रामेछाप । सरकारी सम्पत्तिको दुरुपयोग गर्दै गाउँपालिकाको गाडी सिक्ने क्रममा चलाएर दुर्घटना गराउने रामेछापको दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष आफ्नो गल्ती स्विकार्नुको सट्टा सो कार्यको आलोचना गर्नेलाई नै सार्वजनिक रूपमा धम्क्याउन लाग्नु भएको छ ।
चालक अनुमति पत्र नै नभएका गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले सिक्ने क्रममा गाउँपालिकाको गाडी चलाउँदा दुर्घटनामा परेको थियो । गाडी चलाउने सिप नै नभएको र चालक अनुमति पत्र समेत नभएको अवस्थामा गैरकानुनी रूपले चलाएर गाडीमा क्षति पुर्याएपछि क्षति भएको गाडीको मर्मत अध्यक्षले व्यक्तिगत खर्चबाट गर्नुपर्ने माग स्थानीयको थियो । तर कार्यपालिका बैठकबाट अध्यक्ष मोक्तानले क्षति पुर्याएको गाडी मर्मतको लागि ५ लाख ५६ हजार ६ सय ३ रुपैँया दिने निर्णय गराउनुभएको थियो ।
अध्यक्ष मोक्तानले क्षति पुर्याउनुभएको गाउँपालिकाको प्रदेश ३–०१, ००२ झ ५१०६ नं को गाडी सरकारी कोषबाट मर्मत गरिएको भन्दै विरोध भएपछि सो कार्य नेकपा एमालेका नेता तुलप्रसाद कँडेल र अनेरास्ववियुका केन्द्रीय सदस्य तिलक घतानीको अगुवाइमा भएको भन्दै मोक्तानले शनिबार गाउँमा नै आयोजित एउटा महिला सहकारीको साधारण सभामा धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको छ ।
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, मैले गाडी ठोक्काएको भनेर अख्तियारमा हाल्नुभएछ उहाँले, अक्सिडेन्ट भएपछि त बनाउनै पर्यो, बनाउने त तुल कमरेडसँग चन्दा मागौँ भने तुल कमरेड त्यस्तै छ, घरको अवस्था नाजुकै छ, उहाँसँग चन्दा मागेर गाडी मर्मत गर्नुभएन, गाडी मर्मत राज्य कोषबाटै गर्नु पर्यो ।’
अध्यक्षले ठोक्काएको गाडी गाउँपालिको मर्मत गर्यो भनेर सार्वजनिक गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘त्यसो गरेर तपाईँलाई के फाइदा ? फाइदा छ ? गाडी अक्सिडेन्ट गराएको खबर लेखेर तपाईँलाई के फाइदा भयो ? फाइदा हुन्छ भने गर्नुस्, तर केही पनि फाइदा छैन तपाईँलाई’, उहाँको प्रश्न थियो ।
मोक्तानले गाउँ निर्माण गर्नलाई सुन्दर विचार चाहिने पनि बताउनुभयो । षडयन्त्रकारी विचारले गाउँ निर्माण नहुने बताउँदै उहाँले आफूले दुर्घटना गराएको गाडी बिमाबाट मर्मत गराउने योजना भएको भए पनि एमालेकै नेता कार्यकर्ताको कारण त्यो असफल भएको सुनाउनुभयो ।
आफ्नो विरोध गर्ने एमालेका नेताहरू गाउँपालिकाका सदस्य पनि भएका बताउँदै उहाँले सरकारको सदस्यले सरकारको विरुद्ध लेख्ने ? भन्दै प्रश्न गर्नुभयो । ‘तपाईँलाई अलिकति पनि शरम हुँदैन, लाज हुँदैन ? तपाईँ सरकारको मान्छे, तपाईँलाई एक सिन्को पनि फाइदा छैन’, मोक्तानले भन्नुभयो ।
उहाँले एमालेका नेताहरूको विरुद्ध लेख्ने मानिसहरू आफ्नो पार्टीमा पनि भएको बताउँदै तपाईँका विरुद्ध लेख्न लगाऊँ अब भन्दै प्रश्न गर्नुभयो । मोक्तान नेकपा माओवादी केन्द्रबाट नेपाली कांग्रेससँग गठबन्धन गरी निर्वाचित हुनुभएको गाउँपालिका अध्यक्ष हो ।
आफूले दुर्घटना गराएको गाडी चालक चलाउँदा दुर्घटना भएको हो भनि प्रहरीबाट मुचुल्का बनाएर बिमाको पैसाबाट मर्मत गराउन खोजको भए पनि प्रहरीलाई समेत भनेर रोक्ने काम एमालेका नेताहरूले गरेको भन्दै उहाँले आलोचन गर्नुभयो । त्यसरी रोक्दा आफूले गराएको दुर्घटना मात्र होइन अन्य तीनवटा नियम विपरीत गाडी चलाउँदा भएका दुर्घटनाको कागज प्रहरीबाट बनाउन नसकेको भन्दै उहाँले स्थानीयको समर्थन जुटाउने प्रयास गर्नुभयो । ‘प्रहरीले रिपोर्ट नदिए पछि हामीले इन्सुरेन्सबाट मर्मत गर्न पाएनौँ, मलाई नदिएपछि अरूलाई पनि प्रहरीले दिन मिलेन, उहाँहरूको कारणले है’, मोक्तानले भन्नुभयो ।
मोक्तानले आफ्नो आलचना गर्नेको काम नै नभएको बताउँदै काम गर्न सुझाव दिनुभयो । ‘बरु काम गर्नुस्, पाँचवटा बाख्रा भए पनि चराएर हिँड्नुस्, दुईवटा गाई भए पनि पाल्ने म बरु अनुदान दिउँला’, मोक्तानले आफ्नो गोजीको रकम दिने जसरी भन्नुभयो ।





