• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख १२, २०८३
☰
शनिबार, बैशाख १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वाइल्डलाइफ फोटोग्राफीमा चासो राख्नेहरुका लागी प्रेरणा बन्न सक्छन् उत्सव थापा


  •   बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित
  • काठमाडौं । सन् २०१३ ताका नेपाल आर्मीका लेफ्टिनेन्ट कर्नेल उत्सवजङ्ग थापा आफ्नो परिवारसँग चितवन राष्ट्रिय निकुञ्ज घुम्न निस्किएका थिए । जङ्गल सफारी जाँदा उनीसँगै रहेका गाइडले रङ्गीचङ्गी चरा देखाए ।

    Advertisement

    “सफारीमा घुम्न गएको बेला गाइडहरूले मलाई दुई ओटा प्रजातिका चरा देखाए,” एक दशक अगाडिको कुरा स्मरण गर्दै थापा भन्छन्, “एउटा चित्रकूट थियो, अनि अर्को साइबेरियन रातोकण्ठ चरा । रङ्गीन चराहरूको त्यो आकर्षक दृश्य अहिले पनि मेरो आँखामा झलझली आउँछ ।”

    त्यो दिन उनले चरा बाहेक अन्य वन्यजन्तु पनि देख्ने मौका पाए । जङ्गल सफारीपछि थापालाई चरामा रुचि बढ्न थाल्यो । उनी घर फर्किएपछि नेपालमा पाइने र नेपालमा जाडो छल्न आउने चराहरूमाथि अध्ययन गर्न थाले । अधिकांश समय ब्यारेकमा बिताउने उनलाई जङ्गलको वातावरण बढी आकर्षक लाग्न थाल्यो ।

    अध्ययन गर्दै जाँदा चराका तस्विर देखेर उनलाई पनि त्यस्तै तस्विर कैद गर्ने इच्छा जाग्यो । उनले त्यसको केही समयपछि ५० हजार रुपैयाँमा क्यानन् ११०० डी (लेन्स ५५-२५०) क्यामेरा खरिद गरे । आजभन्दा एक दशकअघि त्यो क्यामेरा स्तरीय नै मानिन्थ्यो ।

    क्यामेरा खरिद गरिसकेपछि फोटो कैद गर्न उनी पुनः सफारीका लागि निस्किए । क्यामेरा बोकेर सफारीमा गएको बेला उनले पहिलो पटकमै बाघले जरायो खाइरहेको फोटो पनि खिचे । चराको फोटोग्राफीमा लागेका उनलाई त्यही फोटोले वाइल्डलाइफ फोटोग्राफी गर्न प्रेरित गर्‍यो ।

    उनी भन्छन्, “पहिलो पटक क्यामेरा लिएर जङ्गल गएकै दिन बाघको फोटो खिच्ने मौका पाएँ । त्यसपछि वाइल्डलाइफ फोटोग्राफीमा पनि मेरो रुचि बढ्दै गयो । त्यस पछि त आर्मीमा भए पनि समय मिलाएर फोटो खिच्न जान थालें ।”

    उनी ब्यारेकबाटै कामको सिलसिलामा चितवन गइरहन्थे । विशेषगरी चितवनको मेघौलीमा उनको गस्ती पर्थ्यो । त्यसरी कामले चितवन जाँदा पनि उनले फोटोग्राफीको रहरलाई आफ्नो यात्रासँगै अघि बढाइरहेका थिए ।

    “मौका पाएको बेला क्यामेरा लिएर गइहाल्थें,” उनी सम्झिन्छन्, “यसरी बर्ड फोटोग्राफीतिर रुचि बढ्दै गयो ।”

     

    रहरै रहरमा उनको फोटोग्राफीको यात्रा सुरु भयो । उनी चराकै कारण फोटोग्राफीतर्फ तानिएका थिए । जङ्गल जाँदा हरेक किसिमका वन्यजन्तु देखिने भएपछि उनी वन्यजन्तु फोटोग्राफीमा पनि सक्रिय हुन थाले ।

    त्यस समयमा फोटो उच्च गुणस्तरको हुनुपर्छ भन्ने मान्यता थिएन । झन् वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय हुनेको सङ्ख्या ज्यादै न्यून थियो । “टाढाको वस्तुलाई नजिकको देखाउने हाई जुमिङ लेन्स भएका क्यामेरा थिएनन् त्यस बेला,” उनी भन्छन्, “क्यामेरा राम्रो हुनुपर्छ भन्ने आवश्यकता धेरै पछि मात्र महसुस भयो ।”

     

    रहर जाग्दै गएपछि क्यामेरा पनि अपडेट

    सुरुवाती समयमा रहरै रहरमा फोटो खिच्न थालेका थापालाई विस्तारै स्तरीय र प्राकृतिक स्वरूपकै फोटो खिच्नुपर्छ भन्ने लाग्यो । विशेषगरी वन्यजन्तु फोटोग्राफीमा लागेका उनलाई टाढाका जनावर नजिकै देखाउने स्तरीय लेन्सको आवश्यकता थियो ।

    आवश्यकता र रहरमा थापाले फोटोग्राफीमा संलग्न भएको तीन वर्षपछि अर्थात् सन् २०१६ मा लामो लेन्स भएको क्यानन् सेभेन डी मार्क आईआई (७०-३०० क्यानन एल लेन्स) क्यामेरा किने । त्यतिबेला उनले खरिद गरेको सो क्यामेराको मूल्य एक लाख रुपैयाँ भएको उनी सम्झिन्छन् ।

    समय मिलेको बेलामा फोटो खिच्न गएपछि उनलाई राम्रा र आकर्षक फोटोको बारेमा जानकारी हुन थाल्यो । “रहरैरहरमा मैले फोटो खिच्न सुरु गरेको थिएँ,” उनी भन्छन्, “यो वन्यजन्तु र चराहरूमा बढी रुचि भएर होला मेरो लगाव धेरै त्यसैमा हुन थाल्यो । मैले आजका मितिसम्म पनि कहीं कतै गएर फोटोग्राफी सिकेको छैन । आजसम्म मैले खिचेका सबै फोटो अनुभवकै आधारमा खिचेको हुँ ।”

     

    सैन्य पेसाले वाइल्डलाइफ फोटोग्राफी झनै सजिलो

    वाइल्डलाइफ फोटोग्राफीमा स्तरीय क्यामेरा वा अन्य किसिमका ग्याजेट मात्र सब थोक होइनन् । हरेक दिन डर बोकेर जङ्गल जानुपर्ने हुन्छ । पाइला पाइलामा हुने जङ्गली जनावर, किराफट्याङ्ग्रा, जङ्गली विषालु झारको डरै डरमा फोटो खिच्नुपर्ने हुन्छ ।

    आर्मी भएकाले उनलाई वाइल्डलाइफ फोटोग्राफीमा भिज्न झन् सहज भयो । “म आर्मी भएकाले पनि होला, मलाई डाँडाकाँडा चढ्न, नदि तर्न, जङ्गल डुल्न त्यति गाह्रो थिएन्,” उनी भन्छन्, “तालिम पनि वनजङ्गलमै गरेको मान्छे, रहर पनि पछि वाइल्डलाइफ फोटोग्राफीमै भयो, सबै कुराले साथ दिएपछि वाइल्डलाइफ फोटोग्राफीमा भिज्न सजिलो भयो ।”

     

    क्यामेराको लत बसेपछि जागिर छोडे

    उनले निरन्तर २८ वर्षसम्म नेपाली सेनामा सेवा गरे ।सेकेन्ड लेफ्टिनेन्टबाट नेपाल आर्मीमा प्रवेश गरेका उनी २८ वर्षको अवधीमा बढवा भएर लेफ्टिनेन्ट कर्नेल पदमा पुगेका थिए । यता वाइल्डलाइफ फोटोग्राफीमा डुबेका थापा आफ्नो जागिरमा पनि उत्तिकै समय दिएर सेवा गरिरहेका थिए ।

    सन् २०२० तिर उनी अमेरिका गएको बेला यता नेपाली सेनाभित्र उनको साटो तल्लो अहोदामा रहेका सैनिकको रणनीतिक रूपमा बढवा भयो । फोटोग्राफीको आड पाएका थापालाई पद प्रमोसनका लागि भएको राजनीतिक लुछाचुँडी चित्त बुझेन । अनि जागिर छोडे र पूर्ण रूपमा फोटोग्राफीतिर लागे ।

     

    स्तरीय क्यामेरा

    फोटो खिच्नका लागि स्तरीय क्यामेरा नै हुनुपर्छ भन्ने मान्यता राख्दैनन् थापा । भन्छन्, “सबै कुरा क्यामेरा मात्र होइन । विशेषगरी वाइल्डलाइफ फोटोग्राफीमा क्यामेरासँगै सीपसँगै धेरै कुराको आवश्यकता पर्छ ।”

    उनले सन् २०१८ मा क्यानन सेभेन डी मार्क आईआई (सिग्मा ६०-६०० लेन्स) खरिद गरेका थिए । त्यसको एक वर्षपछि अर्थात् २०१९ मा सोनी अल्फा नाइन (सोनी २००-६०० लेन्स) क्यामेरा लिए ।

    उनले हालै झन्डै सात लाख रुपैयाँमा क्यानन् सेभेन डी मार्क आईआई (सिग्मा १५०-६०० लेन्स) क्यामेरा खरिद गरेका छन् । “रहर लागेर क्यामेरा खरिद गरेको हुँ । तर फोटो खिच्नलाई स्तरीय क्यामेरा नै चाहिन्छ, महँगो क्यामेरा हुनैपर्छ भन्ने छैन,” उनी भन्छन्, “यसमा सीप र अनुभव महत्त्वपूर्ण हुँदो रहेछ । क्यामेरालाई जसरी चलाउन सक्यो, त्यस्तै फोटो खिच्छ । त्यसैले मुख्य कुरा फोटोको एङ्गल थाहा पाउनु पर्छ ।”

    बर्ड फोटोग्राफीमा पनि उनी मानिसमा धैर्यता हुन आवश्यक रहेको ठान्छन् । “वाइल्डलाइफ र बर्ड फोटोग्राफीका लागि रहर, चाहना र लगाव हुनुपर्छ ,” उनी भन्छन्, “म जङ्गल गएर यो चरा वा जनावर खिच्छु भन्ने हुँदैन । बाटोमा जुन चरा वा जनावर भेटिन्छ, त्यही खिच्नुपर्ने हुन्छ । त्यसमा मुख्य कुरा एङ्गल खोज्न सक्यो भने फोटो राम्रो निकाल्न सकिन्छ ।”

    फोटोका लागि लाइट कति राख्ने, कति अपार्चर राख्ने, आईएसओ स्पिड कति राख्दा राम्रो हुन्छ, शार्पमा खिच्दा कस्तो कलर आउँछ, बिहान खिच्दा कस्तो सेटिङ राख्ने, दिउसो र साँझका लागि कस्तो लाइट पार्ने, पानीमा भएको चरा वा वन्यजन्तुको फोटोका लागि केकस्ता सेटिङ मिलाउने भन्ने कुरा राम्रोसँग बुझेको छ भने वन्यजन्तुको स्तरीय फोटो खिच्न सकिन्छ ।

    “जनावरकै कुरा गर्नुपर्दा बाघ तपाईं हुने ठाउँमा आएर मेरो फोटो खिचिदिनु होस् भन्दैन,” उनी भन्छन्, “कस्तो परिस्थितिमा कुन प्रकारको फोटो खिच्ने भन्ने तयारी अनुभवले सिकाउँछ । वाइल्डलाइफ फोटोग्राफीमा यस्ता सीप धेरै काम लाग्छन् ।”

    उनी बाघ पाइने नेपालका सबैजसो जिल्लामा आफू गएको बेला हरेक पटक बाघ देखेको दाबी गर्छन् । भन्छन्, “म यति लक्की रहेछु कि हरेक पटक जङ्गल सफारी जाँदा बाघ देखेकै हुन्छु । चाहे बर्दिया होस् वा चितवन वा शुक्लाफाँटा अथवा बाँके तथा पर्सा नै किन नहोस् । बाघ पाइने हरेक जिल्लामा जाँदा बाघ देखेकै हुन्छु ।”

    उनी अगाडि भन्छन्, “आर्मीमा २८ वर्षसम्म जागिरे भएकाले मैले धैर्य गर्नुपर्छ, दुःख गर्नुपर्छ, डराउनु वा आत्तिनु हुँदैन भन्ने सिकेको छु । वाइल्डलाइफ फोटोग्राफीमा पनि यो सीप एकदमै आवश्यक पर्छ । सधैं बाघ, चितुवा, गैंडा वा हात्ती नदेखिन सक्छ । यस्तोमा धैर्यता चाहिन्छ ।”

     

    दुर्लभ बाघको दुर्लभ फोटो

    बाघको जस्तोसुकै फोटो खिचे पनि डमरु सहितको बाघको फोटो निकै दुर्लभ मानिन्छ । भाले बाघ र अन्य वन्यजन्तुको डर हुने भएकाले बघिनीले डमरु छ महिना नपुगेसम्म बाहिर निकाल्दैन । तर, उनी जङ्गल सफारीमा गएको बेला ४ डिसेम्बर २०२२ मा डमरु बाटोमा आएको फेला पारे र त्यसलाई क्यामेरामा कैद गर्न सफल भए ।

    दुई महिनाको डमरुलाई बाटोमा हिंड्दै गरेको फोटो खिच्नु उनका लागि निकै ठूलो उपलब्धिको कुरा थियो । त्यो फोटो पछि विभिन्न सञ्चार माध्यममा पनि आयो । थापा भन्छन्, “डमरुसँग भएको बाघसामु पुग्नु निकै जोखिम हुन्छ । त्यो दिन नजिकैको झाडीमा भएका डमरु खेल्दाखेल्दै बाटोमा निस्किएका रहेछन् । भाग्यले फोटो खिच्न पाएँ ।”

     

    यसरी दुई महिनाका डुमरु बाटोमै रहेको अवस्थामा फोटो खिच्नेमा आफू पहिलो व्यक्ति भएको उनको दाबी छ ।

    त्यस बाहेक उनले चितवनमा देखिएको एउटा मात्र वन कुकुरको फोटो समेत खिचेका छन् । यो कुकुर यति दुर्लभ हो कि त्यहाँ घुम्न गएका पर्यटकले बिरलै उक्त कुकुर फेला पारेका छन् ।

     

    वाइल्डलाइफ फोटोग्राफीः जोखिम र चुनौतीले भरिएको पेसा

    हुन त सबैलाई वन्यजन्तुका फोटो चित्त बुझ्छन् भन्ने हुँदैन । ठाउँ, परिस्थिति, वातावरण आदि कुराले उसलाई कस्तो फोटो मन पर्छ भन्ने हुन्छ । कसैलाई हिमालको फोटो मन पर्छ, कसैलाई नदीनालाको, कसैलाई झरनाको, कसैलाई चराचुरुङ्गीको, कसैलाई मठमन्दिरको, त कसैलाई वन्यजन्तुको । प्रकृति, प्राकृतिक स्रोत र पारिस्थितिक प्रणालीको महत्त्व बुझेका मानिसहरूले वन्यजन्तु फोटोग्राफीको महत्त्व बुझ्ने थापाको बुझाई छ ।

    हेर्दा सामान्य लागेका बाघ, भालु, हात्ती र गैंडाको फोटोको पछाडि कैयौं जोखिम र चुनौती लुकेका हुन्छन् । “वाइल्डलाइफ फोटोग्राफी जोखिमै जोखिमले भरिएको पेसा हो,” थापा सुनाउँछन्, “हामीलाई जङ्गल जाँदा कुनै हातहतियार लैजान दिइएको हुँदैन । हतियारको रूपमा क्यामेरा र एउटा लौरी हुन्छ । डरलाग्दो जङ्गलमा हिंड्दै गएका हुन्छौं । एउटै फोटोका लागि कैयौं घण्टा कुर्नुपर्छ ।”

    वन्यजन्तुको फोटो खिच्नका लागि क्यामेरा मात्र भएर पुग्दैन । जङ्गलका नीति नियम, वन्यजन्तुका आनीबानी बुझेको हुनुपर्छ । “जहाँकहीं गाडीबाट ओर्लिनु हुँदैन, जङ्गलमा अनावश्यक फेन्सी लुगा वा पर्फ्युम लगाउनु हुँदैन,” थापा भन्छन्, “नेपालका जङ्गल चिडियाखाना होइनन् । त्यहाँ पाइला पाइलामा डर लुकेको हुन्छ । त्यसैले सचेत हुनुपर्छ ।”

    यसरी वाइल्डलाइफ फोटोग्राफरले हरेक पाइलामा डर बोकेर वाइल्डलाइफ फोटोग्राफी गरिरहेका हुन्छन् । “यो सबै जोखिम हामीले आफ्नै लागि लिएका हुन्छौं । लगाव र रहर नभए त यो पेसालाई निरन्तरता नै दिन सकिंदैन,” उनी थप्छन् ।

    वातावरण जोगाउनुपर्छ, वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने प्रण भएकै कारण आफूले यसलाई निरन्तरता दिन सकेको उनी सुनाउँछन् ।

     

    जङ्गल जाँदा के कस्ता ग्याजेट लिएर जाने ?

    घुम्ने उद्देश्यले जङ्गल जानु भएको छ भने गाइडले नै आवश्यक ग्याजेट र अन्य उपकरण उपलब्ध गराउँछन् । तर, निरन्तर वाइल्डलाइफ फोटोग्राफी गर्ने हो भने जङ्गलमा आफ्नो सुरक्षा र अन्य विविध कारणका लागि विभिन्न ग्याजेटहरू लिएर जानुपर्छ ।

    “जङ्गल जाँदा बाइनाकुलर, क्यामेरा, मोबाइल, टर्च, जीपीएस, कम्पास लैजानुपर्ने हुन्छ,” थापा भन्छन्, “फोनमा पनि एनसेल र नमस्ते दुवैको सिम राख्नपर्छ । किनभने कतै एउटाको नेटवर्क मात्रै टिप्छ भने कतै अर्काको मात्रै टिप्छ ।”

    त्यस्तै जीपीएस डिभाइस लगेको अवस्थामा आफूले देखेका वन्यजन्तु मार्क गर्न सकिन्छ । आफू कहाँ कहाँ गइएको थियो भन्ने नोट गर्न सकिन्छ । अनि कम्पासको सहायताले आफू कुन दिशामा जाँदैछु, फर्किंदा कुन दिशातिर जाने भन्ने थाहा हुन्छ । उनी भन्छन्, “केहीगरी नेपालका जङ्गलमा हरायो भने खोलै खोला जानुपर्छ । त्यसो गर्दा अन्तिममा कतै न कतैबाट गाउँमा पुगिन्छ ।”

     

    वन्यजन्तुको फोटोमा वाटरमार्क कत्तिको आवश्यक ?

    क्यालेन्डर तथा विभिन्न ब्यानरमा देखिने वन्यजन्तुका फोटो बाहेक अन्य फोटोमा फोटोमा फोटोग्राफरको वाटरमार्क रहेको हुन्छ । वाटरमार्क भन्नाले फोटोग्राफरको नाम वा कपिराइट जनाउने सङ्केत हो । कतिपयले भद्दा किसिमले फोटोमा वाटरमार्क राखेका हुन्छन् भने केहीले सामान्य तरिकाले, कम ओपासिटीमा वाटरमार्क राख्छन् ।

    थापाले भने आफ्नो वाटरमार्क अङ्ग्रेजीमा (Utsab@Nature) राखेका हुन्छन् । फोटोग्राफीमा वाटरमार्क कत्तिको आवश्यक हो ? जवाफमा थापा भन्छन्, “सामान्यतः कुनै पनि फोटोग्राफरले आफ्नो रहर, चाहना र पेसाका लागि फोटोग्राफी गरेको हुन्छ ।

    वन्यजन्तुको फोटो खिच्दा जोखिम उत्तिकै हुन्छ । खर्च पनि त्यस्तै हुन्छ । र, आफूले खिचेको फोटो अरू कसैले मेरो हो भनिदिने अवस्था आउँछ । त्यही अवस्था आउने भएकाले फोटोमा वाटरमार्क राख्न आवश्यक हुन्छ ।”

    वाटरमार्क राख्दा चरा वा वन्यजन्तुको शरीरको मुख्य भागमा नराख्न थापाको सुझाव छ । वाटरमार्कको महत्त्व नबुझेर वा कहाँ राख्दा राम्रो हुन्छ भन्ने थाहा नपाएर केहीले फोटोको मुख्य भागमा भद्दा तरिकाले वाटरमार्क राख्ने गरेको थापा बताउँछन् ।

    “वन्यजन्तुको जिउमै वाटरमार्क राख्दा चराभन्दा अगाडि आँखामा वाटरमार्क आउँछ,” उनी थप्छन्, “त्यसले फोटोको महत्त्व घटाउँछ । आफूले थाहा पाउने तर अरूले थाहा नपाउने गरी राख्दा राम्रो हुन्छ । वाटरमार्कको महत्त्व प्रतिलिपि अधिकारसँग मात्र जोडिने भएकाले त्यसलाई भद्दा बनाएर राख्नु राम्रो होइन ।” त्यस्तै वाटरमार्क फेन्सी वाटरमार्क भन्दा पनि सामान्य फन्टमा राख्दा स्तरीय देखिने उनको अनुभव छ ।

     

    जेसुकैको फोटो खिचे पनि एडिटिङ लगभग अपरिहार्य जस्तै हुन्छ । कुनै ठाउँ वा व्यक्तिकै फोटो खिच्दा पनि विभिन्न इफेक्ट र फिल्टर प्रयोग गरी फोटो राम्रो देखाउने गरिन्छ । तर, वाइल्डलाइफ फोटोग्राफीको सन्दर्भमा भने प्राकृतिक फोटो नै आकर्षक हुने थापा सुनाउँछन् ।

    “चराको फोटो खिचिसकेपछि कतिपय फोटोग्राफरले लाइटरुम, फोटोशप, शार्पनेस वा अहिले आएको एआई प्रयोग गर्छन्,” उनी भन्छन्, “म चाहिं चरा र जनावरको फोटो खिचिसकेपछि त्यो अँध्यारो छ भने उज्यालो बनाउने र बढी उज्यालो छ भने लाइट ब्यालेन्स गर्ने काम गर्छु । त्यो बाहेक अन्य एडिट म गर्दिनँ र नगर्न सुझाव पनि दिन्छु ।”

    जङ्गलमा खिचेको चराको प्राकृतिक रङ्ग नै आउनुपर्ने हुन्छ । तब मात्र फोटोको मर्म हुन्छ । थापा अगाडि थप्छन्, “चरा वा जनावरको पृष्ठभूमिमा प्राकृतिक रूपमा जे छ, त्यही यथावत राखेर प्राकृतिक वासस्थान सहितकै फोटो खिच्नुपर्छ । फोटोशपमा चिल्लो बनाएर फोटो स्टुडियोमा खिचे जस्तो बनाउनु हुँदैन फोटो ।”

    थापाका अनुसार वाइल्डलाइफ फोटोग्राफीको मान्यता नै वन्यजन्तु जस्तो अवस्थामा छ, त्यस्तै खिच्नुपर्छ भन्ने हुन्छ । सँगसँगै प्राकृतिक अवस्थामा रहेको वन्यजन्तुको फोटो र उसको वासस्थान सहितको फोटो आकर्षक मानिने उनी सुनाउँछन् । “वन्यजन्तुको सन्दर्भमा मेरो मान्यता के छ भने फोटोलाई अनावश्यक एडिट गर्नु हुँदैन ।अनेक एडिट गर्ने, अनेक रङ्ग भर्ने र ब्याकग्राउन्ड परिवर्तन गर्ने कार्यले फोटोको गुणस्तर घट्छ,” थापा भन्छन् ।

     

    वाइल्डलाइफ फोटोग्राफरका लागि सामाजिक सञ्जाल

    सबै फोटो सामाजिक सञ्जालमा राख्नैपर्छ भन्ने हुँदैन । तर, जनचेतना जगाउने, वन्यजन्तुको बारेमा जानकारी दिनका लागि सामाजिक सञ्जालको भूमिका महत्त्वपूर्ण हुने थापाको विश्वास छ ।

    उनी भन्छन्, “सामाजिक सञ्जालमा फोटो राख्दा चरा वा जनावरको नेपाली नाम, अङ्ग्रेजी नाम, र वैज्ञानिक नामका साथै उक्त वन्यजन्तु कहिले, कहाँ र कस्तो अवस्थामा भेटिएको हो भन्ने उल्लेख गर्नुपर्छ । यसो गर्दा फोटोमा भएको वन्यजन्तुलाई धेरैले चिन्ने र त्यसको महत्त्व थाहा पाउन सक्छन् ।”

    त्यस बाहेक कुनै व्यक्तिले सामाजिक सञ्जालमा भेटेकै फोटोको आधारमा पछि घुम्न जाँदा ती ठाउँलाई बढी प्राथमिकतामा राखिरहेका हुन्छन् । त्यस्तै यसरी विवरण राख्दा कुनै विशेष चराको वारेमा खोज तथा अनुसन्धान गर्नेलाई पनि सहज हुन्छ ।

     

    जङ्गलका अविस्मरणीय पल

    हुन त जङ्गलमा हरेक दिन नयाँ हुन्छ । फरक फरक वन्यजन्तु, फरक फरक स्थानमा देख्न पाइन्छ । हिजो जोखिम थिएन, त्यसैले आज पनि जोखिम हुँदैन भन्ने छैन । जोखिम मात्र हुन्छ भन्ने पनि छैन ।

    कहिलेकाहीं मानसपटलमा जङ्गलका यस्ता पलहरू कैद हुन्छन्, जसलाई कसै गरे पनि बिर्सिन सकिंदैन । अविस्मरणीय पल सम्झिँदै मुहारमा थोरै मुस्कान ल्याएर थापा भन्छन्, “धेरैले बाघले जरायो वा अन्य आहारा लछारी रहेको फोटो खिचेका हुन्छन् । मैले एक वर्षअघि चितवनमा बाघले चित्तललाई झम्टिन लागेको लाइभ फोटो खिचेको थिएँ । त्यो मेरा लागि एकदमै अविस्मरणीय क्षण हो ।”

    त्यस्तै एउटै फ्रेममा बाघ र भालु खिचेका पलहरू निकै कम हुन्छन् । थापाले भने भालु र बाघ एकअर्काको फरक दिशाबाट एक अर्काको नजिक आउन लागेको फोटो पनि कैद गरेका छन् । त्यस बाहेक पनि दुई महिनाभन्दा साना उमेरका डमरुको फोटो खिच्न पाउँदा त झन् थापा आफूलाई सौभाग्यशाली नै ठान्छन् । यस्ता पलहरू आफ्ना लागि निकै रोमाञ्चक भएको उनी सुनाउँछन् ।

     

    थापाले डमरुको फोटो ४ डिसेम्बर २०२२ मा खिचेका थिए । त्यसको एक महिनापछि अर्थात् जनवरी २०२३ मा उनी त्यही क्षेत्रमा सफारीका लागि निस्किएका थिए । त्यही बच्चा देखिएको ठाउँतिर बाघ भर्खरै गएको जस्तो देखिने पाइलाका डोबहरू थिए ।

    एउटा छेउमा आमा र अर्को छेउमा डमरुको पाइला देखेपछि त्यसलाई पछ्याउँदै बाघ अगाडि बढेको दिशातिर गए । उनले लगभग २५ मिटर जति ती पाइला गाडीबाटै पछ्याए । त्यसपछि ती पाइला बायाँतर्फ मोडिएको देखियो । उनीहरू जोखिम मोलेर भित्र नजानुपर्ने थियो, तर बाघका पाइला देखेपछि गाडीबाट झेरेर त्यतै लागे । थापा पनि आफ्नो गाइडसँगै पाइला पछ्याउँदै अघि बढिरहेका थिए । गाडीबाट उत्रेर केही कदम मात्र के चालेका थिए, बाघ उनीहरूका अघि आइपुग्यो ।

    अनुहारमा डरलाग्दो भाव निकाल्दै थापा भन्छन्, “बाघ हामीबाट १० मिटर मात्र अगाडि थियो । बाघले फर्केर हामीलाई यसरी हेर्‍यो कि हाम्रो सातो नै जाला जस्तो भयो । हामी हतार हतार गाडीमा फर्कियौं ।” त्यो दिन केही पाइला मात्र अघि सारेको भए बाघले झम्टिन सक्ने उनी सुनाउँछन् । उक्त बाघसँग बच्चा भएकाले पनि त्यति नजिक पुग्नु निकै जोखिम थियो । त्यो समयमा आफू भाग्यले बाँचेको उनी बताउँछन् ।

    “एक पटक गैंडाले हाम्रो गाडीलाई हामी बसेकै अवस्थामा पल्टाउन खोजेको थियो,” उनी भन्छन्, “गाडी ठूलो भएकाले पल्टाउन सकेन । हामी त्यसैमा आड लागेर जोगियौं ।”

    बाघको पाइला पछ्याउँदै जाँदा कैयौं पटक बाघको मुखमा पुगेको, गैंडाले लखेट्दा ढलेको, रूखको पछाडि लुकेको, वन्यजन्तुबाट जोगिन रूखमा चढेको जस्ता अनुभव थापाले सँगालेका छन् ।

     

    कतिमा बिक्री हुन्छ वन्यजन्तुको फोटो ?

    नेपालमा बिस्तारै वन्यजन्तुका फोटो खिच्ने प्रचलन बढिरहेको छ । पर्यटन बोर्ड, राष्ट्र बैंक, राष्ट्रिय निकुञ्ज तथा अन्य विभिन्न संघ संस्थाले वाइल्डलाइफ फोटोग्राफरका फोटो खरिद गर्छन् । खरिद गरेका यस्ता फोटो उनीहरू विभिन्न कार्यक्रममा प्रयोग गर्ने, कार्यालयमा राख्ने, सङ्ग्रहालयमा सजाउने र क्यालेन्डरमा राख्ने गर्छन् ।

    विगत एक दशकदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय भएका थापाले एक वर्ष अघिदेखि मात्रै फोटो बिक्री गर्न थालेका हुन् । उनी भन्छन्, “मैले सातआठ वर्ष आफूलाई परीक्षण गरें । अब मेरा फोटो बिक्री गर्न लायक छन् भन्ने लागेपछि मात्रै मैले फोटो बिक्री गर्न थालेको हुँ ।”

    फोटो खिच्नुअघि धेरै कुरा मिलाउनुपर्ने हुन्छ । त्यसमा पनि महत्त्वपूर्ण कुरा पैसा र समय मिलाउनुपर्छ । “मैले फोटोग्राफीका लागि चार दिन छुट्याएँ भने त्यसका लागि मेरो एक डेढ लाख रुपैयाँ खर्च आउँछ,” थापा भन्छन्, “त्यसमा होटेल खर्च, गाइडको पारिश्रमिक, गाडीको खर्च, निकुञ्ज प्रवेश शुल्क र खानाको खर्च आदि जोडिएको हुन्छ ।”

    यी चार दिनमा कति जनावर देखिन पनि सक्छन्, नदेखिन पनि सक्छन् । त्यसैले कुनै दिन वन्यजन्तुको फोटो बिनै फर्किनुपर्ने हुन्छ । यस्तोमा फोटो नै नहुँदा खर्च बढी आउँछ ।

    फोटो खरिद गर्ने संस्थाले पनि फोटोग्राफरले खिचेका जस्तासुकै फोटो खरिद गर्छन् भन्ने छैन । उनीहरूको आफ्नै आवश्यकता हुन्छ । वाइल्डलाइफ फोटोग्राफरले त्यसका लागि मौलिक र आकर्षक फोटो खिचेको हुनुपर्छ । “बाघको फोटो धेरैले खिचेका हुन्छन्, तर कमै मान्छेको फोटो मात्र बिक्री हुन्छ,” उनी भन्छन्, “किनभने फोटो खरिद गर्ने कुरा एङ्गलमा भर पर्छ । त्यसका लागि फोटोमा केही फरकपन हुनुपर्‍यो ।”

     

    थापाले चराको फोटो बढीमा तीन हजार रुपैयाँमा बिक्री गरेका छन् । त्यस्तै बाघको फोटो १० हजार र भिडिओ २५ हजार रुपैयाँसम्म बिक्री गरेको सुनाउँछन् । उनी भन्छन्, “मैले खिचेको डमरुको फोटो धेरै माग भइरहेको छ । अहिले मैले त्यो फोटो र भिडिओ बिक्री गरिसकेको छैन । उचित मूल्य राखेर बिक्री गर्ने योजनामा छु ।”

    यसरी आम्दानी गर्न सक्ने भए पनि खर्चसँग सो आम्दानी सन्तुलन गर्न केही सकस हुने उनी सुनाउँछन् । एक वर्षमा सीमित फोटो बिक्री गर्दा उनले पाँच लाख रुपैयाँसम्म आम्दानी गरेका छन् ।

    विदेशी म्यागजिनलाई फोटो बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन् । सबै डिल पूरा भएमा फोटोको कति रकम लिने भन्ने बाहिर आउने उनको भनाई छ ।

     

    अन्य देशमा भने वाइल्डलाइफ फोटोग्राफरले मनग्गे आम्दानी गरिरहेका हुन्छन् । विशेषगरी विभिन्न क्लबलाई फोटो बिक्री गरेर, मिडियालाई दिएर र प्रतिस्पर्धामा सहभागी भएर आम्दानी गरिरहेका हुन्छन् ।

    नेपालको सन्दर्भमा पनि त्यस्ता कार्यक्रम आयोजना गर्न सके वाइल्डलाइफ फोटोग्राफीलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकिने थापाको विश्वास छ ।

     

    वन्यजन्तुको फोटो खिच्नुका अन्य फाइदा

    हुन त नेपालमा वन्यजन्तुका फोटो खरिद गर्ने भन्ने प्रचलन त्यति धेरै छैन । विभिन्न सङ्‍घ, संस्था र सरकारी निकायले स्तरीय फोटो खरिद गरिरहेका हुन्छन् । थापाको अनुभवमा वाइल्डलाइफ फोटोग्राफी गर्दा लोपोन्मुख वन्यजन्तुका बारेमा थाहा पाउने, तिनलाई संरक्षण गर्नुपर्छ भन्ने जनचेतना जगाउन सकिने थापाको विश्वास छ ।

    “वाइल्डलाइफ फोटोग्राफीको अर्को फाइदा भनेको लोपोन्मुख चराचुरुङ्गी, वन्यजन्तु लगायतको अनुसन्धान गर्न पाइन्छ,” थापा भन्छन्, “मैले पनि लोपोन्मुख चरा र वन्यजन्तुको फोटो खिचेको छु । त्यो नै वाइल्डलाइफ फोटोग्राफीको अर्को फाइदा हो ।”

    नेपालमा भएका ८८७ प्रजातिका चरामध्ये ६०० भन्दा बढी प्रजातिका चराको फोटो आफूले खिचिसकेको उनी बताउँछन् । अब हिमाली क्षेत्रमा रहेका वन्यजन्तु जस्तैः हिम चितुवा, रेड पाण्डा लगायत अन्य चराको फोटो खिच्ने उनको इच्छा छ ।(साभार)

     

    बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      मासिक राशिफल: वैशाख २०८३

    • ७.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer