• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • २. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कोही केटाकेटी किन एकदमै कम बोल्छन् ?


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • विलियम जे क्रकरको एउटा मन छुने कविता छ — ए पिपुल प्लेस।

    Advertisement

    यसलाई मैले बालबालिकाका पक्षबाट स्कुलको सन्दर्भमा बुझ्ने गरेको छु —

    यदि मेरा आँसु यहाँ कसैले बुझ्दैन भने, म कहाँ गएर रोऊँ?

    यदि मेरो आत्माले यहाँ पंख लिन सक्दैनन् भने, मैले कसरी पखेटा फिँजाऊँ?

    यदि मेरा प्रश्नका उत्तर यहाँ पाउँदिनँ भने, मैले कहाँ गएर सोधूँ?

    यदि मेरा भावना यहाँ बुझिँदैनन् भने, म कहाँ गएर बोलूँ?

    यदि म जस्तो छु त्यस्तै स्वीकार गरिँदैन भने, म जस्तो छु त्यस्तो कहाँ बनूँ?

    यदि यो ठाउँमा कोसिस गर्दै सिक्दै बढ्न सक्दिनँ भने, त्यो स्थान कहाँ खोजूँ?

    हरेक पल्ट जब यी पंक्तिहरू पढ्छु र एक बालकका आँखामा हेर्छु, तिनै प्रश्नहरू मौनतासँग सोधिएको पाउँछु।

    यस्तो लाग्छ — यी प्रश्नहरूका उत्तर विद्यालय, आफ्नो निकट समाज र अभिभावकसँग पनि उनीहरूले खोजिरहेका हुन्छन्।

    ती प्रश्नहरूलाई बालबालिकाले विभिन्न किसिमका अभिव्यक्तिसँग सोध्छन्। उनीहरूको विकास हामीमा आश्रित भएका हुँदा यी प्रश्नहरू स्वाभाविक छन् र यिनको उत्तर सही ढंगले दिनु हाम्रो कर्तव्य हुन्छ।

    तर केही बालबालिका उदासीन देखिन्छन्। आफ्ना अभिव्यक्ति कम प्रदर्शन गर्छन्। वयस्कहरूसँग दोहोरो संवाद गर्न चाहँदैनन् तर आफ्ना निकट सहपाठी वा विश्वासले जितेका कमैसँग सहज अन्तरक्रिया गर्छन्।

    धेरै वर्षअघि, म एक जना आफन्तकहाँ पुगेको थिएँ।

    म शिक्षक भएकाले कक्षा तीनमा पढ्ने उहाँकी छोरीका बारेमा सुझाव लिन प्रगति विवरण ल्याएर देखाउनुभयो। लगभग सबै विषयमा फेल गराइएकी ती बालिकाको रिपोर्ट मेरा अगाडि राख्नुभयो। अनि ती सानी नानीलाई मेरो सामुन्ने बोलाउनुभयो।

    किंमकर्तव्यविमुढ ती बालिका टोलाउँँदै एक पल्ट मलाई हेरिन् अनि टाउको घोप्ट्याइन्।

    ‘उ, सरलाई सोध, कसरी पढ्ने भनेर,’ उनका बाबाले भन्नुभयो।

    आमाले थप्नुभयो, ‘दुई कक्षामा पनि फेल भएकी थिई, स्कुलमा भनेर पास गराएको हो। यो बोल्दै बोल्दिन। मरिकाटे बोल्दिन। के भयो भन् भन्छु तर बोल्दिन। हामीसँग मात्र होइन यो कसैसँग पनि बोल्दिन। कतै लग्यो अरूसँग पनि बोल्दिन।’

    म स्तब्ध थिएँ। कुरा सुरू गर्ने ठाउँ पाएको थिइनँ।

    बालिकाका आमाबुबा मेरो कुरा सुन्न बस्नुभएको थिएन। उहाँहरू आफ्ना छोरीलाई बोल्ने बनाइदिन आग्रह गर्दै हुनुहुन्थ्यो। त्यही क्रममा छोरीमाथि खनिँदै आफू मात्रै बोलिरहनुभएको थियो।

    त्यो कुनै तथ्य वा सिद्धान्त सुझाउने स्थान र समय थिएन।

    ‘सर, के गर्ने होला भन्दिनु पर्‍यो,’ आमाबुबाको यो अन्तिम वाक्यपछि मेरो पालो आयो।

    मैले ती बालिकालाई सोधेँ, ‘तिमीलाई रक, पेपर, सिजर खेल्न आउँछ?’

    बीचमै आमाले बोल्नुभयो, ‘खेल्न त जे पनि आउँछ, बोल्न मात्रै हो नआउने!’

    बालिका अकमक्क हुँदै पुलुक्क मलाई हेरिन् र ‘आँउछ’ भनेर टाउको मात्र हल्लाइन्। उनलाई लिएर म बाहिरतिर आएँ।

    रक, पेपर, सिजरको खेल सुरू भयो। बिना प्रतिस्पर्धाको खेल, जित-हारको मान्यता छैन, आफ्नै स्वेच्छाले आफ्नो हात उठाउन पाइने, बिना दबाब स्वतन्त्र भएर आफूलाई प्रस्तुत गर्दा उनी एकपल्ट उन्मुक्त भएर हाँसिन्। त्यही समयमा मैले खेल खेल्दै गफ गर्ने वातावरण बनाएँ।

    बालिकाले स्कुलमा के भयो, के मन पर्ने, के मन नपर्ने र आफ्ना केही कुराहरू छोटाछोटा वाक्यमा सुनाउन थालिन्। दकस प्रस्ट हुने उनको बोलीमा मृदुलता थियो र स्वभावमा शालीनता थियो। हामीले पढाइका कुरा गरेनौं, उनको अभिरूचिमा भलाकुसारी केन्द्रित थियो। छोटो समयमा थोरथोरै गफिने साथी बन्यौं।

    कुनै पनि बालबालिका जडभरत हुँदैनन्, अन्तरमुखी हुन सक्छन्। उनीहरूले आफूलाई प्रस्तुत गर्ने अनेक तरिकामध्ये अन्तरमुखी हुनु पनि आफ्नो प्रवृत्ति प्रस्तुतीकरणको एक शैली हो।

    रेजियो इमिलियाका प्रवर्तक लोरिस मालागुत्जी भन्छन्, ‘बालबालिकाका सयौं भाषा हुन्छन्। हरेकले आ-आफ्नै तरिकाले अभिव्यक्त गर्छन्, हरेकको आफ्नै विशिष्टता हुन्छ। त्यो भाषा हामीले बुझ्नुपर्छ र उनीहरूलाई त्यसअनुरूप मार्गदर्शन गर्नुपर्छ।’

    यसैले रेजियो इमिलिया स्कुलहरूमा बालबालिकाका अभिव्यक्ति, रूचि र मिजासका आधारमा पाठ्यक्रम निर्माण गरिन्छ।

    एक आपसमा खुलेर बोल्ने धेरै केटाकेटी अभिभावक, शिक्षक, सामाजिक भेलामा वा अन्य वयस्कका अघि खुल्दैनन्। यस्तो अवस्थालाई मनोवैज्ञानिकहरू ‘सेलेक्टिभ म्युटिजम’ भन्छन्।

    सेलेक्टिभ म्युटिजम एक मानसिक असामान्यता हो। बौद्धिक क्षमतामा कमीले वा अन्य कुनै विकलांगपनले यो हुने होइन। बरू सामान्य स्वभावमा विकास भएको विकार मात्र हो। त्यसैले डराइहाल्न पर्ने अवस्था यसमा हुँदैन।

    केही बालबालिका यौवनावस्थामा प्रवेश गर्दा यो समस्याबाट मुक्त हुन सक्छन्। केहीमा भने जीवनभर रहन सक्छ, सामाजिक परिप्रेक्ष्यमा संकुचित हुने र चाहिनेभन्दा बढी विनित हुने स्वभावका रूपमा परिणत हुन सक्छ।

    विशेषतः हाम्रो सामाजिक पदानुक्रमको मान्यता भएको परिवेशमा बालबालिकालाई तल्लो स्थानमा राखिन्छ। उनीहरूको वयैक्तिक अस्तित्वलाई प्राथमिकतामा पारिँदैन र त्यसैअनुसार व्यवहार गरिन्छ।

    वयस्कका अगाडि केटाकेटी ज्ञानी र आज्ञाकारी हुनुलाई असल गुण मानिन्छ। तर यी शब्दका गलत परिभाषा र प्रयोगले हाम्रा बालबालिका शिथिल भएका छन्।

    आज्ञाकारी स्वभावले केटाकेटीलाई कुनै कुराको पहल गर्न आदेश कुर्ने बनाउँछ, अरूलाई रिझाउने बानी बसाल्छ। त्यस्तै ज्ञानी बन्ने भन्दा वयस्कका गलत कुरा पनि स्वीकार गर्ने थिती सिर्जना हुन सक्छ। आज्ञाकारी र ज्ञानीको सम्मिश्रणले उनीहरूको व्यक्तित्व दुर्बल बनाउँछ।

    ज्ञानीलाई शिष्टता र आज्ञाकारीलाई उत्तरदायी मान्ने यी शब्दहरू अब परिवर्तन गर्नु पर्छ।

    सेलेक्टिभ म्युटिजम भएका ९० प्रतिशत बालबालिकामा सामाजिक त्रास भएको अनुसन्धानहरूले देखाएका छन्। यसबाहेक १० प्रतिशतमा विविध कारणहरूको प्रभाव पाइएको छ।

    वयस्कहरूबाट भएका शाब्दिक घात, जस्तै ‘तिमी सानीले ठूलाको अगाडि जान्ने हुन हुँदैन’, ‘ज्ञानी भएर चुपचाप बस’ भन्ने वा शिक्षकहरूले प्रश्न सोधेका बेलामा उनीहरूको उपहास गर्दा र स्वपहिचानलाई तुच्छताको आभास दिँदा केटाकेटीमा सामाजिक त्रास बढ्छ। यस्ता व्यवहारहरू सेलेक्टिभ म्युटिजमको प्रमुख आधार भएको अध्ययनले देखाउँछन्।

    यसबाट उनीहरूले केही बोलेमा गल्ती हुने र त्यसको परिणामले खराब आचरणको संज्ञा पाउने सम्भावना देखे भने आफ्ना कुरा अभिव्यक्त गर्ने जोखिम उठाउन चाहँदैनन्। यस्तो अवस्थामा उनीहरूले समाजमा अन्तरक्रिया गर्दा अप्ठ्यारो अनुभव गर्छन्। सामाजिक भयले गर्दा चित्त नबुझ्दा पनि चुपचाप रहनुको विकल्प पाउँदैनन्।

    यसरी समाजबाट बालबालिकाप्रति बारम्बार हुने पूर्वाग्रहपूर्ण व्यवहार र यसबाट उनीहरूले पाउने ठक्करले कालान्तरमा उनीहरूमा चिन्ता विकार (एन्जाइटी डिस्अर्डर) विकास हुन्छ। र, उनीहरू वयस्कका सामु बोल्दैनन्, खुल्दैनन्।

    यसको प्रत्यक्ष असर उनीहरूको विद्यालय शिक्षा, आत्मविश्वास, सामाजिक विकास र भावनात्मक सम्बन्धमा देखिन्छ। उनीहरूलाई बोलीचाली गर्न चुनौती हुन्छ। सामाजिक रूपमा बहिस्कृत अनुभव गर्छन्। शिक्षकसँग अन्तरक्रिया गर्न मुस्किल हुन्छ र आत्मसम्मानको कमी हुन्छ। यी सबैको प्रभावले संज्ञानात्मक, सामाजिक र भावनात्मक विकासमा कमी आउने अध्ययनहरूले देखाएका छन्।

    यसबाहेक आफ्ना अभिभावक र शिक्षकसँग नखुल्नाले बालबालिकाहरू पनि आफैलाई दोषी सावित गर्छन्। सहायता गर्ने बाटो पहिल्याउन नसक्ने अवस्था रहिरहेमा सम्बन्ध, सूचना आदानप्रदानमा र यस्तै किसिमका अनेकन समस्या खडा गर्न सक्छ।

    हरेक विद्यालयमा कमै मात्र बोल्ने वा बोल्न नचाहने केटाकेटी प्रशस्त भेटिन्छन्। यसमा विद्यालयहरूले चासो राख्नु पर्छ, अभिभावकहरूलाई यसबारे परामर्श दिनु पर्छ।

    शिक्षकहरूले यस्ता विद्यार्थीहरूलाई सानो समूहमा छलफल गर्न लगाउने, खुला मन राखेर सरल वातचित् गर्दै उनीहरूको सामाजिक त्रास कम गर्ने, उनीहरूको आशयलाई सकारात्मक वृत्तिसहित सम्बोधन गर्ने र संवाद सबलीकरण गर्दा बालबालिका सजिलै खुल्छन्।

    उनीहरूको आत्मसम्मान र व्यक्तिगत पहिचान विकास गर्न वैचारिक खुलापन राखेर उनीहरूका तर्क र कुरा सुन्नु पर्छ। दोहोरो संवाद गर्नु पर्छ। यसले संवादलाई सामर्थ्य दिन्छ।

    सेलेक्टिभ म्युटिजम भएका केटाकेटीलाई एकैचोटिमा बोल्ने बनाउने चेस्टा गर्नु हुँदैन। उनीहरूले आफ्नो मौनतामा गरेको सांकेतिक अर्थ बुझेर, स्वीकृत गरेर न्यानोपन र धैर्यका साथ अन्तरक्रिया गर्नु पर्छ। यसो गरेमा बिस्तारै उनीहरूले सामाजिक त्रासबाट उन्मुक्ति पाउँछन्।

    त्यस्तै उनीहरूले बोलेका बेला सरल र इमानदार भएर ती विषयमा गफगाफ गर्नु पर्छ। यस्तो भएमाा उनीहरूले आफू स्वीकार गरिएको महसुस गर्छन्। दुईतर्फी कुरा हुन थाल्छ। यसले चुपचाप रहने केटाकेटीलाई बोल्ने बानी विकासमा हौसला दिन्छ।

    मुख्यतया बालबालिकाका प्राथमिक वर्षहरूमा देखिएका यस्ता लक्षणबाट हामी चनाखो हुनु पर्छ। उनीहरूलाई उचित व्यवहार गर्नु पर्छ। यस्तो भएमा केटाकेटीलाई अभिव्यक्ति कौशलतातिर सजिलै निर्देश गर्न सकिन्छ।

    मैले भेटेका ती आफन्तलाई उल्लिखित सबै तथ्यहरू सुनाएँ र यसैलाई आधार मानेर हामीले छलफल गर्‍यौं।

    उहाँहरू त्यसै अनुरूप व्यवहार कार्यान्वयन गर्न सहमत हुनुभयो र धैर्य साथ व्यवहारमा ल्याउनुभयो।

    अहिले ती बालिका कक्षा दसमा पढ्दैछिन्। उनीसँग मेरो कहिलेकाहीँ फोनमा पनि कुरा हुन्छ।

    अहिले उनी सबैसँग दकस नमानी शिष्ट भएर बोल्छिन्।

    मसँग चाहिँ अरूसँग भन्दा धेरै कुरा हुन्छ, अनेक विषयमा भलाकुसारी हुन्छ।

    उनी धक नमानी मलाई प्रश्नहरू सोध्छिन् र आफ्ना सानातिना व्यक्तिगत कुरा पनि आफ्नै साथीलाई जस्तै सुनाउँछिन्।

    म उनका कुरा दंग परेर सुन्छु।(सेतोपाटी)

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer