काठमाडौं । हामी सबैलाई थाहा भएकै कुरा हो, दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ-सिरिङ हुन्छ। डेन्टिनमा रहने नशाहरू संवेदनशील हुन्छन्।
कारण
– गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ। अनि दाँत सिरिङ-सिरिङ हुने समस्या आउँछ।
– एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ।
– कसै-कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ। यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ।
– मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ-सिरिङको समस्या आउँछ।
– यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ।
– दाँत कीराले खायो भने पनि सिरिङ-सिरिङ गर्ने समस्या आउँछ।
– पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भने पनि सिरिङ-सिरिङ हुन्छ।
– एकपटक भरेको दाँतमा फेरि कीराले खान शुरु गर्यो भने पनि यो समस्या आउन सक्छ।
– कहिलेकाहीं सिमेन्ट भरेपछि र ब्लिचिङ गरेपछि पनि दाँत सिरिङ-सिरिङ हुनसक्छ। तर, त्यो केही समयपछि आफैं सञ्चो हुन्छ।
– कहिलेकाहीं एसिडयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाँत सिरिङ-सिरिङ हुने समस्या आउन सक्छ।
के गर्ने ?
– सही तरिकाले ब्रस गर्नुपर्छ। ब्रस कडा छ भने नरम ब्रसको प्रयोग गर्नुपर्छ।
– एसिड भएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरेमा प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने।
– ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने।
– सुत्दाखेरि दाँत किट्ने बानी छ भने तुरुन्तै दन्त चिकित्सकको परामर्श लिइहाल्ने र माउथ गार्ड लगाउने।
– दिनको दुईपटक फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने बानी बसाउने। फ्लोराइड भएको माउथवास, फ्लस प्रयोग गर्ने र दाँत, गिजा स्वस्थ राख्ने।
– यदि खैनी, चुरोट सेवन गर्ने बानी छ भने तुरुन्तै त्याग्ने।
यस्तो छ उपचार विधि
– यदि दाँत सिरिङ-सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार उपचार फरक पर्छ।
– प्रयोग गर्ने मञ्जनहरू थुप्रै नाममा बजारमा उपलब्ध छन्, जुन दुई साताजति प्रयोग गरे सिरिङ-सिरिङ हुने समस्या विस्तारै कम भएर जान्छ।
– यदि गिजा धेरै तल सरी दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ।
– दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथ गार्ड लगाउनु पर्छ।
– दाँत कीराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ।
– यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ।
– सकेसम्म पेटको समस्याको उपचार छिटो गराइहाल्नुपर्छ।
– नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ।
– यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा रुट क्यानल उपचार गराउनुपर्ने हुन सक्छ।




