एकजना शिक्षकले आफ्नो प्रधानाध्यापकसँग अनुरोध गरे, “मलाई यो विद्यालयमा काम गर्न मनै लागेन । मेरो यहाँबाट सरूवा गरिदिनु पर्यो ।”
प्रधानाध्यापकले सोधे, “तर, किन ? खास कारण के हो ?”
शिक्षकले भने, “यहाँका शिक्षक कर्मचारीहरूले एक अर्काको बारेमा कुरा काट्दा रहेछन । त्यत्तिकै काम नगरेर बस्दा रहेछन । केहीले त आफ्नै साथीहरूलाई गलत नजरले हेर्दा रहेछन । यहाँ धेरै काम गलत भइरहेका छन् । म यहाँ कुनै हालतमा पनि बस्न चाहन्न ।”
प्रधानाध्यापकले शिक्षकलाई भने, “तपाईं यो विद्यालय छोड्न चाहनुहुन्छ भने ठिकै छ । तर जानु अगाडि कृपया एक काम गर्नुहोस् । त्यो के काम भने पानीले भरिएको एउटा गिलास हातमा समातेर एक थोपा पनि पानी नपोखी सबै कार्यकक्षहरूमा तीन पटक घुमेर आउनुहोस् ।”
शिक्षक आफ्नो प्रधानाध्यापकले भनेझैँ ३ पटक घुमेर आए । अनि प्रधानाध्यापकलाई भने, “यहाँले भनेअनुसार मैले गरें हजुर !”
त्यसपछि प्रधानाध्यापकले शिक्षकलाई सोधे- “तपाईं ३ पटक कार्यकक्षहरूमा घुम्दा कुनै कोठामा शिक्षक, कर्मचारीले कुरा गरेर बसेको, कुरा काटेको वा अवाञ्छित गतिविधि गरेको केही देख्नुभयो ?”
“त्यतातिर त मैले ध्यान नै दिइन, हजुर !” शिक्षकले भने ।
“किन त्यस्तो भयो, थाहा छ ?” प्रधानाध्यापकले सोधे ।”
“थाहा छैन ।” शिक्षकले भने ।
प्रधानाध्यापकले शिक्षकलाई सम्झाउँदै भने, “पानीले भरिएको गिलास लिएर घुम्दा तपाईको पूरा ध्यान गिलासमा थियो । त्यसबाट पानी पटक्कै नपोखियोस् भन्नेमा मात्र थियो । हो, जीवन पनि यस्तै हो । जब हाम्रो पूरा ध्यान आफ्नो प्राथमिकतामा रहन्छ, हामीलाई अरूले के गलत काम गरिरहेका छन् भनी हेर्ने फुर्सद नै हुँदैन ।”
आफ्नो प्राथमिकतामा ध्यान दिउँ, अरूका गल्तीमा होइन ।(साभार)
प्रधानाध्यापकको अनुरोध शिक्षकलाई
प्रधानाध्यापकको अनुरोध शिक्षकलाई
Advertisement
तपाईको प्रतिक्रिया




