काठमाडौँ । हिमालय क्षेत्रको दक्षिणतिर र तराईबाट उत्तर तिर हेर्दा तराईको समथर मैदान पछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराइ आउनु अघिको अन्तिम पर्वतीय क्षेत्र लाई चुरे, चुरिया वा शिवालिक पर्वत भनिन्छ । यो खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको भूभाग नेपालको पूर्व-पश्चिम फैलिएको छ । पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरेले नेपालको कूल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ ।
नेपालभित्र चुरे क्षेत्रले पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म ३३ जिल्लाका केही न केही भूभागलाई ओगटेको छ। भूगर्भविद्रूको अध्ययन अनुसार करिब चार करोड वर्षअघि हिमालय उत्पत्तिका क्रममा ग्रेगर र थेगर थुप्रिएर चुरे क्षेत्र निर्माण भएको हो । उत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुँदै अन्तिममा चुरेबाट तराईतिर बग्छन्। त्यसैले पनि यो कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ ।
चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावर क्षेत्र को समथर भूभाग छ। यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महत्त्वपूर्ण भूमिका खेल्छ। नेपालको चुरे क्षेत्रले जम्मा जङ्गलको ७३ प्रतिशत भु-भाग ओगटेको छ।
देशको यति महत्वपुर्ण प्राकृतीक सम्पत्तीको दिन-प्रतिदिन बिनास हुदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौँ आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौँ आइपुगेको हो ।
टोलीले काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौँ आइपुगेको हो ।
चुरे तथा वनजङ्गल विनाशको कारणले तराई, मधेशमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिङ्गो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान सुरु गरिएको जनाइएको छ ।
पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन् तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरु अघि सारेका छन् । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो । उहाँले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट राजनीतिक दलको कार्यकर्ता पाल्ने मात्र काम भएको भन्दै राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई स्वतन्त्र बनाउनुपर्ने बताउनुभयो । उहाँले चुरे संरक्षणका लागि छुट्टै चुरे ऐन निर्माण गर्नुपर्ने पनि आफूहरुको माग रहेको स्पष्ट पार्नुभयो ।
संयोजक यादवले खुला चरिचरण बन्द गर्नुपर्ने पनि माग रहेको जानकारी दिनुभयो । त्यस्तै भूमिहिनको नाममा मासिएको वनजङ्गलको जग्गा वनमै फर्काउनुपर्ने र वास्तविक दलित, भूमिहिन तथा सुकुम्वासीहरुलाई भूमीको व्यवस्था गर्नुपर्ने पनि बताइएको छ ।
त्यस्तै चुरे क्षेत्रभित्रका नदीनालाबाट हुने अवैध निकासी तथा ढुङ्गा, गिटी, बालुवा र क्रसर उद्योगहरुलाई तत्काल बन्द गरी यस्ता कार्यमा संलग्नहरुलाई कारबाही गर्न पनि माग गरिएको छ ।
धर्नामा रहेकाहरुले आफूहरु तेस्रो पटक चुरे संरक्षणको माग गर्दै पदयात्रामा आएको बताउँदै अब पनि माग पूरा गर्न सरकार गम्भीर नबने संघर्षको कार्यक्रम जारी राख्ने बताएका छन् ।





