चारकोषे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट नामांकरण गरिएको सुनसरी जिल्ला कोशी प्रदेशमा पर्दछ । यस जिल्लाको क्षेत्रफल १,२५७ बर्ग कि.मि. रहेको छ भने समुद्री सतह देखि १५२ मिटर देखि ९१४ मिटर उचाईमा रहेको छ । यस जिल्लाको सदरमुकाम इनरुवा बजार हो । भौगोलिक रुपमा यो जिल्ला २६°२३’ देखि २६°५५’ उत्तरी अक्षांस र ८७°०५’ देखि ८७° १६’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । जिल्लामा २ वटा उपमहानगरपालिका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी जम्मा १२वटा स्थानीय तह रहेका छन्। यस जिल्लाको पूर्वमा मोरङ जिल्ला, पश्चिममा सप्तरी र उदयपुर जिल्ला उत्तरमा धनकुट्टा जिल्ला तथा दक्षिणमा भारतको बिहार प्रान्तसँग सिमाना जोडिएको छ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ९,२६,९६२ जना रहेको छ भने जनघनत्व ७३७ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९३.९५% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर १.८६% रहेको छ भने कूल जनसंख्याको १.८% जनसंख्या फरक क्षमता भएका छन् । बहुजाति,बहुभाषी, बहुसांस्कृतिक पहिचान भएको सुनसरी जिल्लाका प्रमुख जातजतिहरुमा क्षेत्री, ब्राह्मण, मगर, थारु, तामाङ, नेवार, मुसलमान, गुरुङ, राई, कामी, दमाई, लिम्बु, ठकुरी, सार्की, कुर्मी, सन्यासी, शेर्पा, ताजपुतिया, थकाली, माली, छान्थाल, कामर, जिरेल, दुरा, मेचे, लेप्चा.राजी, केवट, कुमाल आदि रहेका छन्। ।
यस जिल्लाका जलसम्पदाको रुपमा सप्तकोशी नदी (जसले यसको पश्चिम सिमानाको काम गरिरहेको छ साथै यो देशकै ठूलो नदी नदी पनि हो), सुनसरी नदी (जसको नामबाट जिल्लाको नाम रहेको छ), टयाग्रा नदी, गडन नदी, सर्दु नदी, सहारा नदी, बुढी नदी, सेउती खोला आदि खोलाहरू रहेका छन् । प्राय: यी सबै खोलाहरूको मुहान चुरे क्षेत्रमा उत्पत्ती भएर बहेका हुन्। यस जिल्लाको चिमडीमा १६०बिगाहा ओगटेको वर्जु ताल अवस्थित छ ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा बराहक्षेत्र मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, बुढासुब्बा मन्दिर, शिव जटा, रामधुनी, विष्णुपादुका, चिमडी दह, भेडेटार, ठिंगेढुङ्गा, कोशी टप्पु, एभरेष्टविज्ञान केन्द्र आदि प्रमुख रहेका छन्। यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान तथा तीर्थाटन आदि रहेका छन् ।
यस जिल्लाको मुख्य व्यवसाय कृषि रहेको छ, साथै यस जिल्लामा प्रशस्त मात्रामा उद्योगहरु पनि रहेका छन्। यसका अलावा यहाका मानिसको आर्थिक गतिविधिहरुमा कृषि, ब्यापार तथा पर्यटन व्यावसाय यस जिल्लाका मुख्य आर्थिक गतिबिधि हुन्। धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरूवा, दुहवी, खनार झुम्का महेन्द्रनगर हरिनगरा आदि यस जिल्लाका प्रमुख व्यापारिक महत्वका स्थानहरु हुन्। जलवायुका हिसावले यस जिलामा उष्ण मौषमी जलवायु पाइन्छ भने वनस्पतिमा उष्ण सदावहार वन पाइन्छ ।
बिशाल ज्ञवाली




