काठमाडौं । ब्याजदर घट्नेक्रम माघ महिनामा पनि रोकिएन । ‘क’ वर्गका वाणिज्य बैंकहरूले माघमा पनि ब्याजदर घटाएका छन् । बैंक–वित्तीय संस्थामा अधिक तरलता रहेको र लगानी पनि सुस्त हुँदा ब्याजदर निरन्तर घट्दै गएको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका हुन् । उनीहरूको औसत ब्याजदर नै चार दशमलव ६८ प्रतिशतमा झरेको छ । गत पुस महिनामा भने यस्तो ब्याजदर औसत चार दशमलव ८५ थियो । २० मध्ये सातवटा वाणिज्य बैंकहरूको मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पाँच प्रतिशत वा सोभन्दा माथि रहेको छ । धेरैजसो बैंकले पाँच वा १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्रै अधिकतम ब्याजदर प्रस्ताव गरेका छन् । ६ महिना वा एक वर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर चार प्रतिशतभन्दा पनि तल रहेको छ ।
ग्लोबल आइएमई बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पाँच प्रतिशतभन्दा बढी प्रस्ताव गरेको छ । ग्लोबलको मुद्दती निक्षेप पाँच दशमलव पाँच प्रतिशत प्रस्ताव छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम चार दशमलव ३६ प्रतिशत प्रस्ताव गरेको छ । नेपाल बैंकले पाँच दशमलव एक प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया, हिमालयन, एनएमबीले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पाँच प्रतिशत प्रस्ताव गरेका छन् । सिद्धार्थ बैंक चार दशमलव ५५, सानिमा बैंकले चार दशमलव ५५, प्रभु बैंक र नबिल बैंकको भने पुस र माघको एउटै ब्याजदर पाँच प्रतिशत । दुवै बैंकको चार दशमलव ५५ प्रतिशत छ ।
लक्ष्मी सनराइज बैंकले चार दशमलव पाँच, कुमारी बैंकले चार दशमलव ५३ र माछापुच्छ्रे बैंकले पुसमा ५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर माघमा घटाएर चार दशमलव पाँच प्रतिशत बनाएको छ । नेपाल एसबीआई, प्राइम र कृषि विकास बैंकमा पनि अघिल्लो महिनाको तुलनामा घटाएका छन् । नेपाल एसबीआई बैंकको चार दशमलव पाँच, प्राइमको चार दशमलव चार, कृषि विकास बैंकको चार दशमलव चार प्रतिशत प्रस्ताव छ । लगानीयोेग्य रकम थुप्रिए पनि दबाबमा रहेका बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर हरेक महिना घटाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् ।




