काठमाडौं । मानिस स्वभावैले आत्मसम्मानित हुन खोज्दछ भने जीवन निर्वाहका लागि कुनै न कुनै पेशा,व्यवसाय रोज्दछ । जसले शिक्षण पेशालाई आफ्नो भविष्य सम्झेर जुनकुनै तरिकाले प्रवेश गरे यो पेशाभित्र रुमल्लिंदै जाँदा आफ्नो भविष्य सुरक्षित भन्दा बढी असुरक्षित र अपमानित भएको महशुस गर्दै गए । लामो समयसम्म अनिश्चित भविष्य बोकेर बस्नुपर्दाको पिडाबोध अनि पछिल्लो समयमा स्थानीय सरकारको ज्यादतिबाट प्रताडित शिक्षक/कर्मचारीहरु आफ्ना साझा पेशागत मागहरु संवोधन हुन्छन् र पेशा अनुसारको मर्यादा कायम गरिन्छ,सुरक्षित भइन्छ भनेर निर्णायक आन्दोलनको माग गरिरहेका छन् । स्थानीय सरकारको ज्यादति यतिसम्म छ कि, खालि दरबन्दीमा सरुवा हुन पनि स्थानीय निकाय, बि. ब्य. समिती समेतलाई नजराना नचढाई सरुवा नहुने प्रचलनको शिकार सम्पुर्ण शिक्षकहरू भएका देखिन्छन् ।
“गुरुहरु हाम्रालागी पुजनिय हुनुहुन्छ, गुरुमांहरु/गुरुहरु, देशले तपाईहरुको योगदान र बलिदानीलाई नबुझेको कारण हामि सचेत नागरिकको निक्कै मन रोएको छ । सरकारको तल्लो निकाए, जससंग, जनताको घर-घरको, दैलो-दैलोको सहि सुचना छ, यस्तो जनशक्तिलाई राज्यले आफ्नो वनाएर, खुशी बनाएर बिकास निर्माणमा लाग्नु पर्नेमा, उल्टो यहांहरुलाई नचिनेको ब्यबहार गरेको छ र सधै भन्छ शिक्षक तिमी को हौं”, आन्दोलनलाई शुभकामना दिदै एक सर्बसाधारणले बताए ।
उता शिक्षकका पेशागत संस्थाहरु र मुख्यत साझा संस्थाको रुपमा रहेको नेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीका सबै प्रकारका भावनाहरुको प्रतिनिधित्व गर्दै विगत लामो समयदेखि विभिन्न प्रकृतिका दवावमूलक संघर्ष गरिरहेको थियो । आफुले विश्वास गरेका राजनीतिक नेतृत्वदेखि सरकारका जिम्मेवार मन्त्रीहरु,प्रधानमन्त्री समेतलाई पटक पटक ध्यानाकर्षण गर्ने,पैरवी गर्ने जस्ता कार्यहरु गर्दागर्दै पनि गत २०८० भाद्र २७ गते शिक्षा मन्त्रालयले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा ऐन २०८० मा आफ्ना माग मुद्धाहरु संवोधन नगराइएपछि शिक्षक महासंघ र आवद्ध/संवद्ध घटकहरु आक्रोशित हुनु स्वभाविक थियो ।




