काठमाडौं । भिटामिन ‘बी’ कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। यसको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महशुस हुने र डिप्रेसन पनि हुन सक्छ।
भिटामिन ‘बी’ कम्प्लेक्सले शरीरमा मेटाबलिजम बढाउँछ। मेटाबलिजमले पोषक तत्त्वलाई शक्तिमा बदल्छ। र, डीएनए बनाउने काम पनि गर्छ। राता रक्तकोष निर्माण पनि भिटामिन ‘बी’ कम्प्लेक्सले गर्छ। अनि, शरीरका विभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ।
भिटामिन ‘बी’को कमीले के हुन्छ ?
हातखुट्टा झमझम गर्ने, पोल्ने, स्मरण शक्ति ह्रास, कमजोरी महशुस, थकान र डिप्रेसन हुन्छ।
भिटामिन ‘बी’ केमा पाइन्छ ?
माछामासु, दूधजन्य पदार्थ (दूध, दही, पनिर, चिज आदि), जमिनभित्र फल्ने फल (आलु, गाँजर, मुला, सलगम, तरुल आदि)।
भिटामिन ‘बी’ विभिन्न रूपमा पाइन्छ- बी-१, बी-२, बी-३ र बी-१६। यी चार तत्त्वको सम्मिलित रूप नै भिटामिन ‘बी’ कम्प्लेक्स हो।
भिटामिन ‘बी’को पहिलो सदस्य ‘थाइमिन’ हो। त्यसैले यसलाई बी-१ भनिन्छ। यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ। रोग प्रतिरोधी क्षमता बढाउँछ। बी-१ को कमी हुँदा भोक नलाग्ने, कमजोरी महशुस हुन्छ। यसको कमीले मानसिक समस्या पनि उत्पन्न हुन सक्छ। यो चामल, गहुँ, जौ, सोयाबिन, केराउ, बदाम आदिमा पाइन्छ।
भिटामिन बी-२ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ। यो मुख र आँखाका लागि आवश्यक हुन्छ। यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउनेजस्ता समस्या देखिन्छन्। यो दूध, दही, विभिन्न अनाज, हरियो सागसब्जीमा पाइन्छ।
भिटामिन बी-६ लाई ‘पाइरिडाक्सिन’ भनिन्छ। यो छालाको लागि आवश्यक हुन्छ। यो अनाज, दूध, कलेजो, मासु आदिमा पाइन्छ।
भिटामिन बी-१२ को रासायनिक नाम ‘सायनोकाबालामिन’ हो। यो छाला, हड्डी, कोशिका र मांसपेशीका लागि आवश्यक हुन्छ। यो मासु, माछा, अण्डा आदिमा पाइन्छ। भिटामिन ‘बी’ कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटिन, प्यान्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ।




