काठमाडौं । काठमाडौंस्थित Tribhuvan University अन्तर्गतको Central Department of Geography (CDG) द्वारा आयोजना गरिएको तीन दिने ‘Training on Machine Learning in Python and ArcGIS Application’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। विभागको आफ्नै GIS तथा Remote Sensing Centre मा आयोजित उक्त तालिम अप्रिल २२ देखि २४, २०२६ सम्म सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई आधुनिक भू-स्थानिक प्रविधिमा दक्ष बनाउने उद्देश्य राखेको थियो।

तालिमका मुख्य स्रोत व्यक्तिका रूपमा दिनुङ राईले प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले Python र ArcGIS जस्ता शक्तिशाली उपकरणहरूको प्रयोगमार्फत भौगोलिक तथ्याङ्कलाई आधुनिक र वैज्ञानिक तरिकाले विश्लेषण गर्ने विधिहरूबारे सहभागीहरूलाई व्यावहारिक तथा प्रयोगात्मक ज्ञान प्रदान गर्नुभयो। यसले अनुसन्धानमा नवीन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

कार्यक्रमको समापन समारोह विभागीय प्रमुख प्रा. डा. उमेश कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भयो। समारोहमा मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन डा. बामदेव अधिकारी प्रमुख अतिथि तथा प्रा. डा. ध्यानेन्द्र बहादुर राई विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। आफ्नो सम्बोधनमा डा. अधिकारीले वर्तमान समयमा ‘Machine Learning’ उच्च शिक्षा र अनुसन्धानका लागि अपरिहार्य प्रविधि बनिसकेको उल्लेख गर्नुभयो। त्यस्तै, प्रा. डा. मण्डलले ‘Spatial Science’ र ‘Machine Learning’ को संयोजनले अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्न तथा नीतिगत निर्णय प्रक्रियामा ठोस योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा अत्याधुनिक ‘हाइटेक GIS र RS ल्याब’ स्थापना गर्न योगदान पुर्याउनुभएकोमा प्रा. डा. राईप्रति विशेष आभार व्यक्त गरिएको थियो। साथै, स्नातकोत्तर तथा PhD तहका विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो। शेर बहादुर गुरुङद्वारा सञ्चालन गरिएको उक्त तालिमले भविष्यमा शोधार्थीहरूलाई आधुनिक प्रविधिमा आधारित अनुसन्धान गर्न थप प्रेरणा दिने विश्वास गरिएको छ।




