काठमाडौं । साहित्य, कला तथा सिर्जनामा सक्रिय संस्था एपेक नेपालले २६औं वार्षिकोत्सवको अवसर पारेर दुई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । एपेक नेपालले सोमबार काठमाडौंमा एपेकद्वारा आयोजित समारोहमा ‘विश्व-ज्योति काव्य सम्मान-२०८१’ साहित्यकार उषा शेरचनलाई र ‘विश्व-ज्योति पाण्डुलिपि पुरस्कार-२०८१’ कवि हेमन्त शिशिरलाई अर्पण गरेको हो । कार्यक्रममा सम्मानकासाथ नगद राशि ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो भने हेमन्त शिशिर लिखित पुरस्कृत पाण्डुलिपि ‘बन्द कोठाको झ्याल’ पुस्तकका रूपमा प्रकाशित गर्दै लोकार्पणसमेत गरिएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सर्जकहरूलाई सम्मानित गर्दै एपेकले नेपाली कला र साहित्यलाई समाजसँग जोड्दै गरेको काम उल्लेखनीय भएको जिकिर गर्नुभयो । सम्मानित साहित्यकार उषा शेरचनले अक्षरको खेती गर्नु आफ्नो धर्म र कर्म भएको बताउँदै यस पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको उल्लेख गर्नुभएको थियो भने पुरस्कृत कवि हेमन्त शिशिरले कविता वाचन गर्नुभएको थियो । एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले एपेकले साहित्य, कला र रंगमञ्चलाई सधैं जोड्दै आएको बताउनुभयो ।




