काठमाडौँ । कुनै समय कर्मचारी संयन्त्रमा निक्कै शक्तिशाली मानिन्थे, रुद्रसिंह तामाङ । उच्चतहको राजनितिक नेतृत्वसंग राम्रै हिमचिम भएका भाग्यमानी कर्मचारीमा पर्दछन उनी । सधै राम्रा र आकर्षक मानिएका कार्यालयमा बसेका उनी पछिल्लो समय अध्यागमन विभागमा महानिर्देशक थिए ।
हो उनै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङविरुद्ध आयोगले विशेषसमक्ष ११ करोड ९ लाख १७ हजार चार सय ५८ रुपैयाँ ८८ पैसाको बिगो मागदावी लिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको आयोगका प्रवक्ता एवम् सहसचिव नरहरि रेग्मीले बताए ।




