काठमाडौं । भाई अनुपले भन्दैथिए, दाई माथि धापड्याम जानुन कस्तो रमाईलो छ । लामै समय भयो, यसको बारेमा सुनेको । कुन दिन मौका जुर्ने हो पर्खाईमा थिए । हिजो र अस्ति हल्का-फुल्का पानी परेको हुदा आज आकास केहि सफा थियो । यसैको फाईदा लिनु पर्छ भन्दै म आज त्यतातर्फ लागे । बागमती नदी सर्लक्क उत्तर बगेकी गोकर्ण (उत्तर काशी) हुदै म लागे सुन्दरीजल तिर । गोकर्णलाई उत्तर काशी भनिन्छ । बिबिध कारणले काशी जान नसक्नेहरुले यहां पितृ कर्म गर्दा काशी गए बराबर पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।
सल्लक्क दक्षिण फर्किएर वसेको सुन्दरीजलमा बनेका मेलम्चीका निला पोखरी नियाल्दै म पुगे, शिवपुरी राष्ट्रिय निकुन्जको गेटमा । यहां टिकट लाग्ने रहेछ, एक जनाको १०० र मोटरसाईकलको १५० । म टिकट लिएर लागे जंगलै जंगलको बाटो । केहि बेरको अफ्ट्यारो उकालो चढेपछि तरपाया-तरपाया पर्दै बाटो वागमतीको किनारै किनार पुर्व हान्नियो । घाम पुरै छेक्ने ढपक्कै बाटो ढाकिएको गुरांस लगायतका स-साना वुट्यानहरु पार गर्दै म पुर्व लागे । गुरांस फुल्ले समय भएर होला दशैमा पिढिभरी राताम्य अक्षता भए जस्तै बाटामा टन्नै गुरांसका राता पत्रै-पत्र भेटिन्थे । सग्लो थुंङ्गा पाउन भने मुस्किल नै थियो । यस्तो देखिन्थ्यो कि हिडडुल गर्नेहरुले पत्र-पत्र च्यांतेर मिल्क्याए जस्तो । बाटो सजिलो थिएन । एक जना मात्रै हुदा पनि मोटलसाईकलमा हम्मे-हम्मे पर्ने बाटो छिचोल्दै म अगाडी बढिरहे । एक्लै हुदा त भ्याट्ट चराहरु उड्दा पनि मन झसंग-झसंग हुने झपक्क झाडीहरु रहेछन । तल अध्यारोमा कलकल बागमती कराईरहेकी, उनैको किनारै-किनार म पुर्वतर्फ लागीरहे । अघि टिकट लिदा सोधेको थिए, कति समय लाग्छ भनेर । जवाफमा १ घण्टा ३० मिनेट जति लाग्ला भनेको सुनेर म, मात्रै यहि समय कटाउन घडी हेर्दै यात्रा गरिरहे ।
मोटामोटि २१ किमि मध्ये आधा भन्दा बढी त झण्डै-झण्डै डर नै लाग्ने झाडी हिड्नु पर्ने रहेछ । बाटोभरी देखिएका गुरांस र ऐंसेलुका बुट्यानहरु । साना नै भएपनि ति हरेक बुट्यानमा निला नम्वर प्लेट टांसिएका । ऐंसेलुका फुल र भर्खरका चिचिलाले गिज्याएर, “जान्ने भएर छिटो आईस्, तलाई ठिक्क भयो” भने जस्तै लाग्यो । एक महिना जत्ति ढिलो गर्न पाएको भए मज्जाले ऐसेलु खान पाईने रहेछ भन्ने लाग्यो । भ्याट्ट गर्दै यताबाट उता उड्ने बन कुखुरा लगायतलाई, मैले पनि ठुलै स्वरमा “पख तलाई” भन्दै बाटो काटिरहे ।
यसै बिचमा मैले साना-ठुला तिन खोला तरे । ति सङला कञ्चन थिए । चैत्रमा पनि तिनमा ठुलै पानी देखेर मैले मनमनै भने, यिनको संरक्षण गर्न नलागेर, कसको घर नयां बनाउन सरकार हात धोएर मेलम्ची तिर लोभिएछ भन्ने लाग्यो । जे होस ठुलाको कुरा हामीलाई के…। झण्डै एक घण्टाको कुदाई पछि म बल्ल हिले भन्ज्याङ पुगे । यो सांखु, सुन्दरीजल, धापड्याम र उत्तर तर्फबाट आउने चार दोबाटो रहेछ । यहां पाटीमा एकजना बाजेले पानी चाउचाउ…. बेच्नुहुदो रहेछ । थकाईलाग्दा एकैछिन आराम गर्ने रमाईलो ठाउ पनि रहेछ यो । यहांबाट ड्याम पुग्न अब ३ किमि रहेछ । सुन्दरीजलबाट यहां सम्म आउने बाटो भन्दा यो तिन किलोमिटर बाटो निक्कै सजिलो र खु्ल्ला रहेछ । एकैछिनमा ड्याम पुगियो । राम्रो कुरा के रहेछ भने बाटो जुनै समाएपनि बिचबिचमा आउने सहायक बाटो भुलिएला कि भन्ने पिर पटक्कै नहुने रहेछ । साना नै किन नहुन बाटो देखाउने बोर्ड चोकै पिच्छे रहेछ । यति धेरै उकालो चढेर जंगलै-जंगल छिचोलेर पहाडको टुप्पामा आउदा पनि यत्रो पानीको ताल देखेर सुरुमा त विश्वास नै लागेन । निलो पानीको विशाल ताल देखेर मन त्यसै आनन्द भयो । अघिको थकाई एक्कै छिनमा हरायो । तथ्यांक अनुसार ताल सन २०१५ मा बनाउन शुरु गरिएको, २०२१ बाट खुल्ला गरिएको र यसको क्षमता करिब ८५०,००० मिटर क्यूव रहेको पाईयो ।
काठमाडौ उपत्यकाबाट जम्मा २६ किमि (करिब) टाढा र झण्डै १००० मिटर माथी यो बिशाल ताल पर्यटकको पर्खाइमा आंफै तिर्खाएको देख्दा मनै अमिलो भयो । जेपि प्रतिष्ठानको गेट मणिचुड चोकबाट जम्मा ८ किमि सडक पनि पक्कि बनाउन नसक्ने हाम्रो बिकासलाई धिक्कार्न मन लाग्यो । यति नजिकको यो विशाल दहलाई प्रचुर मात्रामा प्रचार-प्रसार गर्न सकेको भए, काठमाडौ आउने पर्यटकको एक रात बास लम्ब्याउन सकिन्थ्यो होला । यसले कति राष्ट्रिय आम्दानी बढ्थ्यो होला । उपत्यकामा हुने हरेक स्कुल/कलेजले बर्षमा एकचोटी ताल भिजिट गराउने नियम बनाउन सकिन्थ्यो भने कति जाती हुन्थ्यो होला । यो दहमा कति आन्तरिक पर्यटकको चहल-पहल गराउन सकिन्थ्यो होला, कतिले रोजगार पाउथे होला, कतिको घरवार चल्थ्यो होला.. ।फर्किदा सांखु तिरबाट ओरालो झर्ने र मेलम्चीको बाटो समाएर घर फिर्ने योजना अनुसार नै अगाडी बढे । बाटोमा झण्डै २२०० मिटरको उचाईमा रोकिएर पुर्वउत्तरको भैसेपाटी, पश्चिमको चन्द्रागिरी, उत्तर-पश्चिमको नागार्जुन, दक्षिणको फुलचोकीलाई सम्झेर माफी मागे । यो जस्तै ड्याम उनिहरुको काखमा बनाउन नसकेकोमा, बर्षैभरी पानी दिन नसकेकोमा उनीहरुसंग माफी माग्दै विदा भए ।
२२०० मिटरको उचाईबाट झण्डै १३०० मिटरमा सांखु झर्दै गर्दा यि सबैकुरा मनमा आईरहे । देश बिकास गर्न धेरै जान्नु नपर्ने, बिदेश नै पढ्नु नपर्ने, ठुलाठुला योजनामा हात हाल्नु नपर्ने रहेछ । स-साना कुरा, समाजका साना समस्या टपक्क टिपेर समाधान गर्न पाए हुन्थ्यो जस्तै लाग्यो । अन्तमा सांखु सालीनदीमा श्री स्वस्थानीको दर्शन गरी, देश चाडै समृद्द वनोस, साना र मझौला योजना फटाफट अघि सरुन, शिक्षा, स्वास्थ र पानीको व्यवस्था राज्यले गरोस्, माता श्री स्वस्थानीसंग यि नै बर माग्दै घर तर्फ लागे । जय पशुपतीनाथ ।





