काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुस्पकमल दाहाल आज गृह जिल्ला जाने भएका छन् । यो संयोग नै भन्नुपर्छ । उहांहरु फरक-फरक कार्यक्रमका लागी जान लाग्नुभएको बताईएको छ ।
राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करिब एक करोडको लागतमा तीन तले भवन निर्माण गरिएको सो भवनको चैत्र २३ गते बिहान ११ बजे राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लगेका हुन्।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखामा, बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्।
गत असार १४ गते गोरखा नगरपालिका – ७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो । त्यही क्र्वाज क्रिष्टललाई जिल्ला प्रहरी कार्यालयबाट बाजागाजा सहित बजार परिक्रम गराउँदै दरबार लैजाने कार्यक्रम रहेको छ ।
गोरखा नगरपालिकाले बजेट विनियोजन गरे सँगै अहिले क्वार्ज क्रिष्टल राख्नको लागि मजबुत खालको सिसाको बक्स बनाइएको छ । त्यस क्वार्ज क्रिष्टल राख्नको लागि काठबाट बनेको ऐतिहासिक, पुरातात्त्विक झल्को दिने गरी बुट्टा कुदिएको टेबल निर्माण गरिएको छ । टेबुल मुनिको विद्युतीय प्रकाश क्वार्ज क्रिष्टलाई आकर्षण बनाइएको छ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको गद्दी र धार्मिक र पुरातात्त्विक महत्वका क्वार्ज क्रिष्टल एकै ठाउँमा राख्दा यसले पर्यटन प्रबद्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।




