काठमाडौं । गुल्मि जिल्लाको आकर्षक धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गा धाममा पछिल्लो समय भक्तजनहरुको भिड लाग्ने गरेको छ । जिल्ला सदरमुकाम, तम्घांसको शिर रेसुङ्गामा, विसं २०८० साल बैशाख २३ देखि ३१ गते सम्म सन्चालित रामायण महायज्ञ, रामायण कथा वाचन एवं सन्त-भक्त सम्मेलनको आयोजना पछि, दैनिक आउने धार्मीक पर्यटकको संख्यामा वृद्दि भएको रेसुङ्गा संरक्षण समितीले जनाएको छ । यस पवित्र धाम तथा तपोभुमीको दर्शन मात्रले पनि मनले चिताएको पुरा हुने जन-विश्वास श्रद्दालु-भक्तजनहरुमा रहेको पाईन्छ ।
समुद्र सतहबाट २३४७ मिटर उचाईमा अवस्थित पवित्र रेसुङ्गा धामलाई चारैतर्फ जंगलले घेरिएको छ । भौगोलिक रुपले उच्च क्षेत्र हुनाले यहांको हावापानी निक्कै शीतल प्रकृतिको छ । प्राकृतीक रुपले निक्कै सुन्दर र शान्त यस धामको काखमा जिल्ला सदरमुकाम तम्घास बजार रहेको छ । रेसुङ्गा धाममा पर्ने वन क्षेत्रमा २५८ प्रजातीका चरा, चितुवा, घोरल, मृग, खरायो आदी जनावरहरुको वासस्थानका कारण यो क्षेत्र पर्यटकीय दृष्टीकोणबाट पनि आकर्षक रहेको छ ।
विसं २०८० साल बैशाखमा भएको सात दिने रामायण महायज्ञमा, रामायण कथा वाचन एवं सन्तभक्त सम्मेलनमा ६ लाख ५० हजार बढि भक्तजनहरुको उपस्थिती रहेको थियो भने ६१ लाख भन्दा बढी चन्दा तथा भेटी संकलन भएको रेसुङ्गा संरक्षण समितीका अध्यक्ष सुरेश चन्द्र भुषालले कान्तिपथ अनलाईनलाई वताउनु हुदै, अयोध्या र गुल्मीको पुरानो सम्वन्ध थप मजबुत वनाउने उदेश्यका साथ उक्त धार्मीक अनुष्ठान आयोजना गरिएको वताउनु भयो ।
उक्त अनुष्ठानका लागी राम कथा वाचक र यज्ञकर्ता समेत छिमेकी मित्रराष्ट्र भारतबाट गुरुहरु आउनुभएको थियो भने यसैको सकारात्मक प्रभाव स्वरुप उक्त अनुष्ठान पश्चात हरेक दिन ६०० वढी भक्तजनहरुको आगमन हुने गरेको र छिमेकि मित्रराष्ट्र भारतका धार्मिक पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्दी भएको संरक्षण समितीका सह-सचिव यज्ञ प्रसाद पन्थीले जानकारी दिनुभयो ।
यहां आउने श्रद्दालु भक्तजनहरुले स्वेच्छाले जति पनि दान दिन सक्ने र उक्त दान रकमको रसिद तुरुन्तै मन्दिर प्राङ्गणमानै उपलब्ध गराईने साथै श्रद्दालुहरुले आजिवन सदस्यता लिन चाहेमा रु ५००० वा सो भन्दा वढी रकम दिई तुरुन्तै आजिवन सदस्यता प्रमाण पत्र पाईने संरक्षण समितीका सदस्य रामचन्द्र पन्थी बताउनुहुन्छ ।
२०५२ सालमा योगी नरहरीनाथद्वारा कोटीहोम संचालन पछी स्थानीय गाईहरुको संरक्षण गर्ने उदेश्यले गौशाला स्थापना गरिएको थियो भने, हाल उक्त गौशालामा स्थानीय जातका १२० भन्दा बढी गाईहरु रहेका छन । यस धाममा देश विदेशवाट आउने भक्तजनका सुविधाका लागी निशुल्क धर्मशाला पनि संचालनमा रहेको छ । २०० जना सम्म बस्न मिल्ने धर्मशालामा खान र वस्न निशुल्क रहेको संरक्षण समितीका अध्यक्ष भुषालले वताउनु भयो ।
यस क्षेत्रमा रेसुङ्गा यज्ञशाला लगायत राधाकृष्ण मन्दिर, वालसिद्देस्वर सिद्दस्थल, नागदेवता मन्दिर, विष्णु पादुका, शिवालय मठ, महापोखरी, शशिधर गुफा, ऋष्यसृग, गौशाला चौतारा, पुरातात्विक साउने शिवालय, रामसिता कुवा लगायत दर्जन बढी दर्शन गर्नलायक आकर्षक र रमणीय क्षेत्रहरु रहेका छन ।
यस पवित्र स्थलको नाम रेसुङ्गा कसरी रहन गयो भन्ने सन्दर्भमा बिभिन्न किंवदन्ती रहेका छन । सत्ययुगमा भृगु, पुलह, पुलस्त्य, कश्यप आदी ऋषिले तपस्या गरेको यस पवित्र स्थलमा पछी शृग ऋषिले तपस्या गरेको यस पवित्र स्थल ऋष्यशृग बाट अपभ्रंश हुदै रेसुङ्गा रहन गएको वताईन्छ ।
पोखरा-पाल्पा-रिडी-तम्घास वा वुटवल-पाल्पा-रिडि-तम्घास सडक मार्ग हुदै पुग्न सकिने पवित्र स्थल रेसुङ्गामा हालै मात्र संचालनमा आएको कालीगण्डकी कोरिडोर (कावासोती-रामपुर-आर्यभन्ज्यांग-रानीमहल-रिडी-तम्घास) हुदै पुग्न सकिन्छ भने हवाई मार्गबाट काठमाडौं-गुल्मी सातामा चार दिन सोमवार, बुधवार, सुक्रवार र शनीवार पुग्न सकिन्छ । करिब ५० मिनेट लाग्ने हवाई यात्राको गुल्मी-काठमाडौं भाडा रु ७०८० र काठमाडौं-गुल्मी रु ७२८० रहेको छ ।






