काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (TUBIC) र औद्योगिक ब्यवाशय विकास प्रतिस्ठान (IEDI) को संयुक्त आयोजनामा सञ्चालित तीनदिने उद्यमशीलता विकास बुटक्याम्प तथा व्यवसाय इन्क्युबेसन सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जेठ १२ देखि १४ गतेसम्म त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित TUBIC हलमा आयोजित कार्यक्रममा देशका विभिन्न क्याम्पस ,तथा विभिन्न क्षेत्रबाट आएका करिब ३० जना नवउद्यमी तथा उद्यमशीलतामा रुचि भएका सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा. डा. शंकरप्रसाद खनालले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय शिक्षालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। युवाहरूलाई रोजगार खोज्ने मात्र नभई रोजगार सिर्जना गर्ने क्षमतातर्फ उन्मुख गराउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने उहाँको भनाइ थियो।

कार्यक्रममा IEDI का कार्यवाहक निर्देशक मणिराम गौतमले IEDI र त्रिभुवन विश्वविद्यालयबीच विकसित सहकार्यले उद्यमशीलता प्रवर्द्धन तथा नवउद्यम विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले व्यावहारिक ज्ञान, सीप तथा मेन्टरिङमार्फत युवा उद्यमीहरूलाई सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
TUBIC का निर्देशक प्रा. डा. तारा प्रसाद भुसालले TUBIC को स्थापना, उद्देश्य तथा गतिविधिबारे जानकारी गराउँदै विश्वविद्यालयमा नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलताको संस्कार विकास गर्नु केन्द्रको प्रमुख लक्ष्य रहेको बताउनुभयो। उहाँले कार्यक्रमले सहभागीहरूलाई आफ्नो व्यावसायिक अवधारणालाई व्यवहारिक व्यवसाय योजनामा रूपान्तरण गर्न सहयोग पुर्याएको उल्लेख गर्नुभयो।
त्यसैगरी, TUBIC का उपनिर्देशक डा. प्रमोद पौडेलले उद्यमशीलता विकासका लागि आवश्यक ज्ञान, सीप र नेटवर्किङका अवसर प्रदान गर्न कार्यक्रम केन्द्रित रहेको बताउनुभयो। उहाँले सहभागीहरूले व्यवसाय योजना निर्माण, बजार विश्लेषण, वित्तीय व्यवस्थापन, व्यवसाय मोडल विकास तथा प्रस्तुतीकरण सीपसम्बन्धी व्यवहारिक प्रशिक्षण प्राप्त गरेको जानकारी दिनुभयो।
तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न क्षेत्रका १२ जना अनुभवी प्रशिक्षक, विशेषज्ञ तथा मेन्टरहरूले उद्यमशीलताका विविध पक्षमा प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरेका थिए। सहभागीहरूले समूहगत छलफल, व्यवसाय योजना निर्माण, मेन्टरिङ तथा अन्तिम पिचिङमार्फत आफ्ना व्यावसायिक अवधारणाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै TUBIC का निर्देशक प्रा. डा.तारा प्रसाद भुसालले सिकाइलाई व्यवहारमा उतार्दै सफल उद्यमी बन्न शुभकामना व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालय, सरकारी निकाय तथा निजी क्षेत्रबीचको सहकार्यबाट उद्यमशीलता विकासका थप कार्यक्रमहरू सञ्चालन गरिने जानकारी समेत दिनुभयो।

TUBIC र IEDI को संयुक्त पहलमा सम्पन्न यस कार्यक्रमले विश्वविद्यालय-आधारित उद्यमशीलता प्रवर्द्धन, नवउद्यम विकास तथा युवा सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सहभागीहरूले समेत कार्यक्रमबाट प्राप्त ज्ञान, सीप तथा मेन्टरिङ आफ्ना व्यवसायिक यात्रामा उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।

(प्रा. डा. तारा प्रसाद भुसाल सरको फेसबुक वालबाट)




