२ पछि कष्टभावमा जाने बृहस्पतिको प्रभावले काम अड्किने र कम प्रतिफल प्राप्त हुने सम्भावना छ। सानो कमजोरीले काम दोहोर्याउनुपर्ने परिस्थिति आउनेछ। आफन्तसँग दूरी बढ्ने सम्भावना छ। प्रेम र मित्रताको बन्धन कमजोर हुन सक्छ। प्रतिकूल समयमा शिवजी र वगलामुखी भगवतीकाे पूजा–आराधना गर्नुहाेला। माघमा पुनः दाम्पत्य भावमा बृहस्पतिको प्रत्यागमनले अधुरा कामहरूलाई पूर्णता दिने अवसर प्राप्त हुनेछ। मिहिनेत गर्नुहोला, पहिलेका योजनाहरू कार्यान्वयन हुनेछन्। यो वर्ष शनिदेव उद्योग तथा पराक्रम भावमा रहने हुँदा वर्षभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। भौतिक स्रोत–साधन जुटाउन सफल भइनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। कर्मयोगले सदैव लक्ष्यको मार्ग अवलम्बन गर्नेछ। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। पेसा–व्यवसायमा विशेष उपलब्धि प्राप्त हुने सम्भावना देखिएकाले वर्षभरि मिहिनेत गर्नुहोला। वर्षको पूर्वार्धमा धन र उत्तरार्धमा मस्तिष्क भावमा रहने राहुले वादविवाद, लाञ्छना र फजुल खर्च निम्त्याउने देखिन्छ। प्रतिकूल समयमा आफन्तसमेत टाढिनेछन्। बोली–व्यवहारमा अत्यन्त संयमित रहनुपर्ने समय छ। ईर्ष्या गर्नेहरूले शत्रुवत् व्यवहार गर्न थाल्नेछन्। आफ्ना कमजोरीमाथि खेल्नेहरू सक्रिय हुने हुँदा व्यवहारमा सजग रहनुपर्नेछ। सानो स्वार्थ अँगाल्दा साथीभाइ टाढिनेछन्। केतुको प्रभावले स्वास्थ्यमा समस्या आउन सक्छ। मंगल सुरुमा अनुकूल देखिए पनि असोजदेखि अस्वस्थता, वादविवाद चोटपटका कारक रहनेछन्। प्रतिकूल मंगलले दुर्घटना, चोटपटक, वादविवाद, हैजा र पित्तदोषसम्बन्धी समस्या निम्त्याउने हुँदा निकै सजग रहनुपर्नेछ। सदैव संयमित व्यवहारका साथ श्रीगणेशजीको पूजा आराधना गर्नाले सम्भावित जोखिमबाट बच्न सकिनेछ। सौरमास अनुसार असार, कात्तिक, मंसिर र चैत महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ र पुस महिनामा स्वास्थ्य र अर्थव्यस्था सन्तुलित राख्न सावधान रहनुहोला।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई नयाँवर्ष संघर्षपूर्ण र आसलाग्दो, मिश्रित फलदायी रहनेछ। सुरुमा ठूलो उपलब्धि नभए पनि सन्तुलित अर्थ व्यवस्था कायम राख्न सफल भइनेछ। बीचमा केही उतारचढाव र संघर्षपछि काम सम्पादन हुनेछन्। उत्तरार्धमा आंशिक उपलब्धि हातपार्न सफलता मिल्नेछ। वर्षारम्भमा बृहस्पतिको प्रभावले विभिन्न अवसर प्राप्त हुनेछन्। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। बौद्धिक क्षमता बढ्नेछ। अध्ययन तथा रोजगारीका सन्दर्भमा देश–विदेश जाने साइत जुर्न सक्छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। जेठ १९ देखि पाँच महिनासम्म देवगुरु शत्रुभावमा रहने हुँदा पहिलेका उपलब्धि जोगाउन संघर्ष गर्नुपर्नेछ। अध्ययनमा पनि प्रगतिको मार्ग अवरुद्ध हुन सक्छ। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन खिन्न रहनेछ। ईर्ष्या गर्नेहरूले शत्रुवत् व्यवहार गर्न थाल्नेछन्। स्वास्थ्य र धन सम्बन्धी चिन्ताले सताइरहनेछ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। चलअचल सम्पत्तिको कारोबार गर्दा हानि–नोक्सानी हुन सक्छ। आफ्ना कमजोरीमाथि खेल्नेहरू सक्रिय हुने हुँदा व्यवहारमा सजग रहनुहोला। कार्तिक १२ गतेदेखि तीन महिनासम्म बृहस्पतिको वास दाम्पत्य भावमा रहने हुँदा सुखद अवसर प्राप्त हुनेछन्। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने समय छ। इच्छाशक्ति र लगनशीलताले व्यावसायिक मार्ग चुन्ने सम्भावना छ। धनआर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। विदेश ताक्नेहरूका लागि यात्राको साइत जुर्न सक्छ। यस बीचमा अधुरा कामहरूलाई पूर्णता दिने अवसर प्राप्त हुनेछ। मिहिनेत गर्नुहोला, दीर्घकालीन फाइदाका योजनाहरू कार्यान्वयन हुनेछन्। वर्षभरि धन तथा वाणीभावमा रहने शनिको अन्त्य साढेसाती दशा रहेकाले आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। कम आम्दानी, अधिक खर्च, काममा विलम्ब, अवरोध, तीव्र आलोचना, अस्वस्थता जस्ता समस्याहरूसँग जुध्नुपर्नेछ। सामाजिक लोकप्रिय छविमा प्रश्न उठ्न सक्छ। विद्यार्थीहरूमा भोलिवादले डेरा जमाउनेछ। सानो कमजोरीले अवसरबाट वञ्चित गराउन सक्छ। वादविवादले कार्यक्षेत्रमा समस्या भइरहनेछ। अभिभावक र अधिकारीवर्गसँग मतभेद हुनुका साथै सामाजिक काममा विरोधीहरूको दबाब आउन सक्छ। राहु वर्षभरि प्रतिकूल रहने हुँदा पारिवारिक माहोल वर्षभरि नै कमजोर रहनेछ। अध्ययन र धर्माचरणमा बाधा, स्वास्थ्यमा समस्या, साझेदारीमा झमेला, व्यापारमा हानि र नोकरीमा दुर्गम स्थानान्तरण जस्ता व्यवधान आउन सक्छन्। केतुको प्रभावले सुरुमा जीवनसाथीको स्वास्थ्य कमजोर देखिए पनि उत्तरार्धमा रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। मंगलको प्रभावले असार, मंसिर, पुस र माघ महिनामा स्वास्थ्यबाधा, चोटपटक, वादविवाद, अर्थहानि जस्ता समस्या निम्त्याए पनि बाँकी महिनामा आर्थिक उपलब्धि हासिल गर्न सफल भइनेछ। पेसा–व्यवसायमा धनलाभ भए पनि रकम सञ्चितिमा बाधा पुग्ने देखिन्छ। सौरमासका आधारमा वैशाख, साउन, मंसिर र पुस महिना विशेष लाभदायी रहनेछन् भने जेठ, असोज, माघ र फागुन महिनामा स्वास्थ्य र अर्थव्यवस्था सन्तुलित राख्न सावधानी अपनाउनुपर्नेछ। प्रतिकूल समयमा सम्बद्ध ग्रहको दोषशान्ति गर्नुपर्ला। शनिका लागि काली र हनुमानको आराधनाका साथै शनिबार पीपलमा जल चढाउनाले, राहुका लागि वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नाले, मंगलका लागि श्रीगणेशकाे पूजा गर्नाले र बृहस्पतिका लागि बगलामुखी र शिवजीको पूजा–आराधना गर्नाले फाइदा हुनेछ। आफ्ना इष्टदेवको आराधना गर्दा पनि प्रतिकूल दोष शान्त हुनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    मीन राशिलाई नयाँवर्ष केही संघर्षपूर्ण र आशाजनक रहनेछ। सुरुमा कार्यक्षेत्र अवरुद्ध रहनेछ। बीचको समयमा महिनेतले काम बनाउन सकिनेछ। मध्यान्तरपछि व्यावसायिक उतारचढाव आउनेछन्। तापनि अन्त्यमा केही उपलब्धि हातपार्न सफल भइनेछ। वर्षारम्भमा बृहस्पतिको स्वाभिमानी प्रवृत्तिले आफन्तमा मतभेद उत्पन्न गराउनेछ। परिवर्तनको थालनी आफूबाटै गर्नुपर्ने बाध्यता आउन सक्छ। तापनि बिस्तारै काम बन्नेछन्। आफन्त र शुभचिन्तकका माध्यमबाट उपलब्धिको स्रोत हातपार्न सफलता मिल्नेछ। जेठ १९ गतेपछि विद्याभावमा जाने देवगुरुको प्रभावले स्थितिमा सुधार आउनुका साथै धेरै आवश्यकता पूरा गर्न सकिनेछ। बृहस्पतिले कर्मफलका साथै धनको वर्षा गर्नेछन्। एकसाथ यसअघि गरिएका सबै कर्मबाट आम्दानी हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। पुरानो कारोबारको बाँकीबक्यौता हातलागी हुनेछ। लगानी तथा सेयरमा समेत फाइदा हुनेछ। विद्यार्थीहरूमा अध्ययनको भोक जाग्नेछ। नोकरीमा प्रवेश, पदोन्नति वा सेवा–सुविधा थपिने सम्भावना छ। कृषि तथा पशुधनबाट लाभ हुने समय छ। मिहिनेत गर्दा मनग्य अर्थसञ्चय हुनेछ। आफन्त र सहयोगीको साथले महत्त्वाकांक्षी काम गर्न प्रेरित गर्नेछ। अध्ययनका लागि विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। कार्तिक १२ गते देवगुरु प्रतिस्पर्धा भावमा जाने हुँदा परिस्थितिमा अचानक फेरबदल आउनेछ। यसले आर्थिक सन्तुलन बिग्रने, खर्च बढ्ने, आयस्रोत सुक्ने, लगानी अड्किने, सञ्चिति घट्ने र कर्जा बढ्ने जस्ता समस्या आउनेछन्। माघ १२ गतेदेखि पुनः विद्याभावमा बृहस्पतिको वास हुने हुँदा परिस्थिति अनुकूल हुनेछ भने पहिले प्राप्त गर्न नसकेका उपलब्धिहरू पुनः प्राप्त हुनेछन्। वर्षभरि नामराशिमा रहने शनिको मध्य साढेसाती प्रभावले बाधा, आलस्य र थकान जस्ता फल प्रदान गर्नेछन्। यसले स्वास्थ्यमा पुराना समस्या बल्झाउनुका साथै पाचन प्रणाली, नसा–जोर्नी, चोटपटक वा दीर्घरोगको समस्या, आलस्य, थकान आदि निम्त्याउन सक्छ। विशेषतः जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई वादविवाद, पारिवारिक कलह, मनमा अशान्ति, मुद्दामामिला, धनविनाश, खर्च र आर्थिक संकट जस्ता समस्या आउन सक्छन्। मंगलको प्रभावले वैशाख, जेठ, साउन र भदौ महिनामा केही संघर्ष गर्नुपर्ने देखिन्छ। बाँकी महिनामा भने केही न केही उपलब्धि हातपार्न सफल भइनेछ। मंगलले मीन राशिका लागि वर्षभरि नै साहस र सक्रियता बढाउनेछन्। रोकिएका कामहरू आफ्नै प्रयास र हिम्मतले सम्पादन हुनेछन्। मंगल प्रतिकूल भएमा अनावश्यक रिस उठ्ने, रक्तचाप बढ्ने हुन्छ र धेरै सबल भएमा पनि काममा हतार गर्ने प्रवृत्ति देख्न सकिन्छ। मंगलको गुणलाई सन्तुलनमा राख्न सदैव बोली र व्यवहारमा संयमता अपनाउनुहोला। राहुको प्रभावले मंसिरसम्म खर्चिला काम गर्न बाध्य भइनेछ। यसर्थ वर्षको पूर्वार्धमा लगानीमा अधिक धन अड्किने, आयस्रोत खुम्चिने, काम रोकिने, कर्जा बढ्ने, अर्थ अभावले व्यवसाय प्रभावित बन्ने र वैदेशिक यात्रामा अनावश्यक झमेला आइलाग्ने सम्भावना छ। पछिल्लो समयमा आकस्मिक लाभ भइरहने हुँदा आर्थिक गतिविधिमा राम्रै सन्तुलन कायम रहनेछ। पुराना वस्तु किनबेच र सट्टापट्टा गर्दा लाभ हुनेछ। केतुको प्रभावले प्रतिस्पर्धीहरू परास्त हुनेछन् र आर्थिक लाभ हुनेछ। सौरमासका आधारमा जेठ, भदौ, पुस र माघ बढी लाभदायक रहनेछन् भने असार, कार्तिक, फागुन र चैत महिना अलि प्रतिकूल रहनेछन्। प्रतिकूल समयमा सम्बद्ध ग्रहको दोषशान्ति गर्नुहाेला। शनिका लागि काली र हनुमानको आराधनाका साथै शनिबार पीपलमा जल चढाउनाले, मंगलका लागि श्रीगणेशकाे दर्शन पूजा गर्नाले, राहुका लागि वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नाले र बृहस्पतिका लागि बगलामुखी र शिवजीको पूजा गर्नाले फाइदा हुनेछ। आफ्ना इष्टदेवको आराधना गर्दा पनि प्रतिकूल दोष शान्त हुनेछ।

    मङ्गलबार, बैशाख ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer