काठमाडौं । वि. सं. २०५५ सालमा स्थापना भएको झण्डै १६६३ व.कि.मि. क्षेत्रफल रहेको मनास्लु संरक्षण क्षेत्र सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको थियो । गण्डकी प्रदेशका दुई गोरखा र मनाङ जिल्लामा रहेको यो संरक्षण क्षेत्र उत्तरमा मित्रराष्ट्र चीनको सिमानासँग जोडिएको छ भने पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तीरैतीर भई लार्के भञ्ज्याङ (५१०६ मि.) नाघेर करिब १० दिनको पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । यस क्षेत्रको उँचाइ ६०० मि. देखि संसारको आठौं अग्लो चुचुरो (८,१६३ मि.) मनास्लुसम्म फैलिएको छ ।
कोरोनाले प्रभावित मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा पछिल्लो समय उल्लेख्य सुधार आएको छ । असोजमा मात्र २ हजार २ सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का अनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार ९ सय २६ विदेशीले मनास्लुको भ्रमण गरेका छन् ।
साउनमा ८० र भदौमा ५ सय ७० विदेशी पर्यटक मनास्लु क्षेत्र आएको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए । ‘दैनिक एक सयभन्दा बढी पर्यटक मनास्लु क्षेत्र आएका छन्,’ उनले भने, ‘यो वर्ष चाँडो हिमपात सुरु नभए कात्तिकमा अझै पर्यटक बढ्ने अनुमान छ ।’ पर्यटकको आवागमन बढेपछि मनास्लु क्षेत्रका होटल तथा पैदलमार्गमा चहलपहल बढेको छ ।
फ्रान्स, स्पेन, नेदरल्यान्ड्स, चीन, जर्मनीलगायत देशका पर्यटक बढी मनास्लु क्षेत्र आएका हुन् । मनास्लु क्षेत्र आउने पर्यटक चुम र नुव्री उपत्यका हुँदै लार्के पास गर्ने गरेको उनले बताए । सन् २०२१ मा ९ सय २५ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । सन् २०२२ को एक वर्षमा ६ हजार एक सय दुई जना पर्यटक मनास्लु भित्रिएका थिए । यस वर्ष भने असोजसम्मको तथ्यांकअनुसार ५५ सय पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । पछिल्लो समय आन्तरिक पर्यटक पनि मनास्लु क्षेत्र भ्रममणमा जाने गरेका छन् ।
सडक सञ्जाल विस्तार नहुँदा पदयात्रा गर्नेको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । ‘कोरोनाका बेला पर्यटकको संख्या निकै घटेको थियो, गत वर्षबाट मनास्लुमा पर्यटक बढ्न थालेका हुन् । गत वर्षको तुलनामा यस वर्ष पर्यटकको फ्लो अझै राम्रो छ,’ उनले भने । मनास्लु पुग्ने पर्यटकले लोपोन्मुख प्रजातिको वन्यजन्तु, चराचुरुंगी,
गुम्बा, हिमशृंखलाको समेत अवलोकन गर्न पाउँछन् । चुमनुव्री गाउँपालिकाअन्तर्गत पर्ने मनास्लु संरक्षण क्षेत्र २ सय १ प्रजातिका चरा, ३९ प्रकारका स्तनधारी, १३ प्रजातिका पुतली, ५७६ प्रजातिका वनस्पति पाइन्छन् ।
सडक सञ्जाल विस्तार नभएको र पदयात्रीका लागि प्राकृतिक सौन्दर्यसँगै विभिन्न संस्कृतिको अवलोकन गर्नेहरूको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको छ । यस क्षेत्रमा पर्यटक बढेसँगै होटल व्यवसायी पनि उत्साहित छन् । दिनको एक सयभन्दा बढी पर्यटक मनास्लु क्षेत्र आएकाले होटल पनि खचाखच रहेको मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले जनाए ।
‘होटल व्यवसायीलाई मात्र नभई स्थानीयलाई पनि फाइदा भएको छ, एउटै होटलमा तीन–चार जनाले काम पाएका छन् । किसानका आलु तरकारी पनि यहीँका होटल व्यवसायीले किनेका छन्,’ उनले भने, ‘कोरोनाका बेला होटल व्यवसायी पनि निराश थिए, कोरोनापछि यस वर्षबाट पर्यटकको संख्या बढ्न थालेको हो ।’






