बेइजिङ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदा/भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ । मेजियु शहर र दाबु काउन्टीबीचको एस-१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारीसाधन फसेको थिए ।
Advertisement
उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपत्कालीन सेवा लिइरहेका छन् । अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ । अहिले करिब पाँचजना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् । रासस/एएनआई ।




