मासिक राशिफल- असार २०८३
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही चुनौतीसँग जुध्नुपरे पनि असार महिना उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षाले लक्ष्यको उचाइमा पुर्याउन सक्छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । नयाँ कार्य थालनी हुनुका साथै उद्योग–धन्दा र व्यापारमा प्रशस्त लाभ हुनेछ । नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । घरमा सुख–समृद्धि बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ । दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ । प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन् । कीर्तिमानी काम शुभारम्भ हुनेछ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । वादविवादले भने समस्या निम्त्याउनेछ, सजग रहनुहोला ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
असार महिनामा केही चुनौती आउनेछन् र आत्मसम्मानका लागि संघर्ष हुनेछ । खराब चरित्रका व्यक्तिहरूसँगको संगतले घरमा अशान्ति, आफन्तमा मतभेद, आलोचना र अर्थहानि जस्ता समस्या देखा पर्नेछन् । पेट, आँखा र दाँत सम्बन्धी समस्याले स्वास्थ्य कमजोर रहनेछ । विवादास्पद निर्णयको पक्षमा लाग्दा काम रोकिन सक्छ । प्रेम तथा दाम्पत्यमा असमझदारी बढ्नेछ । पछिल्ला दिनमा अनावश्यक किनमेल र भ्रमणमा खर्च बढ्नेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् । अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ । लेनदेनसम्बन्धी पुरानो हिसाबले वादविवाद निम्त्याउन सक्छ । स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउन सक्छ ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
असार महिनामा विभिन्न अवसर आउनेछन् । श्रम गर्नेहरूलाई सम्भावनाका बाटा फेला पर्नेछन् । अध्ययन र लेखनतर्फ प्रगति हुनेछ । पेसा–व्यवसाय र उद्योगधन्दामा फाइदा उठाउन सकिनेछ। ठूलो उपलब्धि नभए पनि नयाँ काम थालनी गर्ने समय छ। स्रोत–साधन र मूल्यवान् उपकरण संग्रह गर्न सकिनेछ। गरेका कामबाट बिस्तारै लाभ मिल्नेछ र आयस्रोत सबल हुनेछ। मिहिनेत गर्दा अवसर जुट्नुका साथै नयाँ योजना थाल्न सकिनेछ। जटिल काम एक्लै समेट्नुपर्ने हुँदा समस्याबाट बाहिरिन समय लाग्नेछ। तर कर्जा लिएर काम गर्दा जोखिम बढ्न सक्छ, समयमा क्षति हुनबाट जोगिनु बुद्धिमानी हुनेछ। परिस्थिति अनुकूल नभएसम्म नयाँ काम नथाल्नुहोला । सावधानीले समस्या टर्नेछन् र फाइदा हुनेछ ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
असार महिना केही खर्चिलो र फलदायी रहनेछ । नयाँ कामतर्फ लगानी गर्ने अवसर प्राप्त हुनेछन् । तर काम बनाइदिन्छु भन्नेहरूले फसाउन सक्छन् । अनावश्यक किनमेलमा अधिक खर्च हुनेछ । सरसापट, उधारो व्यापार र असुरक्षित लगानीतर्फ गएको रकम उठाउन मुस्किल पर्नेछ । विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न केही समय लाग्ने देखिन्छ । सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्ने सम्भावाना छ, सजग रहनुहोला । व्यावहरमा चुनौती देखिए पनि पुरुषार्थी काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा स्थानान्तरणको सम्भावना छ । कृषि, नोकरी, व्यापार तथा सेयरको माध्यमबाट मनग्य लाभ उठाउन सकिनेछ । उठेको रकम सञ्चय गर्ने प्रयास गर्नुहोला ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
असार महिना विशेष फलदायी रहनेछ । ठूलो योजनाका साथ नयाँ काम थालनी हुनेछ । सामाजिक अभियानको नेतृत्व गर्ने समय छ । राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन हुनेछन् र कामबाट प्रशंसा, सम्मान अनि धन प्राप्त हुनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । सेयर, व्यापार, कृषि, भूमि र पशुपालनबाट यथेष्ट लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थान प्राप्त हुने समय छ । विशिष्ट व्यक्तिले साथ दिने हुँदा काम सजिलै सम्पादन हुनेछन् । भाग्यले असल प्रेमपात्र जुराउन सक्छ । घर–गृहस्थीमा मन रमाउनेछ । परिवारजनमा आत्मीय भाव बढ्नेछ । विदेश ताक्नेहरूलाई पनि प्रक्रिया थाल्ने समय छ । रोकिएका योजना अघि बढ्नेछन् ।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
असार महिनाभरि विभिन्न अवसर प्राप्त भइरहनेछन् । अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ । मिहिनेतले सफलताको उचाइ प्राप्त गर्न सकिनेछ । सेयर तथा व्यापारमा मनग्य फाइदा हुनेछ । भूमि तथा चल–अचल सम्पत्ति जोड्ने समय छ । मिहिनेतीहरूलाई नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने बलियो सम्भावना छ । राष्ट्रिय स्तरको मान–सम्मान प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तिहरू नजिकिनेछन् । सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ । परिवारमा सुख–समृद्धि बढ्नेछ । सामाजिक तथा राजनीतिक वृत्तमा पनि प्रभाव बढ्नेछ । पहिलेको स्थितिमा सुधार आउनाले भविष्यप्रति आशा जाग्नेछ । कर्मयोगले उचाइको बाटो समाउनेछ । दिगो काम तथा व्यवसाय प्रारम्भ हुने समय छ ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
असार महिनामा केही उतारचढाव आउनेछन् । योजना ठूलो बने पनि उपलब्धि हातपार्न समय लाग्नेछ । अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ । केही व्यावहारिक चुनौती सामना गर्नुपर्ने समय रहेकाले सावधानीसाथ काममा जुट्नुहोला । आशा देखाउनेहरूले झुक्याउन सक्छन् । वैधानिक अड्चनले पनि काममा बाधा पुर्याउन सक्छ । प्रतिकूल समयमा पनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ । आवश्यकता र चुनौती कर्मयोगका प्रेरक बन्नेछन् । समय लागे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ । पहिले गुमेको उपलब्धि हातपार्न सफल भइनेछ ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
असार महिना अलि संघर्षमय रहनेछ । स्वास्थ्य र सामाजिक प्रभाव कमजोर बन्नाले तेज, आँट, पराक्रममा मलीनता आउनेछ । बिनाकारण आफन्त टाढिएलान् । कमजोर समयमै शत्रुहरूले दुःख दिन सक्छन् । परिवारमा द्वन्द्व बढ्ने, काम रोकिने र आम्दानी बाहिरिनाले अर्थ अभाव देखापर्ने सम्भावना छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन् । व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला । तत्काल लाभ नभए पनि सेयर तथा लगानीको मूल्य भने बढ्न सक्छ । अनुसन्धानमूलक अध्ययनमा जुट्नेहरूलाई पनि केही अवसर प्राप्त हुनेछन् । प्रतिकूल समयमा पनि सावधानीले उपलब्धि जोगाउन सकिनेछ । जोखिमपूर्ण काममा अघि नसर्नुहोला । अवसरका लागि दौडधुप भने गर्नुपर्ने देखिन्छ ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
असार महिनामा केही सावधानी अपनाउनुपर्ने देखिन्छ । घर–परिवारमा मतभेद बढ्नाले मन अशान्त रहनेछ । परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ । घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिने परिस्थिति रहनेछ । अवसर आए पनि काममा समय दिन नसक्दा पछि परिनेछ । पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ । आयस्रोत कमजोर बन्नाले निर्वाहमूलक काम गर्न बाध्य भइनेछ । व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला । नयाँ क्षेत्रमा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहोला । दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन् ।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
असार महिना विशेष उपलब्धिमूलक रहनेछ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ । भौतिक साधन जुट्नाले उत्साह जाग्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ । रोकिएका काम बन्नुका साथै अर्थ उपार्जनका नयाँ स्रोत प्राप्त हुनेछन् । सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुनेछ । स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ । पहिलेका प्रतिस्पर्धीहरू समेत सहयोगी बन्नेछन् । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ । विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ । प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ । सेयर लगानी, किनबेच तथा साझेदारीमा लाभ हुनेछ ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
असार महिनामा केही समस्या आइरहनेछन् । परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ । पेटको गडबडी तथा मौसमी समस्याले स्वास्थ्य कमजोर रहनेछ । अध्ययन र पेसा–व्यवसायमा सक्रियतापूर्वक जुट्न नसकिएला । महत्त्वाकांक्षी काममा स्वास्थ्य र वैधानिक व्यवस्था विचार गरेर मात्र प्रयत्न गर्नुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन् । परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन् । गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ । प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ । परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ । व्यापारमा सामान्य लाभ हुनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
असार महिनामा केही समस्यासँग जुध्नुपर्ने देखिन्छ । अरूको उक्साहटमा लाग्नाले साथीभाइ र निकटजनसँग असमझदारी बढ्नेछ । सम्भावना अध्ययन नगरी ठूलो काम आँट गर्दा दुःख पाइनेछ । सगोलको सम्पत्तिमा विवाद आउनाले परिवारमा एकताको भावना विखण्डित हुन सक्छ । भौतिक साधनमा पनि क्षति पुग्न सक्छ । आफ्ना कमजोरीप्रति दाजुभाइले गुनासो गर्नेछन् । तर लचिलो व्यवहारले समस्याको गाँठो फुकाउन सकिनेछ । कृषि तथा व्यवसायमा सम्भावनाका नयाँ क्षेत्र फेला पर्नेछन् । विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ । बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई विशेष फाइदा हुनेछ । सामान्य काममा अलमलिनु भन्दा दिगो अवसरका लागि प्रयत्न गर्नुहोला । आफन्तको सहयोगले व्यवहारमा सुधार ल्याउन सकिनेछ ।





