काठमाडौं । एक्सेल एण्ड इलिभेट भन्ने नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिने ‘इम्प्लोई स्किल इनहृयान्समेण्ट वर्कशप’ भैरहवामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभरूपमा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रशासनिक कर्मचारी गरी दुई सय ५० जनाभन्दा बढीको सहभागिता भएको सम्मेलनमा अध्यक्ष सिंहले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीहरू कम्पनीको ब्राण्ड एम्बेसडर भएकाले कम्पनीलाई अग्रस्थानमा पुर्याउन आफ्नो क्षेत्रबाट सबैले जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । सो अवसरमा उहाँले देशैभरिबाट कम्पनीको दैनिक कार्यसम्पादनमा उत्कृष्ट सात प्रशासनिक कर्मचारीहरू अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रवीणकुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर, केन्द्रीय कार्यालयकी दिक्षा पनेरु, राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जनलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले दक्ष कर्मचारीबाटै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भन्दै कम्पनीले कर्मचारीको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण प्रदान गर्दैै बिमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढ्दै गएकोतर्फ सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा कर्मचारीको दक्षता जाँच गर्न सहभागी प्रशासनिक कर्मचारीको परीक्षा सञ्चालन गरिएको थियो । परीक्षाबाट प्रथम, द्वितीय र तृतीय हुन सफल क्रमशः बुटवल शाखाबाट प्रवीणकुमार शर्मा, काठमाडौं शाखाबाट चक्रप्रसाद जोशी र केन्द्रीय कार्यालयबाट दिपक मरासिनीलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कारसहित सम्मान प्रदान गर्नुभएको थियो ।




