तनहु । व्यास-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा हिजो बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको थियो । आँटेको काम र मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ पूजाअर्चना र भाकल बुझाउन भक्तजनको बाक्लो भीड लागेको हो ।
व्यास-३ निवासी त्रिभुवन श्रेष्ठले मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ मन्दिरमा पूजा गर्न परिवार नै आएको बताउनुभयो । त्यस्तै चितवनबाट आउनुभएका मुक्तिनाथ पौडेलले बिहान ८ बजेदेखि लाइनमा बस्नुपरेको बताउनुभयो । भक्तजनको लामो लाइन रहेकाले पालो पाउनै मुस्किल भएको गुनासो उहाँले पोख्नुभयो । तनहुँको व्यास–११ रानीगाउँबाट आउनुभएका प्रकाश कुँवरले बिहान ९ बजेदेखि लाइनमा बसेर दिउँसो करिब २ बजे पूजाअर्चना गर्न पाएको बताउनुभयो ।
छाब्दी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरी कार्यालयबाट पठाइएको १०, छाब्दी चौकीका सात र ट्राफिक प्रहरी तीनसहित २० प्रहरी सुरक्षामा खटिएको बताउनुभयो ।
“नेपाल प्रहरी र स्थानीय छाब्दी युवा क्लबका करिब १५ जना युवाको संयुक्त प्रयासमा भक्तजनका लागि लाइनको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “अपाङ्गता, वृद्ववृद्वा, बालबालिका र अशक्तलाई सहज रूपमा मन्दिर प्रवेश गरी पूजाअर्चना गर्ने व्यवस्था मिलाइएको छ ।”
मन्दिरका मूल पुजारी चोकबहादुर आलेले मन्दिरमा भक्तजनको बिहानैदेखि भीड रहेकाले पुजारीलाई भ्याइनभ्याइ हुने गरेको बताउनुभयो । उहाँका अनुसार मूल मन्दिरमा तीन, बलि दिने स्थानमा दुई र टीका लगाएर आशीर्वाद दिन एक गरी छजना पुजारी खटाइएको छ । मन्दिरमा बोका, कुखुरा, भेडा, हाँस, परेवालगायतका पशुपक्षीलाई बलि दिने प्रचलन रहिआएको पाइन्छ ।
नयाँ वर्ष र शनिबार बिदाका दिन परेकाले आजमात्रै २० हजारभन्दा बढी आन्तरिक भक्तजनले दर्शन गरेको छाब्दी बाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले दाबी गर्नुभयो । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ पछिल्ला समय भक्तजनको चहलपहल बढ्दै गएको उहाँले जानकारी दिनुभयो । धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न आकर्षण छाब्दी देवीको मूर्ति र मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो । यसअघि उक्त मन्दिरमा वार्षिक करिब छ लाख भक्तजनले पूजाअर्चना गरेको तथ्याङ्क रहेको छाब्दी बाराही विकास कोषले जनाएको छ ।




