• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सधै पीडादायी राजधानीको लाइफलाइन सडक


  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
  • काठमाडौं । सडक विस्तार गर्दा आवश्यकता र डिजाइनअनुसार भित्ताको माटो काटिन्छ, छेउभागबाट टेवा पर्खाल लगाइन्छ, सडक छेउका रुख काट्ने र पोल सार्ने काम गरिन्छ । राजधानी जोड्ने मुख्य सडकको आवत–जावत सहज बनाउन भन्दै अहिले नागढुंगादेखि मुग्लिनसम्मका धेरैजसो क्षेत्रमा यही भइरहेको छ ।

    Advertisement

    तर, हुनुपर्ने जसरी काम नहुँदा यो फराकिलो पार्ने नभई नयाँ सडक बनाउने योजनाजस्तो देखिन्छ । विस्तारको काम थालेपछि प्रयोगमा रहेको साविकका सडक लेनहरु मर्मत गरेर चुस्त नराख्दा बेहाल छ ।

    नागढुंगाबाट ओरालो झर्नासाथ भित्ताबाट काटिएको माटो सडकभरि पोखिएको देखिन्छ, टेवा पर्खाल लगाउन कतै जगका लागि खाल्डो खनेर धराप बनाएर छोडिएको छ, कतै पर्खाल निर्माण गरे पनि माटो भरिएको छैन । माटो भरिएका ठाउँबाट सडकसम्म माटो नआउने गरी कुनै प्रबन्ध गरिएको पनि छैन । यसले सडक धुलाम्य मात्रै बनाएको छैन, यात्रालाई जोखिमपूर्ण पनि बनाएको छ ।

    कतिपय भागमा रुख काट्न बाँकी छ, धेरैजसो भागमा सडक विस्तारको काम चलिरहेपनि बिजुलीका पोल सार्ने काम भएको छैन । साविकका सडकको कालोपत्रे धेरै ठाउँमा उप्किएको छ, खाल्डाहरु बनेका छन् । त्यही सडकमा सवारी साधनहरु बडो सकससँग कुदिरहेका छन् ।

    अहिले पूर्व–पश्चिम राजमार्गअन्तरगत बुटवल–नारायणगढ, कन्चनपुर–कमला र काँकडभिट्टा–लौकही खण्डमा ठेक्का लागेर कम्तीमा ४ लेन र बढीमा ६ लेनसम्म सडक विस्तारको काम भइरहेको छ । योसँगै मुग्लिन–पोखरा सडकखण्ड पनि ६ लेनसम्म विस्तार गर्ने गरी ठेक्का लागेर काम भइरहेको छ । काठमाडौंसम्म जोडिने यी सडकहरुको विस्तारको गति सुस्त छ ।

    यसअघि विभिन्न सीमा नाकाबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने वीरगञ्ज–पथलैया, भैरहवा (बेलहिया)–बुटवल, विराटनगर (रानी)–इटहरी, जनकपुर–ढल्केबर जस्ता सडकमार्गहरु ६ लेनमा र नारायणगढ–मुग्लिन सडकखण्ड डेडिकेटेड २ लेनमा विस्तार भइसकेको छ ।

    अन्यत्रका सडकहरु धमाधम विस्तार भइरहँदा देशको मुख्य आर्थिक केन्द्र काठमाडौंमा खाद्यान्न, फलफूल, तरकारी, इन्धन लगायत दैनिक उपभोग्यदेखि लत्ताकपडा, भाँडाकुँडा, मेसिनरीसहित सबैजसो आयातित वस्तुहरु आपूर्ति गर्ने मुख्य नाका जोड्ने मुग्लिन–नागढुंगा सडक भने ७ मिटरको इन्टरमेडियट २ लेनमा सीमित छ । यसले गर्दा यात्रा समय बढेको, ढुवानी लागत महँगिएको र त्यसले औद्योगिक उत्पादनको लागतसहित उपभोक्ताको भान्सासम्म नकारात्मक असर पारेको निष्कर्षसहित अन्यत्रको जस्तै फराकिलो बनाउने अवधारणा अघि सारिएको थियो ।

    दैनिक १६ हजार सवारी साधन आवातजावत गर्ने यो खण्ड ट्राफिक चापअनुसारको चुस्त, दुरुस्त र सहज नभएको भन्दै सरकारले विश्व बैंकको ऋण सहयोगमा चार लेनमा विस्तार गर्ने योजना अघि सारेको थियो । तर, मुआब्जाका कारण आयोजना निकै महँगो हुने ठहर भएपछि सडक विभागले धेरैजसो भागमा डेडिकेटेड २ लेन बनाउने गरी काम अघि बढाएको थियो ।

    राजधानीको ‘लाइफलाइन’ (जीवन जोगाउने आधार) सडक विस्तारको काम सुरु भएदेखि नै अरु सडककै शैली समातियो । गाडी चलिरहेका सडकको लेन दुरुस्त राख्ने काममा सरकार चुकेको छ ।

    खाल्डायुक्त सडकमा धुलो नउडोस् भनेर हालिएको पानीले हिलो बनाइदिएको छ । जसमा मोटरसाइकल र साना सवारी साधनहरु चिप्लिएर दुर्घटनामा परिरहेका छन् । उबडखाबड सडकमा गाडीहरु घ्याच्च–घ्याच्च गर्दै उकाली–ओराली गरिरहेका छन् ।

    सडक किनारका ठाउँ–ठाउँमा नाला नै छेकेर माटो थुपारिएको छ । कतै नालाको पानी सडकतिर बगिरहेको छ । किनारका बस्ती र होटल÷पसलका छानाहरु धुलाम्य छन् । सडक छेउमा व्यवसाय गर्नेहरु मास्क लगाउन बाध्य देखिन्छन्, धुलोले उनीहरुको लुगा क्षणभरमै मैलो भइसकेको पनि देखिन्छ ।

    खनेर छोडिएको सडक कालोपत्रे कहिले हुन्छ भन्ने स्थानीयलाई पत्तो छैन । सडकमा देखिएका खाल्डा, ढुंगा र ढिस्काले दुर्घटनाको जोखिम बढाएको छ । सवारी हाँक्नेहरु सडकको बेहालतले आजित छन् ।

    धुलो र हिलो झेल्दै यात्रा गरेका गाडीसँगै मोटरसाइकलका यात्री धुलाम्य देखिन्छन् । खाना खान होटलमा छिरेकाहरु धुलाम्य वातावरणमा खान बस्न मन गर्दैनन् । यस्तो दृश्य र परिवेश नागढुंगादेखि मलेखु हुँदै मुग्लिन पुग्दासम्म पनि जारी नै रहन्छ ।

    सक्ने बेलामा ३५ प्रतिशत काम

    सडक विभागले जेठ २०७९मा त्रिभुवन राजपथमा पर्ने नागढुंगादेखि नौबिसे र पृथ्वी राजमार्गको नौबिसेदेखि मलेखुसम्मको सडक विस्तारका लागि ठेक्का लगाएको थियो ।

    १२.२ किलोमिटरको नागढुंगादेखि नौबिसे सडक खण्ड करिब १ अर्ब ५० करोडमा जियाङ्सु–सगुन जेभीसँग ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म यो खण्डमा ३५ प्रतिशत काम भएको छ । जबकी सम्झौताअनुसार यो सडकमा आगामी जेठ २०८१ भित्रै (५ महिनाभित्र) विस्तारको काम सकिनुपर्छ ।

    धेरै जाम भइरहने यो खण्डअन्तरगत सिस्नेखोलाको सुरुङ मार्गभन्दा माथि कम्तीमा ७ मिटरको इन्टरमिडियट लेन, त्यसभन्दा मुनि कम्तीमा ९ मिटरको डेडिकेटेड लेनसहित ठूला मोड र उकालो क्षेत्रमा थप एउटा ‘क्लाइबिङ लेन’ समेत बनाउनुपर्छ ।

    ४३.५१ किलोमिटरको नौबिसे–मलेखु सडकखण्ड शर्मा–लामा–जेडआईसीजी जेभीले साढे ६ अर्बमा ठेक्का पाएको थियो । यो खण्डको काम ३ वर्षभित्र अर्थात् २०८२ जेठभित्र सकिनुपर्छ । तर, आधा (५० प्रतिशत)भन्दा बढी समय बितिसक्दा यो आयोजनामा काम भने १५ प्रतिशत मात्रै भएको छ । यो खण्डमा कम्तीमा ९ मिटरको डेडिकेटेड लेन र बस्ती क्षेत्रमा ६ लेनसम्म र पातलो बस्ती क्षेत्रमा ४ लेनसम्मको सडक बनाउनुपर्छ ।

    यी दुई खण्डमा २५ मिटर साना पुलहरु बनाउनुपर्छ । बस्ती क्षेत्रमा बाटो काट्न ९ वटा ओभरपास पनि बनाउने योजना छ । तर, अहिलेसम्म आकाशे पुल निर्माणका लागि काम सुरु नै भएको छैन ।

    दुबै खण्डका ठेक्का हेर्ने गरी सडक विभागले नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना (पूर्वी खण्ड) खडा गरेको छ । आयोजनाका प्रमुख ईश्वरबहादुर रिजाल दुबै ठेक्काका प्याकेजमा लक्ष्यअनुसार काम हुन नसकेको बताउँछन् । तर, तोकिएको अवधिभित्र काम गरिसक्ने उनको दाबी छ । ‘दुबै प्याकेजमा लक्ष्यको करिब ६ प्रतिशत कम काम भएको छ,’ उनले भने, ‘कामको गति बढाउनु पर्ने छ, त्यसैले हामी आयोजनामा परेका समस्याहरु समाधानमा केन्द्रित छौं ।’

    समस्याको गाँठोमै आयोजना

    यो आयोजनामा अहिलेसम्म रुख कटानीको टुंगो लागेको छैन । करिब २३ सय रुख काट्नुपर्ने आयोजनाले रुख कटानीको अनुमति मागेको २ वर्ष पुग्न लागिसक्यो । तर, काठमाडौं र धादिङका वन कार्यालयहरुले अझै अनुमति दिएका छैनन् । यसले गर्दा आयोजना सकिने अवधिसम्म कतिपय भागमा मेसिनले खोस्रिनसम्म पाएको छैन ।

    रुख काट्न वन विभागमा धेरैपटक पहल गर्दा पनि दुःख दिने काम भएको आयोजनाले जनाएको छ । सरकारको प्राथमिकताप्राप्त आयोजना भएपनि अनेक बहाना बनाएर वनले फाइल अल्झाइरहेको अधिकारीहरुको गुनासो छ ।

    आयोजनाले घर टहराको क्षतिपूर्ति विवाद टुंग्याएको छैन । भत्किने घरहरुलाई ३ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने योजना भएपनि अहिलेसम्म आधा मात्रै वितरण भएको छ ।

    आयोजनाले ठाउँ–ठाउँमा स्थानीयहरुलाई जग्गा उपयोग गर्न मनाउन सकेको छैन । विशेषगरी सडक सीमाभित्र नपरे पनि क्रसिङ नालाहरुमा बनेका स्थानीयवासीको संरचनाबारे विवादहरु छन् । सडकले घर टहरा भत्काउन क्षतिपूर्ति मात्रै दिइरहेकाले कतिपय ठाउँमा सामाजिक रुपमा भएका अवरोध हटाउन सकस परिरहेको छ ।

    बिजुलीको पोल सार्ने काम सुरु भए पनि गति लिएको छैन । विद्युत प्राधिकरणले परिचालन गरेको ठेकेदारले नयाँ पोल गाडेर लाइन नै सार्नुपर्ने छ । तर, नौबिसे–मलेखु खण्डमा यो काम केही ठाउँमा मात्रै सुरु भएको देखिन्छ ।

    धेरै समस्या नै नभए पनि ठेकेदारले ठूलो संख्यामा कामदार खटाउन सकेको छैन । नागढुंगा–नौबिसे खण्डमा करिब २०० र नौबिसे–मलेखु खण्डमा करिब ४०० मात्रै मजदुर परिचालित छन् । ‘यति ठूला आयोजनामा यो संख्या पर्याप्त हैन,’ आयोजना प्रमुख रिजाल भन्छन्, ‘मेसिन र जनशक्तिको संख्या बढाएर कामलाई गति दिन ठेकेदारलाई झकझाइरहेका छौं ।’

    थाक्रे गाउँपालिकाको आग्राखोला र त्यस आसपासको खानीबाट निर्माण सामग्री आपूर्ति गर्नुपर्ने देखिएको भन्दै रिजालले अहिलेसम्म गाउँपालिकाले अनुमति नदिएकाले निर्माण कार्यमा चुनौती थपिएको बताए । ‘त्यहाँको ढुंगा, गिट्टी, बालुवा हामीले कायम गर्नुपर्ने गुणस्तरका लागि योग्य हुन्छ, हामीले आग्राखोलामा खानी चलाएर आवश्यक राजस्व समेत तिरेर सोझै निर्माणस्थलमा ल्याउन अनुमति मागेका छौं,’ रिजालले भने, ‘गाउँपालिकाले अहिलेसम्म निर्णय नगरेकाले कतिपय निर्माणको काम प्रभावित छ ।’

    पीडित छन् स्थानीय

    सडकको खराब अवस्थाले राजमार्गका कतिपय होटलहरुले व्यापार गुमाइरहेका छन् । यसै पनि राजमार्ग किनारका होटलको खाना माथि अविश्वास पैदा भएका बेला सडकको बेहालले यात्रुलाई होटलमा बसेर खान झन् निरुत्साहित गरिरहेको अनुभव होटल सञ्चालकहरुको छ ।

    बैरेनीमा होटल चलाइरहेका सन्तोष यादव सडक विस्तारका लागि जताततै डोजर चलाएर छाडिदिएपछि होटलमा खाना खाने यात्रु नै घटेको बताउँछन् । ‘मान्छेहरु होटल सफा भएपनि बसेर खान मन गर्दैनन्, धुलोले गर्दा चाउचाउ र पानी किनेर फर्किने धेरै छन्,’ उनी भन्छन्, ‘अब त बसलाई कमिसन दिएर रोक्न लगाउँदा उल्टै घाटा लाग्ने अवस्था आइसक्यो ।’

    धादिङको खानी खोलाका मनोज अछामीको हाइवे स्टाफ होटलमा रोकिने धेरै भारतीय पर्यटकहरुले सोध्छन्, ‘राजधानी शहर जोड्ने सडक नै किन यति खराब छ ?’ २ वर्षदेखि उनी सबैलाई एउटै खालको जवाफ दिइरहेका छन्, ‘सडक फराकिलो बनाउन काम हुँदैछ, सकिएपछि धेरै सजिलो हुन्छ ।’

    तर, पछिल्लो ६ महिनादेखि भने उनलाई काठमाडौंको लाइफलाइनका रुपमा रहेको यो सडकको दुरावस्थाले दिकदारी लाग्न थालेको छ । ‘छिट्टै बन्ला भनेको त भत्काएर छोड्ने काम मात्रै भयो, राजधानीलाई जोड्ने मुख्य सडक हो भन्न हामीलाई त लाज हुन थालिसक्यो,’ उनी भन्छन्, ‘कम्तीमा ढिला नै भएपनि देशको लाज ढाक्ने गरी त गर्नु नि !’

    विस्तारमा भइरहेको ढिलाइ र लापरवाहीले स्थानीयहरु पनि पिरोलिएका छन् । गजुरी, गलौदी, घाटबेसी, पिडा बजार, आदमघाट, बेल्खु, बैरेनी, गल्छी, भल्टार, एक्लेफाँट, सिम्लेबजार, महादेवबेसी, थाक्रे, धार्के, नौबिसे, खानीखोला लगायतका बजारका बासिन्दा पनि धुलो र हिलोको मारमा छन् । अहिलेसम्म उनीहरुलाई सडक कहाँ–कहाँ, कति लेनको बन्छ, फुटपाथ बन्छ कि बन्दैन भन्ने पत्तो छैन ।

    नौबिसेमा तरकारी व्यापार गरिरहेका साइँलो अछामी अहिलेसम्म सडक कति लेनको हुन्छ भन्ने पत्तो नभएको बताउँछन् । ‘सडक विस्तार हुने थाहा हुँदाहुँदै २ वर्षअघि नगरपालिकाले सडकको किनारमै नाला हाल्यो, अहिले त्यो काम लागेन भनेर पुरेर वर अर्को नाला हालेका छन्,’ अछामी भन्छन्, ‘२ मिटर पनि सडक फराकिलो नबनाउने हो भने यत्रो भद्रगोल किन गरेको ?’ अस्तव्यस्त ढंगले काम गर्दा उडेको धुलोले घरको नयाँ जस्तापातामा खिया लागिसकेको सार्की बताउँछन् । ‘धुलोले फलफूल, सागपात र अन्नबाली केही हुन दिंदैन,’ अछामी भन्छन्, ‘व्यापारका लागि यता बस्दा धुलोले बिरामी पारेको पार्यै गर्छ ।’नौबिसेका बच्चुराम उप्रेती स्थानीयसँग पर्याप्त छलफल नै नगरी मनपरी ढंगले काम गर्दा एउटै काम सक्न समेत लामो समय लागिरहेको बताउँछन् । सडक विस्तार, पोल स्थानान्तरण, कल्भर्ट निर्माण लगायतका काम गर्दा स्थानीयलाई समस्या नपरोस् भन्ने ढंगबाट कामै नगर्ने र समस्या समाधानमा पनि ध्यान नै नदिने प्रवृत्ति देखिएको उनको भनाइ छ ।

    ‘सडक बिगारेर राखिएको छ, स्थानीयलाई यहाँ बस्न बाँच्न मुस्किल हुन लागिसक्यो,’ उनी भन्छन्, ‘यसबारे कसलाई कहाँ गुनासो गर्न जाने हो भन्ने पत्तो छैन, जनताको दुःख कष्टको जिम्मेवारी लिन कोही पनि अघि सर्दैनन् ।’

    यात्रु र सवारीलाई सास्ती

    निर्माणको काम सुस्त हुँदा बहुआयामिक असरहरु परेको देखिन्छ । भित्ताको माटो काट्ने, टेवा पर्खाल, क्रस ड्रेन र नाली बनाउने लगायतका काम भइरहँदा निर्माण साइट भने भद्रगोल छाडिएको छ । राजधानी आवत–जावतलाई सहज गर्न बनाइँदै गरेको सडकले यात्रुलाई सकस थपेको छ ।

    ‘करिब ६५ जिल्लाका यात्रु काठमाडौं छिर्ने र दैनिक हजारौं पर्यटकहरु आवातजावत गर्ने बाटोको हालत यस्तो बनाएर छाड्दा राम्रो सन्देश जाँदैन,’ झापाबाट काठमाडौं हिँडेको बेला धार्केमा खाना खान रोकिएको बसका एकजना यात्रु सुदेश प्रसाइँ भन्छन्, ‘सडक दायाँ–बायाँ बनाउने काम गरे पनि गाडी गुड्ने लेन त राम्रो बनाएर राख्नुपर्ने हो ।’ स्थानीयहरुका अनुसार यो खण्ड वर्षौंदेखि टालटुलका भरमा चलाइँदै आएको छ । वर्षाको समयमा यो सडक अति जीर्ण बन्छ ।

    सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सबैजसो गाडीलाई मुस्किल हुन्छ । त्रिशूली र महेश खोलाको तिरैतिरको यो सडक बगरजस्तै बनेको बताउँछन्, वीरगञ्जबाट डिजेल बोकेको ट्यांकी थानकोट लैजान लागेका चालक नरानाथ गड्तौला । ‘राजमार्ग विस्तारको काममा मनपरी भयो, सडक त बगरजस्तो बनिसक्यो,’ उनी भन्छन्, ‘यही एउटा बाटो अली सवारी चलाउन सहज थियो, यो पनि भत्काएर छाडियो ।’

    भत्काएर छाडेपछि यो खण्ड मालबाहक सवारीका लागि समेत झन् जोखिमपूर्ण बनेको छ । खाल्डाखुल्डीका कारण नागढुंगा क्षेत्रको सडकमा मालसामान बोकेर आएका सवारी उकालोमा सुस्त गतिमा चल्छन् । कतिपय गाडी बीच सडकमै बिग्रिएर रोकिँदा ट्राफिक जाम हुने समस्या पनि उत्तिकै रहेको खानीखोला प्रहरी चौकीका प्रहरीहरु बताउँछन् ।

    ‘उकालोमा एउटा गाडी बिग्रिएर रोकिनासाथै लामो लाइन लागिहाल्छ,’ एक ट्राफिक प्रहरीले भने, ‘कहिले त सवारी हटाउन धेरै समय लाग्छ, खाल्डा मात्रै राम्रोसँग पुरिदिए यस्तो हुँदैन थियो ।’

    नागढुंगा प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी विकासको काम गर्दा केही समस्या थपिनुलाई नौलो मान्दैनन् । ‘यो काठमाडौंको लाइफलाइन सडकमा समस्या पर्दा समन्वयबाट नै फुकाइन्छ,’ उनले भने, ‘सडक विस्तारका क्रममा महत्वपूर्ण काम गर्दा रातिको समयमा गाडीहरुलाई रोकेर गर्ने गरिएको छ, सडक बिग्रिँदा केही सास्ती बढेपनि भविष्यमा यसले सहज अवस्था बन्ला नि त ।’

    आयोजनाका अधिकारीहरु निर्माणको काम केही सुस्त भए पनि आगामी जेठभित्रै नागढुंगा–नौबिसे खण्डको करिब १० किलोमिटर सडक कालोपत्रे गरिसक्ने दाबी गरिरहेका छन् । यो सडकखण्डको महत्व र संवेदनशीलतालाई ध्यानमा राखेरै काम भइरहेको आयोजना प्रमुख रिजालले बताए । ‘राजधानी छिर्ने नाका हो, ५ मिनेट बन्द हुँदा नै लामो जाम लाग्छ,’ उनी भन्छन्, ‘समयमै सम्पन्न गर्न पाए यात्रु र स्थानीयलाई पनि सहज हुन्थ्यो, तर निर्माण सामग्री सहज उपलब्ध भए मात्रै यो सम्भव हुन्छ ।’

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer