काठमाडौं — त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक विज्ञान संकाय को केन्द्रीय भूगोल विभाग मा “Soil and Water Assessment Tool (SWAT)” को प्रयोगसम्बन्धी तीन दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। जलस्रोत व्यवस्थापन, माटो संरक्षण तथा दिगो विकास योजना निर्माणमा आधुनिक भू-स्थानिक प्रविधिको प्रयोगलाई सुदृढ बनाउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो।

तालिममा ३० जना सहभागीहरूले SWAT मोडेलको आधारभूत अवधारणा, डाटा तयारी, जलाधार (watershed) विश्लेषण, हाइड्रोलोजिकल मोडेलिङ तथा भूमि उपयोग परिवर्तनको प्रभाव मूल्याङ्कन सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए। विशेषगरी नेपालजस्तो पहाडी तथा हिमाली भौगोलिक बनोट भएको देशमा बाढी, भू–क्षय, माटो कटान र जलस्रोत व्यवस्थापन जस्ता समस्याहरूको समाधानका लागि SWAT मोडेल अत्यन्त उपयोगी उपकरणका रूपमा प्रस्तुत गरिएको थियो।

तालिमका स्रोत व्यक्तिहरू अर्जुन लमिछाने र गरिमा रनाभाट ले सहभागीहरूलाई सैद्धान्तिक तथा प्रायोगिक दुवै पक्षमा दक्षता अभिवृद्धि गराउनु भएको थियो। उनीहरूले SWAT को प्रयोग गरी नदी प्रणालीको प्रवाह पूर्वानुमान, जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन, तथा कृषि उत्पादनमा पर्ने असरको विश्लेषण कसरी गर्ने भन्नेबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो।

तालिमले विशेषगरी शैक्षिक क्षेत्रमा अनुसन्धान क्षमताको विकास, नीति निर्माणमा वैज्ञानिक आधार सुदृढीकरण, तथा नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील मुलुकमा दिगो जल तथा भू–व्यवस्थापनका लागि आवश्यक प्राविधिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण सत्रमा मानविकी तथा सामाजिक विज्ञान संकायका डिन,प्रा. डा. दुबिनन्द ढकाल, प्रमुख अतिथिका रूपमा सहभागी भई सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उहाँले यस्ता तालिमहरूले शैक्षिक अनुसन्धानलाई मात्र नभई राष्ट्रिय विकास योजना निर्माणमा पनि ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो।

भूगोल केन्द्रीय विभागका उप-प्राध्यापक शेर बहादुर गुरुङले संचालन गर्नुभएको समापन कार्यक्रमको अन्तमा बोल्दै भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. उमेश कुमार मण्डलले भौगोलिक सूचना प्रणाली तथा दूर संबेदन केन्द्रको स्थापना पछि पहिलो तालिम भएको हुनाले यो तालिमको माध्यमबाट भूगोल केन्द्रीय विभागले भू-स्थानिक विज्ञानको क्षेत्रमा नया पाइला चालेको बताउनु भयो| कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका डा. मण्डलले भूगोल विषयको अबको दिशा भनेको भू-स्थानिक विज्ञानको माध्यमबाट स्थान ब्यबहारिक नीति निर्माण र राष्ट्र विकास हुने बताउदै सहभागिहरुको प्राज्ञिक तथा पेशागत उन्नयनमा यो तालिमले नया आयाम थप्ने विस्वास गर्दै सबै सहभागीहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो|





