काठमाडौं । पर्यटन क्षेत्रका चार संस्थाले नेपाल पर्यटन बोर्डको सदस्यमा पर्यटन बुझेको योग्य, दक्ष र व्यावसायिक व्यक्ति ल्याउन माग गरेका छन् । बोर्डमा तीनजना सदस्यको कार्यकाल माघ २२ गते सकिँदै छ । नयाँ सदस्य चयनका लागि पर्यटन सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले तीनजना सदस्य नियुक्तिका लागि प्रक्रिया अघि बढाइसकेको छ ।
आइतबार बोर्ड सदस्य नियुक्तिको विषय लिएर होटेल एसोसिएसन अफ नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पत्र बुझाएका हुन् ।
पत्रमा विगतका केही नियुक्तिहरू व्यावसायिक र पेसामुखी भन्दा पनि राजनीतिक एवं व्यक्तिगत खालका भएको गुनासो गरिएको छ । त्यस्ता खालका नियुक्तिले बोर्ड स्थापनाको मर्म र सञ्चालनको कार्यदिशा अनुरूप नहुने ती संस्थाको ठहर छ ।
“बोर्डको स्थापनाको मर्म र सञ्चालनको कार्यदिशा अनुरूप विगतका केही नियुक्तिहरू व्यावसायिक र पेसामुखी भन्दा पनि राजनीतिक एवं व्यक्तिगत खालका भएको परिवेशमा अब पनि सोही किसिमका नियुक्तिहरूले निजी क्षेत्रको भावना सम्बोधन नहुने र निजी क्षेत्र झनै उदासीन हुन सक्ने अवस्था सिर्जना हुन सक्छ,” मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
समस्त पर्यटन क्षेत्रलाई व्यावसायिक, ऊर्जाशील, चलायमान र उत्पादनशील बनाउन सक्ने व्यक्तिलाई बोर्ड सदस्यमा ल्याउनुपर्ने उनीहरूको माग छ । उनीहरूले बोर्डमा पर्यटनसम्बद्ध संस्थाहरूको प्रतिनिधित्व हुनुपर्ने पनि माग गरेका छन् ।
अब नियुक्ति हुने सदस्यहरूले बोर्डको प्रमखु कार्यकारी अधिकृत (सीईओ) चयनमा विशेष भूमिका हुने भएकाले सदस्यमा योग्य व्यक्ति नियुक्ति गर्नपर्ने उनीहरूको माग छ ।




