चितवन । नेपालको तराई क्षेत्रका सीमित वन र राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा बाघ पाइन्छ । २०७९ को साउनमा सार्वजनिक भएको तथ्यांकअनुसार नेपालमा बाघको संख्या ३५५ छन् । यतिबेला बाघ वनमा मात्रै हैन, खोरमा पनि छन् । नरभक्षी बाघले अहिले चितवन, बर्दिया, पर्सा र बाँके निकुञ्जका खोर भरिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको वन क्षेत्रमा नेपालमा सबैभन्दा धेरै १२८ वटा बाघ छन् । बाघ धेरै भएको ठाउँमा मान्छेमाथि आक्रमण हुने घटना पनि भइरहन्छन् ।
आर्थिक वर्ष ०७८/७९ मा चितवन निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा १४ जना र नवलपरासीको राष्ट्रिय वन क्षेत्रमा दुई जना गरी बाघको आक्रमणमा परेर एकै वर्षमा १६ जनाको ज्यान गयो । आर्थिक वर्ष ०७९/८० मा बाघको आक्रमणबाट एक जनाको मात्रै मृत्यु भयो । ‘मान्छेमाथि आक्रमण गर्न सक्ने बाघ पहिचान, नियमित अनुगमन र समस्या ल्याउने बाघलाई नियन्त्रणमा लिन थालेपछि बाघ आक्रमणमा परेर मान्छेको मृत्यु नै हुने घटना स्वाट्टै घटेको हो,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने । तर त्यस्ता बाघ समाएर थुन्न थालेपछि खोर नै भरिभराउ भएका छन् । गत मंसिर ८ मा चितवन निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–६ जोगितालमा घाँस काट्न गएका चितवन राप्ती नगरपालिका–१ पिप्ले दुबीचौरका हरि पौडेलको बाघको आक्रमणमा परेर ज्यान गयो ।
उक्त बाघलाई नियन्त्रणमा लिन गएको निकुञ्जको टोलीले बाघले आक्रमण गरेर मारेको अर्को शव पनि देख्यो । यस्तो बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्नै पर्ने हुन्छ । निकुञ्जको टोलीले गत आइतबार बाघलाई नियन्त्रणमा लियो । तर बाघलाई राख्न फराकिलो खोर छैन । व्यवस्थापनको प्रयास भइरहेको सूचना अधिकारी तिवारीले बताए ।
यसअघि नै निकुञ्जले नियन्त्रणमा लिएर खोरमा राखेका बाघ ६ वटा थिए, थप अर्को बाघलाई नियन्त्रणमा लिएपछि कहाँ राख्ने हो भन्ने आपत परेको छ । ‘हामीसँग पहिल्यै कसरामा चारवटा र सौराहामा दुईवटा बाघ खोरमा छन् । अब थप बाघ राख्न मिल्ने अवस्था छैन,’ तिवारीले भने । विगतमा अन्य निकुञ्जमा बाघ पठाउने, ल्याउने नभएको पनि हैन । ‘यहाँ भएको खोरमा पाँच वटा बाघ छन् । अब बाघ समाइहाल्नुपर्यो भने कहाँको खोरमा राख्ने हो भन्ने आपत छ’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले भने । चितवनपछि सबैभन्दा धेरै १२५ वटा बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा छन् ।
चितवनको छिमेकी पर्सा निकुञ्जमा दुईवटा बाघ राख्न मिल्ने खोर पनि भरिएको छ । ‘यहाँको खोरमा जम्मा दुईवटा बाघ अटाउने हुन् । अहिले नै खोरमा दुईवटा बाघ छन्,’ पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने ।
धेरै नै अप्ठ्यारो पर्दा तीन वटासम्म राखेको उनले बताए । पर्सा निकुञ्जमा ४१ वटा बाघ छन् । बाँकेमा पनि बाघ राख्ने खोर नभएको हैन तर त्यो पनि खाली छैन । ‘यहाँ एउटा मात्रै अटाउने खोर छ । त्यसमा पनि अहिले बाघ छ । खोर खाली छैन,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले भने ।
निकुञ्जले पछिल्ला दिनमा नियन्त्रणमा लिएको बाघ खोरमै राख्नुपर्ने खालका छन् । चितवन निकुञ्जको शिशुवार पोस्ट क्षेत्रमा एउटा बाघ गाउँमा निस्कन थाल्यो । निकुञ्जले समाएर सेटेलाइट कलर राखेर फेरि निकुञ्जको जंगलमै छाड्यो । ‘सेटेलाइट कलर राखेपछि त त्यो बाघ कहाँ कहाँ गयो सवै विवरण कार्यालयबाटै अनुगमन गर्न मिल्यो । बाघले पूरै निकुञ्ज घुम्यो । आठ वर्ष जतिको भाले बाघ थियो । निकुञ्ज घुमेर फेरि गाउँ नै निस्कन लागेपछि नियन्त्रणमा लियौं,’ तिवारीले भने । फेरि नियन्त्रणमा लिएको त्यो बाघ चितवनमा राख्ने ठाउँ थिएन । त्यसलाई बर्दिया नै पठाएको उनले बताए ।
वन्यजन्तुविज्ञ बाबुराम लामिछानेले गरेको सन् २००७ देखि २०१६ सम्मका घटनाहरूको अध्ययनमा जंगलमा भएका बाघमध्ये पाँच प्रतिशतको हाराहारीले मात्रै मान्छेलाई समस्या पारेको देखिएको थियो । ‘बाघ मान्छेदेखि परै रहने जीव हो । उसको आहारा मान्छे पनि हैन । बुढो भएर अथवा एक आपसमा लड्दा घाइते भएर सिकार गर्न नसके मात्रै अशक्त अवस्थामा जंगल छाडेर सजिलो सिकारका लागि गाउँ आउने हो । र, घरपालुवा पशुचौपायासाथै मान्छेमाथि आक्रमण गर्ने हो,’ लामिछानेले भने । त्यस्ता बाघहरू निकै कम भएको हुँदा निकुञ्ज प्रशासन र अन्य सरोकारवालाले त्यस्तो बाघको नियमित अनुगमन गर्नुपर्ने उनले बताए । ‘अनुगमन गर्दा मान्छेमाथि साह्रै समस्या नै पार्ने खालका देखिए नियन्त्रणमा लिएर खोरमा राख्नुपर्यो,’ लामिछानेले भने ।
त्यसो त बाघले आक्रमण गरेर ज्यान लिने घटना सधै घटबढ भइरहन्छ । अघिल्लो वर्ष एकको मृत्यु भएकोमा यो वर्ष चार पुगिसकेको छ । तर अब खोरमा थुनेर मात्रै पनि साध्य नलाग्ने भइसकेको तिवारीले बताए । ‘खोर नै अपुग हुन लाग्यो । फेरि खुवाउने पाल्ने पनि समस्या छ,’ उनले भने । उनका अनुसार एउटा बाघलाई खानाका लागि मात्रै वर्षमा कम्तीमा पाँच–सात लाख रुपैयाँ खर्च गर्नुपर्छ । खानाका लागि भनेर नियमित बजेट खासै नआउने भएका कारण खोरमा बाघ बढ्दा बजेटको चाप पनि बढ्ने गरेको छ ।
भरतपुर महानगरसँग मिलेर निकुञ्जले भरतपुर–१३ को देवनगरमा चिडियाखाना जस्तो उद्धार केन्द्र बनाउन लागेको छ । पुस माघभित्र त्यो बनेर पूरा हुन्छ । त्यहाँ पनि बढीमा दुईवटा बाघ राख्न मिल्ने तिवारीले बताए । घातक बाघलाई मार्ने नियम पनि अन्य देशमा छ । नेपालमा यो चल्तीमा छैन । वन्यजन्तुविज्ञ लामिछाने यो पनि व्यवस्थापनको एउटा पाटो भएको तर पर्याप्त तयारीबिना यो विकल्पमा जान नहुने बताउँछन् ।




