नेपालमा ज्वालामुखीको चिन्ह भएको, सावरको लागि प्रसिद्ध, तथा बिभिन्न थरहरुको प्रादुर्भाव भएको जिल्ला दैलेख कर्णाली प्रदेशमा पर्दछ । यस जिल्लालाई नेपाल सरकारको बर्गीकरण अनुसार पहाडी जिल्लामा राखिएको छ यस जिल्लाको क्षेत्रफल १,५०५ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट ५४४ मिटर देखि ४१६८ मिटर उचाइबीच अवस्थित रहेको छ । यस जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा अवस्थित दैलेख बजार (१४४८ मि.) हो । भौगोलिक रुपमा यो जिल्ला २८ º ३५’ देखि २९ º ८’ उत्तरी अक्षांस र ८२º २५’ देखि ८३º ५३’ पूर्वी देशान्तरका बीच अवस्थित रहेको छ । यस जिल्लामा सात वटा गाउँपालिका र चार नगरपालिका गरी जम्मा एघार वटा स्थानीय तह रहेका छन् । यस जिल्लाको पूर्वमा जाजरकोट, पश्चिममा अछाम जिल्ला उत्तरमा कालिकोट जिल्ला, तथा दक्षिणमा सुर्खेत जिल्लासंग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या २५५,३१३ जना रहेको छ भ ने जनघनत्व १६८ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९१.८२% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -०.३५ % रहेको छ भने कूल जनसंख्याको ३.२ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७५.५ % रहेको छ । यस जिल्लाका प्रमुख जातजातिहरुमा क्षेत्री, विश्वकर्मा, ठकुरी, ब्राह्मण, मगर, परियार, मिजार, सन्यासी, गुरुङ, माझी आदि रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख नेपाली, मगर खाम, मगर ढुट, खस, गुरुङ, खम्ची, दैलेखी आदि रहेका छन् ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा जिल्लाको मध्यपश्चिम हुदै बग्ने छामगाड खोला र पूर्वी भेग हुदै बग्ने लोहोरे खोलाको सङ्गमस्थल चुप्रा, खस राजा नागराजको हिमाली राज्यको शीतकालीन राजधानी दैलेख दुल्लुक्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थल मध्ये श्रीस्थान र नाभिस्थान, भुर्तीमा रहेका २२ वटा देवल, रावतकोटमा रहेको पञ्चदेवलहरू, सदरमुकाममा रहेको कोत गढी र दुल्लु क्षेत्रमा रहेका कृतिखम्बा, सातखम्म, पटङ्गेनी दरबार, जंग बहादुर राणाका पिता बाल नरसिंह कुवँरको समाधीको नामले चिनिने मासको पिठोको लिउन लगायर निर्माण गरिएको बालेश्वर मन्दिर लगायत अनेकौँ पौराणिक शिलालेखहरू, डुन्गेश्वरमा दधिचि ऋषिको आश्रम, नाके गुफा, मदान ताल, शिखरद्वारी (घोडादाउनी), प्राचिन दुल्लुकोट, दैलेख बजारको कोतगडी, प्राचिन दुल्लु दरबार, दुल्लु गढी, बाइसे राज्यकालको दुल्लु दरबार, काजी जसपाउथापाको ऐतिहासिक पौवा आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन, पदयात्रा, आदि रहेका छन् ।
यस जिल्लाको प्रमुख जलस्रोतको रुपमा रामगाड, भुतगाड, कर्णाली नदी, लोहोरे खोला, छामगाड खोला, पादुका खोला, द्वारी झरना, खरिगैरा झरना, लाँकुरी झरना, कुशापानी झरना, खुनगाड खोला, कानेगाड खोला, आदि रहेका छन् । यसका साथै यस जिल्लामा अनुपम सुन्दरताले युक्त कमल ताल, पुपाल दह, सुन दह, गुप्ता दह, सम्पे ताल, आदि तालहरु पनि रहेका छन
यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा कृषि, पशुपालन, व्यापार, पर्यटन आदि रहेको छ। भिरालो जमिनमा निकै कम मोटाई भएको चिम्त्याइलो, दोमट, बलौटे दोमट बलौटे र कंकणयुक्त माटो पाइने यस जिल्लाको कूल कृषियोग्य जमिनमा मकै, धान, गहूँ, जौ, कोदो, उवा, फापर, मास मुसुरो, सिमी, भट्मास, चना, केराउ जस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा अदुवा, बेसार, लसुन, प्याज, धनियाँ, तोरी, खुर्सानी, मह आदि रहेका छन । यस जिल्लाबाट निर्यात हुने मुख्य बस्तुहरुमा यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईतो, जटामसि, भलायो लगाएतका जडिबुटीहरु, तरकारी विऊ, आलु, घ्यु, मह, सुठो, शिलाजित, नेपाली कागज, अल्लोको प्रशोधित धागो, ऊनी, कम्बल आदि पर्दछन । दैलेख बजार, चुप्रा, नौमूले, तल्लो डुङ्गेश्वर, माथिल्लो डुङ्गेश्वर, बेस्तडा, डांडीमाडी, दुल्लु, टुनीबगर, राकम कर्णाली, लकान्द्रा, रामाघाट, धरम पोखरा, गुरांसे, खम्बगाडे, खिडकी जिउला आदि यस जिल्लाका प्रमुख बजार तथा व्यापारिक केन्द्रहरु हुन् ।
जलवायुका हिसावले यस जिल्लामा उपोष्ण मनसुनी जलवायु तथा न्यानो समशीतोष्ण जलवायु ठण्डा समशीतोष्ण जलवायु तथा लेकाली जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम सून्य डिग्री सेल्सियस बाट तलसम्म सम्म पनि झर्ने गर्दछ । यस जिल्लामा उपोष्ण सदावहार वनस्पति पतझड वनस्पति कोणधारी वनस्पति तथा लेकाली वनस्पति पाइन्छ । यस जिल्लाका मुख्य वन पैदावरहरुमा बांज, खस्रु, गुराँस, ओखर, साज, पाङ, ठिङ्गो, चिउरी, टुनी, चाँप, काफल, सल्लो, चिलाउने, कटुस चांप, ओखर पिपल टिमुर आदि पर्दछन् जिल्लामा पाइने वन्यजन्तु तथा पंक्षीहरुमा कस्तुरी, मृग, नावर, रेड पाण्डा, रातो बांदर, ढेडु, झारल, थार, बाघ, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो, डांफे, मुनाल, च्याुकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि पर्दछन्।
दैलेख जिल्लाका बिभिन्न स्थानबाट प्रादुर्भाव भएका थरहरु
- दुल्लूबाट दुलाल
- बासीबाट बस्याल
- बडबाट बराल(बडाल)
- लम्जीबाट लम्जेल
- नेपाबाट नेपाल
- लामीछानीबाट लामिछाने
- लयाँटीबाट लुईँटेल
- भुर्तीबाट भुर्तेल
- दवडाबाट दवाडी
- पराजुलबाट पराजुली
- दहबाट दाहाल
- कट्टीबाट कट्टेल
- रिजुबाट रिजाल
- हुमेगाउँबाट हुमागाई
- लम्सुबाट लम्साल
जिल्ला परिचय अन्तरगत यो साठीऔँ शृंखला हो।
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली




