काठमाडौँ । नेपाली सेनामा अब विशेष क्षमताका विद्यार्थीहरुले पनि शिक्षा र जीवनोपयोगी सीप आर्जन गर्न पाउने भएका छन् । त्यसैको तयारी स्वरुप नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततिहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले ‘वरदान सैनिक विशेष दिवा विद्यालय’ निर्माण गरिएको सेनाले जनाएको छ ।
उक्त विद्यालयको बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्माले उद्घाटन गरे ।
सैनिक श्रीमती संघको पहलतामा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित उक्त विद्यालयको २०७९ मंसिर १४ मा प्रधानसेनापति तथा सैनिक श्रीमती संघकी अध्यक्षले शिलान्यास गरेका थिए । सेनाका अनुसार सैनिक श्रीमती संघको संरक्षकत्वमा संचालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिनेछ ।
प्रधान सेनापतिले परोपकारका क्षेत्रमा क्रियाशील सैनिक श्रीमती संघको पहलतामा निर्मित यस विद्यालय बहालवाला र अवकाश प्राप्ते सैनिक व्यक्तिहरूका विशेष क्षमता भएका सन्ततीहरूको शिक्षा र जीवनोपयोगी क्षमता विकाशमा महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।
उनले श्रीमती संघका सेवामूलक गतिविधिहरूको सराहना गर्दै यस विद्यालय संचालनका लागि सहायता जुटाउन आयोजित वरदान सुर सन्ध्यामा सहयोग पुर्याउने कलाकारहरू लगायत सम्बध सबैलाई धन्यवाद दिए ।




