काठमाडौं । अहिले देशभर सहकारीपीडितको रुवाबासी छ । मकै पोलेर बेच्नेदेखि दूध र दाउरा बेच्नेहरुले पनि आफ्नो कमाइको महत्त्वपूर्ण अंश जम्मा गरेको रकम उनीहरूले फिर्ता पाइरहेका छैनन् । परिवारका सदस्य उपचार नपाएर मर्ने अवस्थामा पुग्दासमेत आफ्नो बचत फिर्ता पाउन नसक्ने अवस्था आएको छ । बुवाआमा गमाएका सन्तानले काजक्रिया गर्नका लागि आफ्नो पैसा पाउन गरिरहेको हारगुहार र सहकारी सञ्चालकको संवेदनाहीन व्यवहार हेरी नसक्नु छ । आफ्नो पसिनाको कमाइ त हुँदै हो, आफ्ना सारा इच्छाआकांक्षा मारेर बालबच्चालाई दूध किन्न पनि ढुक्कले नसकेर उबारेर भोलि परी आउँदा प्रयोग गर्न पाइएला भनेर जम्मा गरेको पैसा हो त्यो ।
ती सहकारीका सदस्यबाट उठाएको रकममा केही टाठाबाठाहरुले मोज गरेका छन् । सहरमा घरघडेरी जोडेका छन् । बिलासी सवारी साधन चढेका छन् । महँगा होटल तथा रेस्टुराँको बिल तिरेका छन् ।
सहकारीको रकम आफ्नै पैतृक सम्पत्तिजस्तो जस्तो गरेर निजी भोगबिलासमा उडाएका छन् । कसैले ऋण भनेर लिएका छन् त कसैले सापट भनेर अरबौं रकम कब्जा गरेका छन् । देशको ठूलो पुँजी यस्तो ठग समूहले अनधिकृत कब्जा जमाएपछि देशको वित्तीय क्षेत्र तहसनहस भएको छ । समग्र आर्थिक अवस्था तलबितलमा परेको छ ।
आज यस्तै सहकारी ठगीमा नाम जोडिएकाहरु सरकारमा बसेर झण्ड हल्लाउँदै हिँडेका छन् । उनीहरु नयाँ र युवा शक्ति भनेर जनताको आँखामा छारो हालेर सत्ताको जस्केलामा पसेका छन् । अनि जनतालाई नै उनीहरु हेपेर बोलिरहेका छन् । आफू सहकारी ठग भएकामा शान र गौरवको विषय बनेको छ उनीहरुका लागि ।
हुँदाहुँदा श्रममन्त्री डोलप्रसाद अर्यालले शनिबार राजधानीमा एक कार्यक्रम गरी आफ्नै २३ लाख रुपैयाँ फसेको छ र उठाइदिनेलाई अलिकति दिन्थेँ भनेर सार्वजनिक वक्तव्य दिए । उनको यस अभिव्यक्तिले धेरै कुरा बोल्छ । उनको चिन्तन, सोच र व्यवहार कस्तो छ भन्ने यसैबाट पुष्टि हुन्छ ।
एक त सहकारी पीडितका कोणबाट उनको अभिव्यक्ति संवेदनाहीन छ । देशभरिका पीडितका आँसुमाथि उनले भद्दा मजाक गरेका छन् । सहकारीमा पैसा फसाउनु सामान्य भएकाले कोही कसैले गुनासो वा टीकाटिप्पणी गर्न नहुने उनको भनाइको आशय देखिन्छ । के उनीजस्तै अरु पीडित पनि मन्त्री बन्ने अवसर पाएका छन् ? के उनको २३ लाख डुबेको छ भने अरूले बोल्न नहुने ? उनले २३ लाख हालेर कति कुम्ल्याए ? त्यसको हिसाबकिताबको खोजी हुनु नपर्ने ?
अर्को, उठाइदिनेलाई अलिकति दिन्थेँ भन्ने उनको अभिव्यक्ति आपराधिक प्रकृतिको छ । उनको यो भनाइ राज्य प्रणालीलाई चुनौती दिने खालको छ । यहाँ प्रहरी, प्रशासन, न्याय, कानुन केही नभएजस्तो गरी उनले गैरराज्य पक्षबाट पैसा उठाउने सोच पालेको देखिन्छ । गैरराज्य पक्ष भन्नाले बाहुबलका आधारमा रकम उठाइदिएर कमिसन खाने वर्ग हो, जोसँग उको परिचय र हिमचिम छ भन्ने देखिन्छ । राज्ययन्त्रको अवमूल्यन गरी गैरराज्य पक्षबाट रकम असुल गराउने यस खालको आपराधिक सोचले उनलाई मन्त्री पदमा एक सेकेन्ड पनि बस्ने छूट दिँदैन । तत्काल गृहमन्त्री रवि लामिछानेले हत्कडी लगाएर जेल पठाउन आदेश दिनुपर्ने हो । के रविसँग त्यस्तो आँट र तत्परता छ, जसले राज्यप्रति भरोसा बढाउन सकोस् ?
डीपी अर्यालको भनाइबाट के बुझिन्छ भने उनले सहकारीको पैसाले गाडी किनेका रहेछन्। जग्गा जोडेका रहेछन् । चुनावमा खर्च गरेका रहेछन् । कोर टिमलाई गाडी उपहार दिएका त तस्बिरहरु नै सञ्जालभरि छाएका देखिन्छन् । यस्तै सहकारीकै पैसाले उनले अर्काका विरुद्ध लाग्न र विष वमन गर्न मिडिया तथा साइबर सेना परिचालन गरेका रहेछन् ।
हुन त अर्याल पनि रवि लामिछानेको कोर टिमभित्रै पर्छन् भनिन्छ । रविले पार्टी खोल्दा सुरुमै उनको नाम समूहमा थियो । समानुपातिक सांसद बन्दा तिनै अर्याल पहिलो प्राथमिकतामा परे । दुवै पटकका सरकार गठनमा मन्त्रीको पहिलो प्राथमिकता सूचीमा अर्याल नै परे । संयोग हो वा सुनियोजित योजनाको उपज, यी दुवै नेताको नाम सहकारी ठगीमा जोडिएको छ । तसर्थ सहकारीको पैसा पचाउन पाउनु उनीहरूले विशेषाधिकारका रूपमा लिएको देखिन्छ । त्यसमा नागरिकले प्रश्न गर्नै नपाउनेजस्तो गरी उनीहरू प्रस्तुत भइरहेका छन् । योभन्दा पनि डरलाग्दो पक्ष, मन्त्रीको सिटमै बसेर आफ्नो फसेको पैसा उठाइदिनेलाई कमिसन दिने अफर हो, जसले राज्यको थिति, विधि र संयन्त्रको तेजोवध गरेको छ । (बर्णन मिडीया)




