इटहरी । चीनबाट दोलखा हुँदै तस्करी भएको ३३ किलो सुन प्रकरणमा फरार भएका मिलन विक बिहीबार राति स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परे ।
बा १३ च ४८५८ नम्बरको गाडीमा राखेको कार्टुनभित्र ९८ लाख बोकेर हिंडेका बेला रूपन्देहीको सियारी गाउँपालिका–७ का २८ वर्षीय समिर सुनारसँगै उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समातेको थियो ।
कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार कार्टुन खोल्दा ९८ लाख रुपैयाँ भेटिएको थियो । उनीहरूको मोबाइल हेर्दा अर्को ५ रुपैयाँको नोट च्यातेर आधा भाग एउटालाई पठाइएको र अर्को आधा भाग आफूसँग रहेको खुलेको भट्टराई बताउँछन् ।
उनका अनुसार अवैध रकम डेलिभरीका लागि त्यो नोट प्रयोग भएको देखिन्छ । यसअघि सुन तस्करीमा संलग्न रहेर फरार भएका विकसहित पक्राउ परेकाले ५ रुपैयाँको नोटलाई डेलिभरी कोडका रूपमा प्रयोग गरेको भेटिएको थियो ।
विक र सुनार सवार गाडीबाट प्रहरीले एउटा डायरीसमेत बरामद गरेको थियो । उक्त डायरीमा समेत सुन कारोबारसँग सम्बन्धित टिपोटहरू भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
‘डायरी अध्ययन गर्दा यो समूह निरन्तर सुन तस्करीमा संलग्न रहेको देखिन्छ’ एक अधिकृत भन्छन्, ‘विकको समूहले अहिले विशेष गरी खाडी मुलकहरूबाट झिन्टीगुन्टामा आउने सुनको खरिद बिक्री गर्ने गरेको आशंका छ ।’
अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार विगत दुई वर्षदेखि विकले निरन्तर सुन तस्करी गरिरहेको खुलेको छ ।
प्रहरीका अनुसार अहिले पक्राउ परेकामध्ये विक दोलखा प्रहरीले मुद्दा चलाएको ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्तसमेत हुन् ।३३ किलो सुन तस्करी भएको खुले पनि ११ किलो ५३२ ग्राम मात्रै सुन त्यतिबेला बरामद भएको थियो ।




