• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गोसाइँकुण्डको यात्रा लसुन र अदुवा खादै गर्नुहोस्


  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
  • काठमाडौं । धेरै अघिदेखिको गोसाइँकुण्ड यात्रा मेरो मानसपटलमा सपना बनेर बसेको थियो। गोसाइँकुण्डबारे धेरै सुनेको र युट्युबमा ट्राभल भिडिओहरू हेरेरै चित्त बुझाउँदै आएको मलाई कहिले त्यहाँ पुगौंझैं भइरहेको थियो।

    Advertisement

    घुम्ने रहर कसलाई हुँदैन होला र? अझ मलाई त सानैदेखि नयाँ नयाँ ठाउँ घुम्ने सौख थियो।

    बिस्तारै उमेर बढ्दै जाँदा पढाइ र रोजगारीमा लाग्नु र आर्थिक अवस्थालाई मध्यनजर गर्नुपर्ने बाध्यताले खासै धेरै घुम्ने मौका पाइरहेको थिइनँ।

    २०७६ चैत पश्चातको कोरोना काल र लकडाउनले त घुम्न गइरहने प्राय: सबैलाई निकै समय घरमै थुनिदिएको थियो। खासमा त्यही कोभिड- १९ र लकडाउनले गर्दाको उकुसमुकुसले मलाई एउटा गन्तव्यमा घुम्न जानलाई अझ धेरै प्रेरित गर्‍यो।

    काठमाडौंको भिडभाड र कोलाहल र त्यही उकुसमुकुसलाई फुकाउनको लागि गत कात्तिक महिनामा गोसाइँकुण्ड जाने चाँजो मिलाएको थिएँ।

    घुम्न जाने भन्ने बित्तिकै साथीहरूको समूह बनाउने र रमाइलो गर्ने भन्ने बुझिन्छ तर साथीहरू कोही कता, कोही कता। आफूलाई घुम्न मन छ तर साथीहरूको कसैको समय मिल्दैन त कसैलाई आर्थिक समस्या कारण बनाउँछन्।

    उनीहरूको पनि आफ्नै बाध्यता होला, सबैको मन कहाँ एउटै हुन्छ र ? सोलो (एक्लै) जाऊँ, अहिलेसम्म एक्लै ट्रेकिङ गएको अनुभव पनि छैन। जाने सोच हुँदाहुँदै पनि कहिले के नमिल्ने कहिले के!

    खासमा मेरो घुम्ने रहर सधैं यस्तै यस्तै कुराहरूले सधैं छायामा पर्दै आइरहेको थियो। तर आर्थिक समस्या या अफिसमा लामो बिदा नमिल्ने भने ता पनि खासमा मन भयो भने यस्ता समस्या त देखाउने बहाना हुन जस्तो लाग्छ कहिलेकाहीँ। किनकि विश्वकै धनाढ्य व्यक्तिहरू पनि वर्षमा १, २ पल्ट घुमफिर गर्न समय मिलाइरहेका हुन्छन् के उनीहरू चाहिँ व्यस्त थिएनन् र? खासमा मन हुनुपर्छ भन्ने पनि लाग्छ।

    तर यसपालि मेरो अठोटले पछि हट्ने छनक देखिएन र म सोलो नै भए पनि जाने निर्णय गरेँ। तै पनि मेरो साथी आई.पी. (इन्द्र प्रसाद) आचार्यलाई अन्तिम पटक जाने योजना बारेमा सुनाएँ। उसले नभ्याउने भए पनि ४ दिनको लागि समय मिलाउने बतायो। त्यसपछि हाम्रो गोसाइँकुण्डको यात्रामा २ जना हुने भयौँ।

    काठमाडौंदेखि ११७ किलोमिटर टाढाको धुन्चेसम्मको बाइकको यात्रा र त्यसपछि ट्रेकिङ गर्ने भन्ने हाम्रो योजना अनुरूप हामी काठमाडौंबाट बाइकमा २ जना साथीहरू आ–आफ्नो झोला तुम्बा प्याक गरी लाग्यौं रसुवातिर। घुम्न जाने अघिल्लो दिन भोलिको यात्रा बारेमा सोच्नु र यात्राको कल्पना गर्दै गर्दा निन्द्रा नलाग्नु या धेरै समय लगाउनु मेरो पुरानै बानी हो। त्यसमाथि हामी हिमाली क्षेत्रको यात्रामा जाँदै थियो। चिसो मौसममा हिमालको सामिप्यमा पुग्नु र त्यहाँको वातावरणमा रमाउनु र विशेष गरी धार्मिक आस्थाको केन्द्रको सँगै पर्यटकीय गन्तव्यमा हाम्रो यात्रा हुने कुराले मन प्रफुल्लित भैरहेको थियो। रसुवा जानको लागि विशेष गरी ३ वटा रूट प्रचलित छ।

    एउटा थानकोट गल्छी हुँदै नुवाकोटको बट्टार, विदुर पुग्ने अर्को माछापोखरी, ककनी हुँदै र अर्को टोखा छहरे हुँदै। ३ वटा मध्ये हामीले टोखा छहरेको रूटलाई रोज्यौं र काठमाडौंबाट १० बजे खाना खाइवरी गन्तव्य प्रस्थान गर्‍यौं। बाटोमा देखिने दृश्यहरू मन नै आनन्दित तुल्याउने खालका थिए। काठमाडौंको कोलाहलमा बस्दै आएको हामीलाई ग्रामीण परिवेश, बाटोसँगै बग्ने कलकल नदी र हरियाली वातावरणले यात्रालाई अझै रमाइलो बनाइरहेको थियो। दिउँसो करिब १ बजेतिर हामी विदुर बजार पुग्यौं र त्यहाँबाट रसुवा जाने बाटोतर्फ अगाडि बढ्यौं।

    नुवाकोटको विदुर, वेत्रावती, कालिकास्थान हुँदै रसुवाको धुन्चे बजार पुग्दा बाटोको अवस्था भने खराब नै थियो। दृश्य र बाटोमा जाँदाको सिनहरू भने हेर्न लायक थियो। ठूला ठूला पहाडको घुमाउरो बाटो साँघुरो तर गाडी भने ठूला ठूला, नेपाल–चाइनाको केरूङ नाकाको मुख्य हाइवे भएता पनि बाटोको अवस्थाले अन्तर्राष्ट्रिय सीमा पुग्ने बाटो हो भन्दा पत्यार नलाग्ने खालको थियो। सायद सरकारको ध्यान नपुगेको हो या नपुगेको जस्तो गरेको हो थाहा भएन। हामी त घुम्न गएको मान्छे, सोच्ने निकायले सोच्नुपर्ने हो। खैर, हामी धुन्चे पुग्न १ किलोमिटर अगाडि नै आर्मीको चेक पोष्ट रहेछ त्यहाँ हामीले इन्ट्री गर्ने र टिकट पनि लिनुपर्ने रहेछ।

    ब्याग चेकजाँच र सोधपुछपछि हामी धुन्चेतिर लाग्यौं। करिब बेलुका ५ बजे हामी धुन्चे बजार पुग्यौं। बजार सानो भए पनि व्यस्त रहेछ, होटलहरू प्रशस्तै। अब हामी बासस्थानको खोजी गर्न तिर लाग्यौं। गोसाइँकुण्ड क्षेत्रमा जाने मुख्य र अन्तिम बजार भएकोले होटल नपाइएला कि भन्ने चिन्ता पनि छँदै नै थियो हामीलाई। तर होटल पाइयो खासै समस्या भएन र त्यस दिन भरिको बाइकमा हिँडेको थकाइलाई आराम दिने उद्देश्यले निन्द्रा देवीको शरणमा पुगियो।

    भोलिपल्ट बिहानै ६ बजेदेखि हाम्रो ट्रेकिङ यात्रा सुरू भयो। यात्रा सुरू गर्दा १५०० मिटरको समुन्द्री सतहको उचाइबाट आजको हाम्रो गन्तव्य लौरीबिना जुन ३९०० मिटरको उचाइमा पुग्नु थियो। खासमा हिमाली भेगमा जाँदाको समस्या भनेको लेक लाग्नु नै हो। हामीलाई लेक लाग्ला कि भन्ने डर मनमा भित्रभित्रै गढेको थियो। डरलाई पन्छाउँदै बिहानै नास्ता खाएर हामी उकालो चढ्न लाग्यौं। धुन्चेबाट हिँडेको ४५ मिनेटमा पुगिने पहिलो स्टेसन हो घट्टेखोला, यहाँबाट हाम्रो यात्रामा गोसाइँकुण्डसम्मै साथमा रहन्छ त्रिशूली नदी। खासमा त्रिशूली नदीको उद्गम नै गोसाइँकुण्ड हो। घट्टेखोलामा मिनी गोसाइँकुण्ड पनि रहेछ, माथि जान नसक्नेहरूले यही दर्शन गरे पनि गोसाइँकुण्डमा दर्शन गरे सरह मानिँदो रहेछ। घट्टेखोलाबाट उकालोमा सिँढीहरू बनाइएको रहेछ जसले गर्दा उकालो हिँड्न सजिलै भइरहेको थियो।

    दोस्रो स्टेसनको रूपमा खेन्दी रहेको थियो जहाँ खाने बस्ने राम्रो प्रबन्ध रहेको छ। प्राय: १ देखि २ घण्टाको अन्तरमा विभिन्न स्टेसनहरू रहेको थियो जहाँ खाना बस्नको लागि राम्रो व्यवस्था रहेको पाइयो। जति उकालो लाग्दै गयो त्यति खाना र बस्नेको मेनुमा रकम पनि उकालो लाग्दै जाने रहेछ। प्राय: काठमाडौं बस्ने मान्छेलाई त्यहाँको मेनु हेर्दा अत्यास लाग्न सक्छ तर वास्तवमा त्यहाँको भौगोलिक जटिलतालाई मध्यनगर गर्ने हो भने सामान्य नै मान्नुपर्ने हुन्छ। खेन्दीबाट देउराली पुग्न हामीलाई १ घण्टा जतिको समय लाग्यो। बिहान घाम नलाग्दा त ठीकै हो तर घाम चर्किन थालेपछि त उकालो हिँडाइ र चर्को घामले गर्दा लगाएको लुगा पसिनाले भिजेर निथ्रुक्कै। फेरि पनि लेक लाग्ने डरले टोपी र ज्याकेट भने फुकालिएन। लेक लाग्ने डरले घरबाटै लसुन र अदुवा बोकेर गएका थियौं। जति माथि चढ्दै गयो टाउको भारी हुने र लेक लागेको हो कि भन्ने आभाष हुने, वनको बाघले खाओस् नखाओस् मनको बाघले खाइहाल्ने हाम्रो बानी।

    हिँडाइको थकाइ जति भएता पनि प्राकृतिक वातावरण र हरियाली, हिमाली दृष्यहरूले भने थकान महसुस गराएन। लाङटाङ हिमाल त हातैले भट्टाइएला झैं गर्दै लुकामारी खेल्दै हामी डिम्सा पुगेर खाना खायौं। थकाइ र तात्तातो खानापश्चात त हिँड्नभन्दा पनि निन्द्रा पो लाग्न थाल्यो। ट्रेकिङ जाँदा पानीको मात्रा कमी हुन्छ र लेक लाग्न सक्छ भन्ने सुनेकोले गर्दा हामीले पानी प्रशस्तै पिउँदै थियौं।

    डिम्साबाट करिब १ बजेतिर यात्रा चन्दनबारीको थियो। बादलले पनि हामीसँग बाटोमा लुकामारी खेल्दै थियो घरी बादलले हामीलाई एकैछिनमा केही नदेखिने गरी छोप्थ्यो त कहिले खुला भएर हिमाल हत्केलामा नै आउला जस्तै देखिने दृश्य देखिन्थ्यो। यसै क्रममा रमाउँदै हामी चन्दनबारी पुग्यौं। खासमा चन्दनबारी यो रूटमा हिँड्दा १ रात बिताउनु पर्ने स्थान रहेछ। त्यहाँ आर्मीको क्याम्पसहित चीजको फ्याक्ट्री र फराकिलो फाँट रहेछ। होटलहरू पनि प्रशस्तै। खासमा १ रात यही स्थानमा बसौंझैं भएको थियो तर के गर्ने समय छोटो लिएर आएका थियौं पुग्नु थियो लौरीबिना। त्यसैले हामीले त्यहाँबाट अगाडि बढ्यौं। चन्दनबारीबाट भने बाटो अघिको भन्दा तेर्सो तेर्सो रहेछ। उकालो हिँडेर थाकेको हामीलाई तेर्सो बाटोले केही राहत दिएको थियो। खासमा यो ट्रेकिङ रूट व्यवस्थित बनाइएको रहेछ, हिँड्ने उकालो बाटोमा सिँढीहरू बनाइएको, ठाउँ-ठाउँमा फोहोर फाल्नलाई डस्टबिनहरू बनाइएकोले रूट सफा रहेको थियो।

    दुवैतिर सल्लाका रूखहरू, मन्द मन्द चलेको हावा र चराचुरूङ्गीको आवाज, यो कुनै थेरापी लिए भन्दा कम थिएन। हामी काठमाडौंमा बिहान उठेदेखिकै गाडी र होहल्लाको आवाज सुन्ने बानी परेको मान्छेहरूलाई यति शान्त वातावरण र हावाले छुट्टै किसिमको ऊर्जा भरिरहेको महसुस भैरहेको थियो।

    केही समयको हिँडाइ पछि हामी चोलाङपाटी पुग्यौं। २ वटा होटल र बाहिर बस्ने ठाउँ प्रशस्त भएकोले हामीले त्यहाँ केही समय आराम गर्‍यौं। चियाको चुस्की सँगै त्यहाँबाट देखिने हिमाली दृश्य नियाल्दै गर्दा समय बितेको पत्तै भएन। ५ बज्नै लागिसकेछ ओहो हाम्रो यात्रा त लौरीबिनाको पो हो त। हामीसँगै अरू स्वदेशी पर्यटकहरू पनि थिए। अँध्यारो झमक्कै पर्न लागिसकेको थियो, सबैजनाको आजको गन्तव्य भनेको लौरीबिना नै भएकोले गफ गर्दै उकालो कटाउन लाग्यौं। ५ पाइला चाल्दै स्वास फुलिहाल्ने हुनाले डाँडाको टुप्पामा लौरीबिना देखिए पनि आउने छाँटकाँट देखाउँदैन थियो। फर्किनेलाई कति समय लाग्ला भन्दै सोध्दै गयो जवाफ अब १५ मिनेट, करिब १ घण्टादेखि त्यही जवाफ सुन्दै गर्दा अझै पनि आउँदैन लौरीबिना।

    अँध्यारोमा समेत हिमाल धपक्क बलेर हामीलाई धेरै छैन हरेश नखाऊ भन्दै ऊर्जा थपिरहेको थियो। करिब ७ बजेतिर हामी लौरीबिनामा पुग्यौं। खासमा कोभिडपश्चात् होटल धेरै भए पनि पालो गरेर खोल्ने नियम भएकोले गर्दा प्राय: सबै पर्यटकहरू एउटै होटलमा बस्न बाध्य थियौं। होटल खचाखच, बस्ने व्यवस्था नपाइएला भन्ने तनाव।

    खाना खान मन पटक्कै थिएन, बस बिछ्यौना पाए लडिहाल्ने थिए भन्ने मात्र थियो। टाउको दुख्ने, बान्ता आउला जस्तो हुने लगभग सबैको समस्या एउटै थियो। धन्न होटलवाला दाइले एउटा कोठा चाहिँ हाम्रो लागि छुट्याइदिए छन् र थोरै खाना खाएर हामी बिछ्यौनातिर लाग्यौं। पर्यटक धेरै भएर होला होहल्ला धेरै, थकाइले चुर हुँदा समेत निन्द्रा आएन। जसोतसो निन्द्रा देवीको शरणमा परियो।

    बिहान ३ बजेदेखि उठ्नेहरूको हल्लाले निन्द्रा खलबलाइदियो। अब हामी पनि उठ्यौं र हिँड्नको लागि तयारी गर्‍यौं। चिया र केही खाजा खाएर करिब ५ बजे लौरीबिनालाई पछाडि पारेर हामी उकालो लाग्यौं बुद्ध मन्दिर तर्फ। हेर्दा त ऊ त्यही त हो नि बुद्ध मन्दिर तर प्राय: लेक लाग्ने ठाउँ त्यही उकालो रहेछ। २ पाला हिँड्यो फेरी स्वाँ स्वाँ। थकाइ मार्दै, हिँड्दै अगाडि बढियो। सँगै आएकाहरू त लेक लागेर तल झर्ने भन्दा मनमा चिसो पस्न थाल्यो। यत्रो रहर गरेर बल्ल यहाँसम्म आएको गोसाइँकुण्ड नपुग्दै लेक लागेर फर्किनु पर्‍यो भने त असाध्यै खल्लो पो हुन्छ। तर घरबाट ल्याएको लसुन र अदुवा मुखमा हाल्दै हामी अगाडि बढ्दै गयौं।

    यो उकालोमा श्रीमती ज्युले झोलामा हालिदिएको स्नीकर चकलेटले पनि निकै ऊर्जा दियो। बल्ल बुद्धमन्दिर पुगियो, उत्तरतिर नेपालको सिमानाकै रूपमा अटल टक्क अडिएको हिमालहरू हेर्दै गर्दा थकाइ पनि गायब हुने खालको थियो।

    लाङटाङ हिमाल त वल्लो पल्लो डाँडाको रूपमा थियो। यति नजिक हिमाल त मैले यसभन्दा पहिले देखेको थिइनँ। पहाडको भू बनावट अत्यन्तै फरक खालको, एउटा ढुंगामा अर्को ढुंगा खप्टिएर बनेको ठूला ठूला पहाडहरू। कसरी बनेको होलान् त्यस्ता पहाडहरू, मनमा अनेक किसिमका प्रश्नहरू आइरहे। महादेवले समुन्द्र मन्थन गर्दा कालकुट विष पिएर छट्पटाउँदा भगवान शिवको त्रिशूलले बनेको तालको रूपमा रहेको मान्यता मलाई त्यस बाटो हिँड्दै गर्दा अझ बढी विश्वास लाग्यो।

    बुद्ध मन्दिरबाट अगाडि डरलाग्दो भिर भएकोले होला नेपाली सेनाको सहयोगमा बाटोमा फलामको बार लगाइएको थियो जसले गर्दा पैदलयात्रीलाई एकदमै सहज बनाइदिएको थियो। बुद्ध मन्दिरबाट त नजिकै होला भन्ठान्दै जति अगाडि बढ्यो उति टाढा गोसाइँकुण्ड। थकाइ लागेको बेलामा त थोरै बाटो पनि लामो लाग्दो रहेछ, तर गोसाइँकुण्ड पुग्ने अठोट गरेको हामीले घिस्रँदै भए पनि पुगिछाड्ने हो भन्दै अगाडि बढ्यौं। गोसाइँकुण्ड क्षेत्रमा करिब १०८ वटा कुण्डहरू छन् जसमध्ये गोसाइँकुण्ड विशेष र ठूलो रहेको बुझियो। गोसाइँकुण्ड पुग्नुअघि नै तल एउटा ताल देखियो जुन सरस्वती कुण्ड रहेछ, त्यसपश्चात भैरव कुण्ड र बल्ल हामीले दर्शन गर्न आएको गोसाइँकुण्ड।

    आँखै अगाडि यत्रो समयदेखि आउन चाहेको र सपना देखेको धार्मिक कुण्ड देखेपछि मनमा आनन्द छायो। शब्दमै वर्णन गर्न नसकिने रहेछ गोसाइँकण्ड। एक पटक त खुसीले चिच्याउन मन थियो तर मनमनै चिच्याए खुसीले। २ दिनको हिँडाइ र थकाइ सबै त्यही बिर्सिएँ। विशाल गोसाइँकुण्डलाई देखेर मन नलोभ्याउने को नै होला र! करिब २ घण्टाको बसाइँमा हामीले ताललाई मनमा नै साँच्ने प्रयास गर्‍यौँ, अघाउन्जेल फोटो खिच्यौं, मन्दिरमा पूजा गर्‍यौं, नुहाईधुवाई गर्‍यौं र मनभरि गोसाइँकुण्डको याद लिएर त्यहाँबाट फर्कियौं।

    जाँदा २ दिन लागेको हामीलाई सोही दिन गोसाइँकुण्डबाट धुन्चेसम्मै एकै दिनमा आइपुगियो। तर जति उकालो हिँड्न गाह्रो र ओह्रोलो हिँड्न सजिलो हुन्छ भन्ने मेरो पुरानो मान्यता त्यही दिनबाट परिवर्तन भयो। जति उकालो हिँड्दा गाह्रो भएको थियो त्योभन्दा गाह्रो त ओरालो झर्न हुने रहेछ। खुट्टा त चलाउनै नसकिने भयो बेलुका धुन्चे पुग्दा, सायद हामी छिटो छिटो तल झरेका थियौं। भोलिपल्ट बिहानै हामी धुन्चेबाट काठमाडौंतर्फ लाग्यौं।

    समग्रमा हाम्रो ४ दिनको गोसाइँकुण्ड यात्रा अत्यन्तै अविस्मरणीय रह्यो। खासमा यात्रा गर्ने भनेर साँचेर राख्नेभन्दा पनि आँट गरेर झोला कसेर हिँड्ने हो भने योजना पनि सफल हुने र मनको चाहना पनि पूरा हुने रहेछ। मैले यो गोसाइँकुण्ड यात्राबाट सिकेको पाठ पनि यही हो। र अर्को कुरा उमेर छँदै घुमी हालौं के थाहा पछि सकिएला नसकिएला ।(सेतो पाटी)

    शनिबार, माघ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer