मासिक राशिफल – चैत २०८०
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई चैत महिना केही खर्चिलो र फलदायी रहनेछ । नयाँ कामतर्फ लगानी गर्ने अवसर प्राप्त हुनेछन् । तर काम बनाइदिन्छु भन्नेहरूले फसाउन सक्छन् । अनावश्यक किनमेलमा अधिक खर्च हुनेछ । सरसापट, उधारो व्यापार र असुरक्षित लगानीतर्फ गएको रकम उठाउन मुस्किल पर्नेछ । विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न केही समय लाग्ने देखिन्छ । सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्ने सम्भावाना छ, सजग रहनुहोला । व्यावहरमा चुनौती देखिए पनि पुरुषार्थी काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा स्थानान्तरणको सम्भावना छ । कृषि, नोकरी, व्यापार तथा सेयरको माध्यमबाट मनग्य लाभ उठाउन सकिनेछ । उठेको रकम सञ्चय गर्ने प्रयास गर्नुहोला ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई चैत महिना विशेष फलदायी रहनेछ । ठूलो योजनाका साथ नयाँ काम थालनी हुनेछ । सामाजिक अभियानको नेतृत्व गर्ने समय छ । राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन हुनेछन् र कामबाट प्रशंसा, सम्मान अनि धन प्राप्त हुनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । सेयर, व्यापार, कृषि, भूमि र पशुपालनबाट यथेष्ट लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थान प्राप्त हुने समय छ । विशिष्ट व्यक्तिले साथ दिने हुँदा काम सजिलै सम्पादन हुनेछन् । भाग्यले असल प्रेमपात्र जुराउन सक्छ । घर–गृहस्थीमा मन रमाउनेछ । परिवारजनमा आत्मीय भाव बढ्नेछ । विदेश ताक्नेहरूलाई पनि प्रक्रिया थाल्ने समय छ । रोकिएका योजना अघि बढ्नेछन् ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई चैत महिनाभरि विभिन्न अवसर प्राप्त भइरहनेछन् । अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ । मिहिनेतले सफलताको उचाइ प्राप्त गर्न सकिनेछ । सेयर तथा व्यापारमा मनग्य फाइदा हुनेछ । भूमि तथा चल–अचल सम्पत्ति जोड्ने समय छ । मिहिनेतीहरूलाई नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने बलियो सम्भावना छ । राष्ट्रिय स्तरको मान–सम्मान प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तिहरू नजिकिनेछन् । सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ । परिवारमा सुख–समृद्धि बढ्नेछ । सामाजिक तथा राजनीतिक वृत्तमा पनि प्रभाव बढ्नेछ । पहिलेको स्थितिमा सुधार आउनाले भविष्यप्रति आशा जाग्नेछ । कर्मयोगले उचाइको बाटो समाउनेछ । दिगो काम तथा व्यवसाय प्रारम्भ हुने समय छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई चैत महिनामा केही उतारचढाव आउनेछन् । योजना ठूलो बने पनि उपलब्धि हातपार्न समय लाग्नेछ । अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ । केही व्यावहारिक चुनौती सामना गर्नुपर्ने समय रहेकाले सावधानीसाथ काममा जुट्नुहोला । आशा देखाउनेहरूले झुक्याउन सक्छन् । वैधानिक अड्चनले पनि काममा बाधा पुर्याउन सक्छ । प्रतिकूल समयमा पनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ । आवश्यकता र चुनौती कर्मयोगका प्रेरक बन्नेछन् । समय लागे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ । पहिले गुमेको उपलब्धि हातपार्न सफल भइनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई चैत महिना अलि संघर्षमय रहनेछ । स्वास्थ्य र सामाजिक प्रभाव कमजोर बन्नाले तेज, आँट, पराक्रममा मलीनता आउनेछ । बिनाकारण आफन्त टाढिएलान् । कमजोर समयमै शत्रुहरूले दुःख दिन सक्छन् । परिवारमा द्वन्द्व बढ्ने, काम रोकिने र आम्दानी बाहिरिनाले अर्थ अभाव देखापर्ने सम्भावना छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन् । व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला । तत्काल लाभ नभए पनि सेयर तथा लगानीको मूल्य भने बढ्न सक्छ । अनुसन्धानमूलक अध्ययनमा जुट्नेहरूलाई पनि केही अवसर प्राप्त हुनेछन् । प्रतिकूल समयमा पनि सावधानीले उपलब्धि जोगाउन सकिनेछ । जोखिमपूर्ण काममा अघि नसर्नुहोला । अवसरका लागि दौडधुप भने गर्नुपर्ने देखिन्छ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई चैत महिनामा केही सावधानी अपनाउनुपर्ने देखिन्छ । घर–परिवारमा मतभेद बढ्नाले मन अशान्त रहनेछ । परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ । घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिने परिस्थिति रहनेछ । अवसर आए पनि काममा समय दिन नसक्दा पछि परिनेछ । पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ । आयस्रोत कमजोर बन्नाले निर्वाहमूलक काम गर्न बाध्य भइनेछ । व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला । नयाँ क्षेत्रमा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहोला । दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन् ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई चैत महिना विशेष उपलब्धिमूलक रहनेछ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ । भौतिक साधन जुट्नाले उत्साह जाग्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ । रोकिएका काम बन्नुका साथै अर्थ उपार्जनका नयाँ स्रोत प्राप्त हुनेछन् । सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुनेछ । स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ । पहिलेका प्रतिस्पर्धीहरू समेत सहयोगी बन्नेछन् । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ । विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ । प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ । सेयर लगानी, किनबेच तथा साझेदारीमा लाभ हुनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई चैत महिनामा केही समस्या आइरहनेछन् । परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ । पेटको गडबडी तथा मौसमी समस्याले स्वास्थ्य कमजोर रहनेछ । अध्ययन र पेसा–व्यवसायमा सक्रियतापूर्वक जुट्न नसकिएला । महत्त्वाकांक्षी काममा स्वास्थ्य र वैधानिक व्यवस्था विचार गरेर मात्र प्रयत्न गर्नुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन् । परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन् । गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ । प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ । परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ । व्यापारमा सामान्य लाभ हुनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई चैत महिनामा केही समस्यासँग जुध्नुपर्ने देखिन्छ । अरूको उक्साहटमा लाग्नाले साथीभाइ र निकटजनसँग असमझदारी बढ्नेछ । सम्भावना अध्ययन नगरी ठूलो काम आँट गर्दा दुःख पाइनेछ । सगोलको सम्पत्तिमा विवाद आउनाले परिवारमा एकताको भावना विखण्डित हुन सक्छ । भौतिक साधनमा पनि क्षति पुग्न सक्छ । आफ्ना कमजोरीप्रति दाजुभाइले गुनासो गर्नेछन् । तर लचिलो व्यवहारले समस्याको गाँठो फुकाउन सकिनेछ । कृषि तथा व्यवसायमा सम्भावनाका नयाँ क्षेत्र फेला पर्नेछन् । विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ । बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई विशेष फाइदा हुनेछ । सामान्य काममा अलमलिनु भन्दा दिगो अवसरका लागि प्रयत्न गर्नुहोला । आफन्तको सहयोगले व्यवहारमा सुधार ल्याउन सकिनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिलाई केही चुनौतीसँग जुध्नुपरे पनि चैत महिना उत्साहवर्धक रहनेछ । महत्त्वाकांक्षाले लक्ष्यको उचाइमा पुर्याउन सक्छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । नयाँ कार्य थालनी हुनुका साथै उद्योग–धन्दा र व्यापारमा प्रशस्त लाभ हुनेछ । नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । घरमा सुख–समृद्धि बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ । दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ । प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन् । कीर्तिमानी काम शुभारम्भ हुनेछ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । वादविवादले भने समस्या निम्त्याउनेछ, सजग रहनुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई चैत महिनामा केही चुनौती आउनेछन् र आत्मसम्मानका लागि संघर्ष हुनेछ । बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् । अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ । श्रम गर्नेहरूलाई सम्भावनाका बाटा फेला पर्नेछन् । अध्ययन र लेखनतर्फ प्रगति हुनेछ । पेसा–व्यवसाय र उद्योगधन्दामा पनि फाइदा उठाउन सकिनेछ । ठूलो उपलब्धि नभए पनि नयाँ काम थालनी गर्ने समय छ । स्रोत–साधन र मूल्यवान् उपकरण संग्रह गर्न सकिनेछ । गरेका कामबाट बिस्तारै लाभ मिल्नेछ । मिहिनेत गर्दा अवसर जुट्नुका साथै नयाँ योजना थाल्न सकिनेछ । लेनदेनसम्बन्धी पुरानो हिसाबले वादविवाद निम्त्याउन सक्छ । स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउन सक्छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई चैत महिनामा अवसर र चुनौती बराबर आउनेछन् । खराब चरित्रका व्यक्तिहरूसँगको संगतले घरमा अशान्ति, आफन्तमा मतभेद, आलोचना र अर्थहानि जस्ता समस्या देखा पर्नेछन् । पेट, आँखा र दाँत सम्बन्धी समस्याले स्वास्थ्य कमजोर रहनेछ । विवादास्पद निर्णयको पक्षमा लाग्दा काम रोकिन सक्छ । प्रेम तथा दाम्पत्यमा असमझदारी बढ्नेछ । पछिल्ला दिनमा अनावश्यक किनमेल र भ्रमणमा खर्च बढ्नेछ भने आयस्रोत कमजोर हुनेछ । जटिल काम एक्लै समेट्नुपर्ने हुँदा समस्याबाट बाहिरिन समय लाग्नेछ । अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिनु बुद्धिमानी हुनेछ । परिस्थिति अनुकूल नभएसम्म नयाँ काम नथाल्नुहोला । सावधानीले समस्या टर्नेछन् र फाइदा हुनेछ ।





