काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको बताएको छ ।
शुक्रबार सीआईबीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामो समयको अनुसन्धानको आधारमा चौधरीलगायत बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको बताएको हो । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले २०५२ साउन ११ गते च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएको प्रमाण रहेको जानकारी दिए । उनले च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएपछि तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडलाई ०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको देखिएको बताए ।
बाँसबारी छालाजुत्ता कारखाना निजीकरणको क्रममा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सरकारी शेयर किन्ने प्रस्तावका आधारमा महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत शेयरको लिलामी निकाल्ने भए पनि लिलामी शेयरलाई ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले खरिद गरेको देखिएको उनले बताए । चौधरीले ०५४ पुस ४ मा च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता भएपछि तत्कालीन सरकारको अधिनमा रहेको जग्गा व्यक्तिको नाममा गएको उनले बताए । त्यसपछि च्याम्पियन फुटवेयर प्रालिको नाम पनि परिवर्तन गरेर सिजी चाँदबाग रेसिडेन्सी प्रा.लि. राखिएको उनले बताए ।
बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिए पनि त्यस्तो नभएको पाइएको एसएसपी दिनेश आचार्यको भनाइ छ ।
बाँसबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरले प्रतिरोपनी २ लाख ५० हजारको दरले मूल्यांकनको आधारमा बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको उनले बताए । उनले च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाख रुपैयाँमात्र देखिएको दाबी गरे ।
उनले २५ प्रतिशत शेयरको मूल्य साढे १२ लाख रूपैयाँमात्र पर्ने भए पनि बाँसबारीले २६ लाख मूल्य बराबरको १० रोपनी जग्गा दिएको बताए । उनका अनुसार कम्पनीको चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्याइएपछि बाँकी अरु पक्षबाट ७४ लाख रूपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाखमात्र लगानी भएको पाएको छ ।




